Comments Add Comment

शक्तिसम्बन्ध, बहस र नेपाली माओवाद

शक्तिसम्बन्ध र बहस (डिस्कोर्स) बीचको सम्बन्धको बारेमा मिसेल फुकोको प्रसिद्धियता यति साहित्य लेखिएको छ कि उत्तरआधुनिक बहसमा शायदै अरू बिषयमा त्यति दिमाग र मसी खर्च भएको छ ।

फुकोको मान्यताअनुसार शक्तिसम्बन्ध र बहसबीच पारस्पारिक सम्बन्ध हुन्छ । सामान्यत: परम्परागत बहस सिर्जना गर्ने शक्तिशालीले हो । बहस लेखिने कमजोर पक्षबारे हो । जस्तो कि पुरुषहरूले महिलाका बारेमा, धनीहरूले गरीबका बारेमा । युरोपेलीहरूले एसियालीका बारेमा आदि ।

तर, खास स्थितिमा बहसबाट पनि शक्ति आर्जन हुन्छ । क्रान्तिकारीहरूले शक्ति बहसबाट आर्जन गर्छन् । त्यस हिसाबले नेपाली माओवादी आन्दोलनको शक्ति पनि लडाइँसँगसँगै बहसबाट सिर्जना भएको हो ।

तर, क्रान्तिकारी बहसको दोहोरो चरित्र हुन्छ । यसले एकातिर क्रान्तिकारी शक्तिको उदय गराउँछ भने अर्कोतिर क्रान्तिकारी शक्तिभित्रै शक्तिसन्तुलनको नयाँ असमानता पनि सिर्जना गरिदिन्छ । त्यसलाई कसै कसैले ‘फुकोज् प्याराडक्स’ वा ‘फुकेली विरोधाभाष’ पनि भन्छन् । त्यसको कारण के भने क्रान्तिकारी शक्तिभित्र बहसको सिर्जना गर्ने समूह सानो हुन्छ ।

अझ भनौं, क्रान्तिकारी समूहमा बहस सिर्जना गर्ने दुईतीनजना हुन्छन् । कहिलेकाहीँ एकजना मात्र हुन्छ । उनीहरूले नयाँ बहसको भाषा, त्यसमा प्रयोग हुने पदावली, र त्यसको राजनीतिक व्याकरण सबै तयार गर्छन् । अरूले तिनै दुई-तीन जनाले मुखमा हालिदिएको पाठ भट्याउने मात्र हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षले ल्याउनुभएका दस्तावेज पनि शक्ति आर्जन गर्ने प्रतिस्पर्धाकै फल हुन् । तिनले भुइँतहलाई केही शक्ति दिन्नन् । बरू यस्ता दस्तावेजले भुइँतहकालाई झनै शक्तिहीन बनाउँछन् । आम मान्छेको दिमाग भुट्छन् र तिनका अधिकार खोसेर लिन्छन्

क्रन्तिकारी आन्दोलनभित्रको बहसको यो चरित्रले गर्दा कालान्तरमा क्रान्तिकारी आन्दोलन समतावादी रहँदैन । बहसको सिर्जनाकर्ता विस्तारै शक्तिशाली हुँदै जान्छ । उसले अब बहस उत्पीडित समुदाय र आफ्नो समूहभन्दा पनि आफूले क्रान्तिकारी आन्दोलनमार्फत प्राप्त गरेको शक्तिको सेवामा लगाउँछ ।

अनि एउटा यस्तो दुष्चक्र सिर्जना हुन पुग्छ जहाँ क्रन्तिकारी शक्तिको नेता अथवा बहसको उत्पादक ‘कस्मोक्रयाट’ वा चामत्कारिक नेता बन्न पुग्छ ।

चीनका माओ एक चमत्कारिक नेता थिए । पेरूका गोञ्जालो पनि एक चमत्कारिक नेता बने । नेपालका प्रचण्ड, बाबुराम र केपी ओली चमात्कारिक नेताका पछिल्ला उदाहरण हुन् ।

यति भनिसकेपछि पाठकलाई लाग्दो हो नेपालमा माओवादी आन्दोलनको विस्तार प्रचण्डका दस्तावेज वा प्रचण्डपथ र बाबुराम भट्टराईका आलेखमार्फत भएको हो । तर, त्यतिमात्र होइन । त्यो आंशिक सत्य मात्रै हो ।

माओवादी आन्दोलनप्रति युवाहरूको खास आकर्षण त सामना परिवारजस्ता साँस्कृतिक टोलीका गीत, संगीत र नाटकहरू मार्फत भएको हो । जनतामा आकर्षण छापामारहरूले गरेका तिलस्मी कार्वाहीदेखि लिएर नेपालभित्र जीवन जोखिममा राखेर खटिएका राजनीतिक कार्यकर्ताको मिहिनेतबाट भएको हो । माओवादी आन्दोलनको विस्तारमा कवि-साहित्यकारहरूको पनि उत्तिकै महत्वपूर्ण भूमिका छ ।

क्रान्तिकारी कविता र गीतहरू जनताका लागि लेखिएका थिए । क्रान्तिकारी कविले कविता आफू शक्तिशाली हुन लेख्दैन । उसले अन्यायका बिरूद्ध धावा बोल्न लेख्छ । तर, चमत्कारिक नेताले दस्ताबेज वा आलेख आफूलाई झनै शक्तिशाली बनाउन लेख्छ। छापामारले संस्मरण लेख्छ । संस्मरण लेखेर पार्टीभित्र शक्ति आर्जन हुँदैन । राजनीतिक कार्यकर्ताले नेताले तयार गरेको बहस बोकेर हिँड्छ । त्यसकारण ऊ कारिन्दा हुन्छ ।

पीडित भए पनि आफ्नो पीडा व्यक्त गर्ने भाषा र व्याकरण ऊसित हुँदैन । कारिन्दाले दिमाग र मुखभरि नेताले भरिदिएका शब्द र सिद्धान्त बोकेका हुन्छन् तर ती शब्द र सिद्धान्तले भरियाको होइन, तिनका असली सिर्जनाकार वा मालिकको सेवा गर्छन् ।

कविहरूले मात्र नेताका विरोधमा बोल्न सक्छन् । किनकि कविहरू अरूका शब्दका भरिया हुँदैनन् । उनीहरू मौलिक भाषा र ब्याकरण सिर्जना गर्न सक्छन् ।

हालसालै नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षले ल्याउनुभएका दस्तावेज पनि शक्ति आर्जन गर्ने प्रतिस्पर्धाकै फल हुन् । तिनले भुइँतहलाई केही शक्ति दिन्नन् । बरू यस्ता दस्तावेजले भुइँतहकालाई झनै शक्तिहीन बनाउँछन् । आम मान्छेको दिमाग भुट्छन् र तिनका अधिकार खोसेर लिन्छन् ।

तिनले जनयुद्धका योद्धाहरूलाई सेवा गर्दैनन् । भावनाको बन्दी बनाउँछन् र चामत्कारिक नेताको शक्ति र वैभवको सेवामा उफार्छन् मात्रै। त्यस्ता बहसहरूले योद्धाहरूको भविष्य अझै लुट्छन् र चम्चा हुन बाध्य बनाएर उनीहरूको स्वाभिमानको हुर्मत लिन्छन् ।

त्यसकारण यतिबेला हामीलाई चाहिएको नेताको सेवा गर्ने दस्तावेज होइन, योद्धाहरूको घाउमा मलम लगाउने कविता हो । हामीलाई चाहिएको योद्धा आफैंले लेखेको धोका र गद्दारीविरूद्धको दस्तावेज हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment