Comments Add Comment

महासंघमा यस्तो बन्यो शेखर गोल्छाको ‘टिम’ (मत परिणामसहित)

१४ मंसिर, काठमाडौं । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी ३ वर्षका लागि नयाँ नेतृत्वसहित कार्यसमिति पाएको छ । महासंघको ५४ औं वाषिर्क साधारणसभा अन्तरगत भएको चुनावपछि वरिष्ठ उपाध्यक्षसहितको नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९ औं अध्यक्ष बनेका छन् । कार्यकाल पुरा भएपछि अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्षलाई सुम्पने विधानअनुसार भवानी राणाले गोल्छालाई पदभार हस्तान्तरण गरिन् । प्रमुख निर्वाचन अधिकृत उपेन्द्र पौडेलले गोल्छालाई अध्यक्षको प्रमाणपत्र हस्तान्तरण गरे ।

योसँगै आइतबारबाट भवानी राणा निवर्तमान अध्यक्ष बनेकी छिन् । गोल्छा नेतृत्वको कार्यसमितिमा उनी दोस्रो वरियतामा रहनेछिन् । हालका निवर्मान अध्यक्ष पशुपति मुरारका पूर्व अध्यक्ष बनेका छन् ।

गोल्छाले आइतबारनै पद तथा गोपनियताको सपथ समेत लिएका छन् ।

वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल

निर्वाचनले चन्द्र ढकाललाई वरिष्ठ उपाध्यक्ष चुनेको छ । उनी गोल्छापछि स्वतः अध्यक्ष हुनेछन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । ३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५२२ र  किशोर प्रधानले ३७५ मत ल्याए । २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मत भार रहेको जिल्ला-नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याए ।

ढकालले वस्तुगततर्फ १२.०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४.७६  प्रतिशत, एसोसियटतर्फ  १७.४६ प्रतिशत मत गरी कूल ५४.२६ प्रतिशत मत ल्याए । पराजित प्रधानले ४५.७४ प्रतिशत मात्रै मत ल्याउन सके ।

ढकाल र प्रधानले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए । जिल्ला-नगर र वस्तुगततर्फका पदाधिकारी र सदस्यमा बलियो नतिजा ल्याएका प्रधान एसोसियटतर्फ भने कमजोर सावित भए ।

वस्तुगतमा अञ्जनले मारे बाजी

वस्तुगततर्फको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ विजयी भए ।  उनले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई २५ मतान्तरले हराए ।


वस्तुगततर्फको उपाध्यक्षमा चन्द्र ढकाल समूहबाट उमेशलाल श्रेष्ठ र किशोर प्रधान समूहबाट अन्जन श्रेष्ठ भिडेका थिए । अन्जनले ६२ मत ल्याउँदा उमेश ३७ मतमा सीमित भए ।

वस्तुगततर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा दुबै प्यानलका ७-७ जना निर्वाचित भए । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधान र चन्द्र ढकाल प्यानलबाट समान संख्यामा वस्तुगततर्फबाट सदस्य निर्वाचित भएका हुन् ।

जिल्ला-नगर उपाध्यक्ष्मा दिनेशलाल श्रेष्ठ

जिल्ला-नगरतर्फ उद्योग वाणिज्यतर्फको उपाध्यक्ष दिनेशलाल श्रेष्ठले जिते । उनले प्रतिद्वन्द्वी गुणनिधि तिवारीलाई ११ मतान्तरले हराए ।

वस्तुगततर्फको उपाध्यक्षमा तिवारी चन्द्र ढकाल समूहबाट र श्रेष्ठ किशोर प्रधान समूहबाट भिडेका थिए । दिनेशले ५८ मत ल्याउँदा गुणनिधि ४७ मतमा सीमित भए ।

श्रेष्ठ यसअघि महासंघको वस्तुगत तर्फको उपाध्यक्ष भइसकेका व्यक्ति हुन् ।

उद्योग वाणिज्यतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा निर्वाचित हुनेमा प्रधान प्यानलको वर्चस्व रह्यो ।

एसोसिट उपाध्यक्षमा संघाई

महासंघको एसोसियटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघईले जित हात पारे । उनले प्रतिद्वन्द्वी शौरभ ज्योतिलाई २१ मतान्तरले हराए । संघईले ४५५ मत ल्याउन ज्योति ४३४ मतमा सीमित भए ।

एसोसियटतर्फको उपाध्यक्षमा संघई चन्द्र ढकाल समूहबाट र सौरभ ज्योति किशोर प्रधान समूहबाट भिडेका थिए ।

एशोसिएटतर्फका १९ केन्द्रीय सदस्यमा ढकाल समूहको पल्ला भारी रह्यो ।

अब महासंघको कार्यकारी बैठकले महासंघको विशिष्ट सदस्यसहित कोषध्यक्ष चुन्नेछ ।

कसले जिते प्रदेशतर्फ ? 

प्रदेशतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा मिश्रति परिणाम आयो । प्रदेश-२ बाट विजयकुमार शाह निर्वाचित भए । गण्डकीबाट बाबुराम गिरी र लुम्बिनीबाट जसमेर मियाँले चुनाव जिते ।

प्रदेश ६बाट लालिमान बुढाले निर्वाचन जिते भने सुदुरपश्चिमबाट पुष्पराज कुमारले बाजी मारे । वागमती प्रदेशबाट सहनलाल प्रधानले जित दर्ता गरे । प्रदेश १ बाट सदस्य पदमा राजेन्द्र राउत निर्विरोध भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment