Comments Add Comment

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

१४ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

योसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् ।

३० प्रतिशत मत भार रहेको एशाेसिएटमा चन्द्र ढकालले ५२२ र  किशाेर प्रधानले ३७५ मत ल्याएका छन् । २० प्रतिशत मत भार रहेकाे वस्तुगतमा चन्द्र ढकालले ५९ किशाेर प्रधानले ३९ मत ल्याए ।  ५० प्रतिशत मत भार रहेको जिल्ला-नगरतर्फ चन्द्र ढकालले ५२ र किशाेर प्रधानले ५३ मत ल्याए ।

ढकालले वस्तुगततर्फ १२.०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४.७६  प्रतिशत, एसोसियटतर्फ  १७.४६ प्रतिशत मत ल्याएर कूल ५४.२६ प्रतिशत मत ल्याए । प्रधानले ४५.७४ प्रतिशत मात्रै मत ल्याउन सके ।

शनिबार राति नै आएको मत परिणामअनुसार महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भइसकेका छन् ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले उपाध्यक्ष र सोभन्दा मुनिका विभिन्न पदमा शनिबार मतदान भएको थियो ।

नेपालमा प्रजातन्त्र प्राप्तिपछि सुरु भएको वाणिक मण्डलदेखि २००८/०९ सालतिर खुलेको अखिल नेपाल व्यापार संघले पनि अहिलेको महासंघले जस्तै व्यापार र व्यापारीको हकहितमा काम गरेको थियो ।

वि.सं. २००९ सालमा नेपाल चेम्बर अफ कमर्स नामक आर्थिक संगठनको स्थापना भयो । त्यसैको विकास हुँदै वि. सं. २०२२ सालमा तत्कालीन तदर्थ समितिका संयोजक लोकनाथ जोशीको नेतृत्वमा महासंघको स्थापना भएको थियो ।

उनले २ वर्षसम्म महासंघको नेतृत्व गरेपछि महासंघको अध्यक्षको जिम्मेवारी जुद्धबहादुर श्रेष्ठलाई दिइएको थियो । त्यसपछि निवर्तमान अध्यक्ष भवानी राणाको समयसम्म आइपुग्दा १८ जना अध्यक्षहरुले महासंघको नेतृत्व गरिसकेका छन् । १९ औं नेतृत्वको रुपमा अबको एक कार्यकाल शेखर गोल्छाले गर्नेछन् भने अहिले वरिष्ठ उपाध्यक्ष जितेका ढकालले महासंघको २० औं अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।

यो पनि पढ्नुहोस घाँस-दाउरा गरेर हुर्किएका चन्द्र निजी क्षेत्रको नेतृत्वसम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment