Comments Add Comment

सबै चिठीपत्र स्थायी कमिटीमा लैजाने प्रचण्ड पक्षको तयारी

ओली पक्ष भन्छ– सचिवालयमै साझा प्रस्ताव बनाऔं

१५ मंसिर, काठमाडौं । पत्रयुद्ध गरेर एकअर्कामाथि आरोप लगाइरहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु सचिवालय बैठकको पूर्वसन्ध्यामा भित्रभित्रै आ–आफ्नो गुटको रणनीति तयार पार्न व्यस्त देखिएका छन् ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले सचिवालय बैठकमा पेस भएका सबै डकुमेन्टहरु स्थायी कमिटीमा लैजाने तयारी गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्ष भने प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गराएर सचिवालयबाटै साझा प्रस्ताव बनाउने रणनीतिमा जुटेको छ ।

बैठकको माग गरिएको पाँच नेताको पत्रको जवाफमा कात्तिक २५ गते प्रधानमन्त्री ओलीले प्रचण्डलाई पत्र लेखेपछि नेकपाभित्र पत्रयुद्ध सुरु भएको हो । कात्तिक २८ मा प्रचण्डले सचिवालय बैठकमा ओलीलाई जवाफी पत्र लेख्नुका साथै १९ पृष्ठको प्रस्ताव पेस गरे । त्यसको जवाफमा शनिबारको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ पृष्ठको काउण्टर प्रस्ताव पेस गरे ।

अब यी सबै डकुमेन्टहरुलाई स्थायी कमिटीमा लैजाने प्रचण्ड– माधव नेपाल पक्षको तयारी छ । प्रचण्डसहित सचिवालयका पाँच नेता (प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ) ले बैठक माग गर्दै ओलीलाई बुझाएको पत्र, त्यस पत्रमा ओलीको जवाफी पत्र अनि फेरि प्रचण्डले लेखेको प्रतिउत्तर पत्रसमेत स्थायी कमिटी बैठकका छलफलका लागि लैजाने प्रचण्ड पक्षका नेताहरुको तयारी छ ।

तर, ओली पक्षले भने सचिवालयमा सहमति जुटाएर दुवै अध्यक्षको साझा प्रस्ताव स्थायी कमिटीमा लैजानुपर्ने तर्क गरिरहेको छ । यदि, स्थायी कमिटीमा साझा प्रस्ताव लैजान नसकिए पनि प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गर्नुपर्ने अडान ओली समूहको छ ।

प्रचण्डले पेस गरेको डकुमेन्टको जवाफ नै नदिने र बैठकमा छलफलको विषय समेत नहुने अडानबाट पछि हट्दै ओलीले मंसिर १३ को सचिवालय बैठकमा काउण्टर प्रस्ताव पेस गरेका छन् । प्रचण्डले पार्टी एकीकरण यता भएका ओलीको कमजोरी औंल्याएका थिए । ओलीले भने अझै परसम्म गएर शान्ति प्रक्रियायताकै प्रचण्डका कमजोरीसहित ३८ पृष्ठ लामो डकुमेन्ट पेस गरेका छन् ।

एकअर्कालाई लगाइएका आरोप र गरिएका तर्कहरु सचिवालयले मिलाउन नसक्ने भन्दै स्थायी कमिटीमै लैजानुपर्ने निष्कर्ष प्रचण्ड पक्षले निकालेको छ । प्रचण्ड पक्षका एक स्थायी कमिटी सदस्य सबै डकुमेन्ट स्थायी कमिटी बैठकमा प्रस्तावकै रुपमा लैजाने तयारी भएको बताउँछन् । उनका अनुसार, भोलि (मंसिर १६) को सचिवालय बैठकले सबै डकुमेन्ट छलफलका लागि स्थायी कमिटीमा लैजाने निर्णय गर्नेछ ।

मंसिर १८ मा स्थायी कमिटी बैठक बोलाइएकाले पनि साझा प्रस्ताव लैजाने सम्भावना नरहेको प्रचण्डतर्फका नेताहरु बताउँछन् । ‘सचिवालयमा नेताहरु प्रष्ट विभाजित छन्, फेरि मंसिर १८ मै स्थायी कमिटी बैठक बोलाइएको छ । त्यसैले तत्कालै सचिवालयमा साझा प्रस्ताव आउने सम्भावना छैन’, स्थायी कमिटी सदस्य हरिबोल गजुरेल भन्छन् ।

प्रस्तावकै बारेमा शनिबारको सचिवालय बैठकपछि प्रचण्डले आफ्ना पक्षका नेताहरुसँग कुराकानी गरेका छन् ।

सबै डकुमेन्ट स्थायी कमिटी बैठकको छलफल विषय बनाइने तयारी भए पनि ओलीले लगाएको आरोपबारे प्रचण्डले भोलि बस्ने सचिवालय बैठकमा कुरा उठाउने भएका छन् । ‘पार्टी एकता भन्दा अगाडि पुगेर आरोपहरु लगाइएको छ । यसले एकता प्रक्रियाको औचित्यमै प्रश्न उठेकाले पनि प्रचण्ड कमरेडले आफ्नो कुरा राख्नुहुन्छ’, स्थायी कमिटी सदस्य मातृका यादव भन्छन् ।

तर, आफू माथि आरोप लगाइएको डकुमेन्ट फिर्ता हुने वा भाषा संशोधन गरिनुपर्ने ओलीको मागको भने सुनुवाइ नगर्नेमा प्रचण्ड पक्षमा अडिग देखिन्छ । यदि, यस्तो भए पार्टी विग्रहतर्फ जाने भएकाले पनि सचिवालयमै सहमति जुटाउनुपर्ने ओली पक्षको तर्क छ । ओली निकट नेता महेश बस्नेत साझा प्रस्ताव आउने सम्भावना अझै पनि देख्छन् । ‘केपी ओली, प्रचण्ड र माधव कमरेडहरुसँग हामीले कुराकानी गरिरहेका छौं । सहमतिको डकुमेन्ट ल्याउने प्रयास भइरहेको छ’, उनी भन्छन् ।

यो पनि पढ्नुहोस ‘सामन्तवादको अवशेष बाँकी छ, मुख्य शत्रु छैन’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment