Comments Add Comment

अर्को साताबाट दिल्ली–काठमाडौं उडान सुरु गर्ने तयारी

१५ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौं उडानका लागि अनुमति दिने तयारी गरेको छ ।

१० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको एयर बबल स्वीकार गर्ने निर्णय गरेको थियो । अरु देशको हकमा भने मन्त्रालयले आवश्यकताका आधारमा उडान सञ्चालन अनुमति दिनसक्ने मन्त्रिपरिषद्को निर्णय छ ।

अब नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय उड्ययन निकायसँग उडानसम्बन्धी नियम बनाएपछि उडान सुचारु हुनेछ । पर्यटनमन्त्री योगेश भट्टराईले अनलाइनखबरसँग भने, ‘अहिलेलाई काठमाडौंबाट एउटा र दिल्लीबाट एउटा फ्लाइट सुरु गर्छौ । कस्ता यात्रुलाई आउन दिने के-के मापदण्ड हुने भन्ने दुई देशको उड्डयन निकायले तय गरेपछि अर्को साताबाट उडान सुरु हुन्छ ।’

चैत ११ यता नेपाल–भारत उडान रोकिएपछि यताबाट जाने र उताबाट आउनुपर्ने लाखौं यात्रु प्रभावित भएका छन् । मन्त्रिपरिषद्को नयाँ निर्णयपछि नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुमति दिनुपर्छ ।

नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्री भारतमा नियमित उडान सञ्चालन गर्नेबारे सरकारको तर्फबाट अहिलेसम्म कुनै निर्देशन नआएको बताउँछन् ।

करोडौं गुमाउँदै नेपाल एयरलाइन्स

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको लागि भारत सर्वाधिक यात्रु हुने रुट हो । ९ महिनाभन्दा लामो समयदेखि भारत उडान बन्द हुँदा कम्पनीले करोडौं आम्दानी गुमाएको छ । एयरलाइन्सका एक अधिकारी भन्छन्, ‘सरकारले बेलैमा सचेत भई उडान व्यवस्थापन गर्न नसक्दा भारतमा यात्रुलाई सास्ती मात्र भइरहेको छैन हामीले करोडौं आम्दानी गुमाउनु परेको छ ।’

भारतको नयाँ दिल्ली, मुम्बई र बैंग्लौरमा नेपाल एयरलाइन्सको नियमित उडान थियो । भारत उडानको अलमलले सबैलाई पिरोलेको छ । श्री एयरलाइन्सले गत साता सूचना निकालेर १ डिसेम्बरमा काठमाडौं–दिल्ली–काडमाडौं चार्टर्ड उडान गर्ने बताउँदै इच्छुक यात्रुलाई टिकट काट्न आह्वान गरेको थियो । तर, उक्त उडान रद्द भएको प्राधिकरण स्रोतले जानकारी गराएको छ ।

यसको कारण भारतबाट उडान अनुमति नपाउनु नै हो । यसअघि नेपाल–भारत चार्टर्ड उडान अनुमति दिने गरिएको थियो । त्यो पनि रोकेर भारतले हाललाई उडान हुन नसक्ने शंकेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment