Comments Add Comment

विश्व नेत्रहीन क्रिकेटको कोषाध्यक्षमा पवन घिमिरे नियुक्त

१५ मंसिर, काठमाडौं । नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे फेरि विश्व नेत्रहीन क्रिकेट लिमिटेडको कोषाध्यक्षमा निर्वाचित भएका छन् । भर्चुअल माध्यमबाट आइतबार भएको २२औं वार्षिक साधारण सभाबाट घिमिरे कोषाध्यक्ष पदमा नियुक्त भएका हुन् ।

उनले दषिण अफ्रिकाका मनी मोथिलाले ६-३ भोटले हराए । घिमिरे दोस्रो पटक उक्त पदमा नियुक्त भएका छन् । यसअघि सन् २०१८ मा काठमाडौंमै भएको साधारण सभाबाट कोषाध्यक्ष चुनिएका थिए ।

विश्व नेत्रहीन क्रिकेटको अध्यक्षमा पाकिस्तानका सायद सुल्तान शाह निर्विरोध निर्वाचित भएका छन् । यस्तै वेस्टइन्डिजका भवानी प्रसाद प्रथम उपाध्यक्ष, भारतका रजनिस हेनरी दोस्रो उपाध्याक्ष र अष्ट्रेलियाका रेमन मोक्स्ली महासचिवमा निर्वाचित भएका छन् ।

निर्वाचित कमिटीको कार्यकाल अबको दुई वर्ष रहनेछ ।

यस्तै साधारण सभाबाट तेस्रो नेत्रहीन विश्वकप क्रिकेट सन् २०२२ मा भारतमा आयोजना गर्ने निर्णय गरेको छ । साथै नेपाल, पाकिस्तान र भारतबीच सन् २०२१ को अन्त्यसम्म पहिलो त्रिकोणात्मक महिला नेत्रहीन क्रिकेट सिरिज आयोजना गर्ने निर्णय पनि गरेको छ । उक्त सिरिजको आयोजनास्थल तय हुन बाँकी छ ।

विश्व नेत्रहीन क्रिकेट लिमिटेड विश्व नेत्रहीन क्रिकेटको गभर्निङ बडी हो जसमा १० राष्ट्रहरु फुल मेम्बरको रुपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment