Comments Add Comment

नेकपा नेता पुरीमाथि सुकुमबासीको जग्गा कब्जा गरेको आरोप

सम्पत्ति शुद्धीकरणले अनुसन्धान गर्दै

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावताका झापास्थित रतुवा नदीको पाता फर्काउने बताएका थिए । धार परिवर्तन भएपछि दमक नगरपालिका-१३, बालुवाटारमा रहेको रतुवा किनारको जग्गा कटानबाट त जोगियो तर, राजनीतिक पृष्ठभूमिका भू-माफियाबाट बच्न सकेन ।

संयोग कस्तो परेको छ भने प्रधानमन्त्री अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै स्थानीय नेतामाथि जग्गा हत्याएको आरोप छ । नेकपा दमकका नेता गगन भनिने रेवतराज पुरीमाथि नक्कली सुकुमबासी बनेर सरकारी जग्गा आफ्नो नाममा पारेको अभियोग लागेको छ । उनले नापीका कर्मचारीसँग मिलेमतो गरेर २४ विगाहा सरकारी जग्गा हत्याएको त्यहाँका स्थानीय र प्रहरी बताउँछन् ।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट दमक नगरपालिकामा मेयर पदको उम्मेवार बनेका उनले रतुवा नदी छेऊ १६ अर्ब लगानी गरेर पार्क बनाउने भन्दै प्रचार गराएका थिए । उनले व्यावसायी अजय सुमार्गीलाई त्यहाँ ल्याएर घुमाएपछि धेरैले पार्क बन्ने विश्वास गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयका केही व्यक्तिसहित नेकपाका अन्य व्यक्तिले पनि पार्क निर्माणमा सघाउने पुरीको दाबी थियो ।
तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को तीन महिना लामो अनुसन्धानले पार्क बनाउने योजना झुठो रहेको मात्र खुलेको छैन, जग्गाको मूल्य बढाएर विक्री गर्ने पुरीको दाउ रहेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । आफूविरुद्ध अनुसन्धान सुरु भएको थाहा पाएलगत्तै फरार भएका पुरीले सामाजिक सञ्जाल फेसबुकबाट प्रहरीलाई उल्टै गालीगलौज र धम्की दिएका थिए ।

इलाका प्रहरी कार्यालय, दमक हुँदै जिल्ला सरकारी वकिलको कार्यालय, झापाले सरकारी छाप तथा दस्तखत कीर्ते र लिखत सम्बन्धी दुई मुद्दा अदालतमा दर्ता गराएपछि भने उनले आत्मसमर्पण गरे । अदालतमा ७ चैतमा २०७६ मा हाजिर भएका उनलाई धरौटीमा छाड्न आदेश भएको थियो ।

अहिले पुरी सम्पत्ति शुद्धिकरण विभागले ९ मंसिरमा पक्राउ गरेर अकुत सम्पत्ति आर्जनमा अनुसन्धान गरिरहेको छ ।

मालपोतका कर्मचारीसँग सेटिङ

दमकका एक नागरिक अगुवाका अनुसार २०३९ सालतिर नापी टोली पुगेका बेला ८८ घरधुरी सुकुमबासीलाई रतुवा नदी छेऊको जग्गा दिने भनिएको थियो । त्यसवेला ३३ बिगाहा सरकारी जग्गा उनीहरूका नाममा भनेर छुट्टयाइएको थियो । त्यसमध्ये १० बिगाहा मात्रै सुकुमबासीले भोगचलन गरिरहेका थिए ।

अरु जग्गा भू-माफियाले हडप्न थालेको गुनासो आएपछि ०६५ सालमा नापी कार्यालयले सुकुमबासीको जग्गाको अवस्थाबारे हाल साबिक गर्‍यो । त्यही वेला नापीका कर्मचारीले मिलेमतोमा नेकपा नेताको नाममा सरकारी जग्गा सारिदिएको खुलेको छ ।

नापीका कर्मचारीले सुकुमबासीलाई दिइएको जग्गामध्ये २४ बिगाहा जग्गा नेकपा नेता पुरीसहित भाइबुहारी मनमाया पुरी, भाइ देवकुमार पुरी, पूर्वमाओवादी कार्यकर्ता मोरङका ओमप्रकाश पौडेलसमेतका नाममा कायम गरिदिएको पाइएको ब्युरोका एक अधिकृत बताउँछन् । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार हाल हडपिएको जग्गा छेऊ पुरीको केही जग्गा पहिल्यैदेखि थियो । हाल उनको जग्गा भएको ठाउँबाट नदी बग्छ । अनुसन्धान अधिकारी भन्छन्, ‘पुरीले नापीमा भएको ढड्डाबाट आफ्नो जग्गाको कित्ता नम्बर नै परिवर्तन गरेर खोलाको जग्गालाई बगरमा पारी सरकारी जग्गा आफ्नो नाममा पारेको देखिन्छ ।’

जिल्ला अदालत, झापामा दायर गरिएको मुद्दामा नापीका कर्मचारी विन्देधर पञ्जियार, विनोदकुमार मण्डल, सीताराम यादव, इन्दि्रस नदाफ र शेषबहादुर श्रेष्ठ पनि प्रतिवादी छन् । सरकारी जग्गा हात पारेपछि साढे ४ बिगाहा जग्गा गोरखा, नुवाकोट र बाराका गरी तीन व्यक्तिलाई विक्री गरेका छन् भने नेपाल बैंक लिमिटेडमा यही जग्गा धितो राखेर ऋण पनि लिएको पाइएको ब्युरोका एक अधिकृत बताउँछन् ।

विभिन्न व्यक्तिको नाममा जग्गा

सीआईबीका अनुसार पुरीले जग्गा हत्याउँदा परिवारसहित विभिन्न व्यक्तिको नाममा राखेको पाइएको थियो । तीमध्ये एक जना पथरी शनिश्चरेका ओमप्रकाश पौडेल हुन् । रिक्सा चलाएर जीविका चलाउँदै गरेका पौडेललाई प्रहरीले पक्राउ गरेपछि बल्ल उनी झस्किएका थिए ।

पहिले माओवादी राजनीतिमा सक्रिय पौडेलको पुरीसँग पुरानै चिनजान हो । त्यसक्रममा पुरीले केही जग्गा दिलाउने प्रलोभनमा उनीसँग नागरिकताको फोटोकपी र फोटो मागेको पाइएको छ ।

त्यही कागजपत्र प्रयोग गरेर पौडेलको नाममा पुरीले ११ बिगाहा जग्गा पास गरिदिएका थिए । पौडलेले आफूले कागज मात्र दिएको र कहिल्यै कुनै पनि कार्यालयमा नगएको बयान दिएका थिए ।

अनुसन्धानका क्रममा पुरीले उनलाई दुई बिगाहा जमिन दिने प्रलोभनमा उनको नाममा जग्गा राखेको खुलेको अधिकृतहरु बताउँछन् ।

सुकुम्बासीबाट किनेको हुँ : पुरी

दमकमा गत वर्ष पुस पहिलो साता सुकुमबासीको एक समूहले पत्रकार सम्मेलन गरेर पूरीले जग्गा हडपेको बताएका थिए । पत्रकार सम्मेलनमा बोल्दै सञ्जिव मगरले आफ्नो बाजे वीरबहादुर र हजुरआमा बिष्णुमाया मगरको नाममा रहेको ३ कठ्ठा १९ धुर जग्गा पुरीले आफ्नो बनाएको दाबी गरेका थिए ।

त्यहीँका मनप्रसाद लिम्बुले पनि बुबा टेकबहादुरको नाममा रहेको साढे १३ कठ्ठा जग्गा फिल्डबुकमा भए पनि भोगचलन गर्न नपाएको गुनासो गरेका थिए । लामो समयदेखि बालुवाटार क्षेत्रमा बस्दै आएका तहरमान श्रेष्ठले पनि ४ कठ्ठा बढी जग्गा पुरीले हडपेको आरोप लगाएका थिए ।

यो घटनापछि नेपाली कांग्रेस क्षेत्र नं. ५ र दमक नगर कमिटीले प्रेस विज्ञप्ति जारी गर्दै देशभर भ्रष्टचार सार्वजनिक भइरहेका वेला दमकमा पनि उही प्रकृतिको घटना भएको उल्लेख गरेको थियो । छानविनमा स्थानीय सरकार समेत उदासीन भएको उसको आरोप थियो । लगत्तै सीआईबीमा जग्गा प्रकरणबारे अनुसन्धान गर्न भन्दै बेनामी उजुरी परेको थियो ।

राजनीतिकर्मीको संलग्नता रहेको व्यहोरासहित उजुरी परेपछि ब्युरोले एक जना डीएसपीकै नेतृत्वमा तीन महिना लामो अनुसन्धान गरेको थियो । पुरीले भने आफूलाई फसाउन खोजिएको दाबी गर्दै आएका छन् । आफूले जग्गा हडपेको नभइ, सुकुमबासीबाट खरिद उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment