 
																			१४ मंसिर, गोरखा । पालुङटार नगरपालिका-२ स्थित ऐतिहासिक थलो लिगलिग कोट घुम्न आउने पर्यटकले स्थानीय परिकारको स्वाँद लिदै स्थानीय संस्कृति हेर्न पाउने भएका छन् । पर्यटकलाइ लक्षित गरी लिगलिगकोटको खोल्ली बजारमा ‘होम स्टे’ सञ्चालन भएको छ ।
‘लिगलिग कोट घुम्न भनेर धेरै पर्यटकहरु आउनुहुन्छ तर खाने बस्ने ठाउँ छैन,’ लिगलिग कोट हामे स्टे समितिकी अध्यक्ष प्रेम कुमारी थापाले भनिन्, ‘उहाँहरुकै सुविधाका लागी होम स्टे सञ्चालनमा ल्याएका हौ ।’
होम स्टे संचालनका लागी छुट्टै सात वटा घर निर्माण गरिएको उनले बताइन् । ‘एक कोठाको सात वटा घर निर्माण गरेका छौ,’ उनले भनिन्, ‘एउटा घरमा तीन जनासम्म पाहुना अट्छन् ।’
घर निर्माणका लागि हाल अमेरिका बस्दै आएका स्थानीय डा. बालकृष्ण शर्मा मरहट्टाले प्रतिघर तीन लाख रकम उपलब्ध गराएका हुन् । आवश्यक निर्माण सामग्री पनि मरहट्टाले सहयोग गरेको समितिले जनाएको छ ।
होम स्टे सञ्चालनका लागि निर्माण गरिएको घरको निर्माण सामग्री ढुवानीमा पालुङटार नगरपालिकाले सहजीकरण गरेको हो । आवश्यक फर्निचर सँगसँगै नेपाल र सँगसँगै अमेरिकाको सहयोगमा बौद्ध हिमाल युवा क्लब पालुङटारले उपलब्ध गराएको समितिकी अध्यक्ष थापाले बताइन् ।
होम स्टेका लागी थप घरहरु निर्माण गर्ने तयारी भइरहेको उनको भनाइ छ । ‘अहिले सात घरबाट सुरु गरेका छौ, अव २० वटा घर थप्ने तयारी भइरहेको छ,’ उनले भनिन् ।
पर्यटन प्रवर्द्धन गर्ने मुख्य उदेश्य रहेको समितिकी कोषाध्यक्ष देवी ठकुरीले बताइन् । ‘लिगलिगकोट आउने पर्यटकहरु बढ्न थाले, तर खाने बस्ने ठाउँ नहुँदा एकैछिन घुमेर फर्कनुहुन्छ, उहाहरुलाइ एक रात लिगलिगकोटमा भुलाउन सक्यौ भने यो ठाउँको प्रचार प्रसार र बिकासमा पनि हुने सहयोग पुग्ने अनि आम्दानीको बाटो पनि हुन्थ्यो भन्ने अपेक्षा हो,’ उनले भनिन् ।
होम स्टे आउने पाहुनाहरुले स्थानीयस्तरमा उत्पादन गरिएको परिकारको स्वादसँगै स्थानीय संस्कृति हेर्न पाउने उनले बताइन् । होम स्टेको शनिबार एक कार्यक्रमका बिच पालुङटार नगरपालिकाका मेयर दीपक बाँबु कडेलले उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै उनले होम स्टे संचालन भएसँगै स्थानीयलाई आयआर्जनमा सघाउ पुग्ने बताए । ‘अहिले दैनिक करिब एक सयभन्दा बढी पर्यटक लिगलिगकोट घुम्न आउनुहुन्छ, तर उहाहरुलाइ यहाँ बस्ने खाने ठाउँ छैन, अव यो होम स्टेले त्यो सेवा दिन्छ र स्थानीयलाइ आर्थिक रुपमा पनि फाइदा पुग्छ भन्ने अपेक्षा गरेका छौ,’ उनले भने ।
होम स्टे सञ्चालनका लागि महिलाहरुलाई आवश्यक तालिम पनि सञ्चालन गरिने नगरपालिका उपप्रमुख पम्फा बसेलले बताइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4