Comments Add Comment

जब मन्त्री च्याउ किसानको घरमै पुगिन्…

१६ मंसिर, कैलाली । सोमबार अपराह्न ४ बजे कैलालीको धनगढी उपमहानगरपालिका–३ बोरोडाडीस्थित मनोज पडालको घरमा कालो चिया पाक्दै थियो । पडाल करेसाबारीमा थिए । उनकी श्रीमती भान्सामा ।

त्यही समयमा झन्डावाल गाडी उनको घर अगाडि रोकियो । गाडीमा थिइन् सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी ।

अर्काे गाडीमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. किसनलाल भट्ट र प्रदेश कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशी ।

मन्त्री सहितको टोलीलाई आफ्नो घर अगाडि देखेर पडाल अचम्मित भए । गाडिबाट ओर्लिएर मन्त्री चौधरीले सोधिन्, ‘च्याउ कस्तो हुँदै छ ?’

अचम्मित मुद्रामै उनले उत्तर दिए, ‘राम्रो भइरहेको छ ।’

सुदूरपश्चिम प्रदेशकै नमुना किसानको रूपमा चिनिएका पडालले २ बिघा जग्गामा च्याउ खेती गरेका छन् । उनले वार्षिक १५ लाख भन्दा बढी आम्दानी गरिरहेका छन् भने १६ जनालाई रोजगारीसमेत दिएका छन् ।

सरकारी अनुदान नलिएरै ठूलो संख्यामा च्याउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न र उनको समस्या बुझ्न मन्त्रीसहितको टोली घरमै पुगेको थियो ।

कालो चिया पिउँदै गफगाफ सुरु भयो । सरकारी अनुदानविनै किसानले गरेको प्रगति हेर्न आएको कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताए । ‘उहाँ सुदूरपश्चिम प्रदेशको लागि मात्रै होइन, नेपालकै एक नमूना किसान हुनुहुन्छ । हामीले उहाँ जस्ता किसानहरूको समस्या बुझ्न र समस्या समाधान गर्न आवश्यक पर्छ,’ जोशीले भने ।

मन्त्रीसहितको उच्चस्तरीय टोली घरमै पुगेपछि पडाल दंग थिए । उनले हतार हतारमा आफूले उत्पादन गरेका च्याउ तथा च्याउ उत्पादन टहरा देखाउन थाले ।

कृषि मन्त्री चौधरी सहितको टोलीले पडालले ४ स्थानमा गरेको व्यवसायीक च्याउ खेतीको निरीक्षण गर्यो ।

निरीक्षण पछि मन्त्री चौधरीले भनिन्, ‘प्रदेश सरकारले उहाँ जस्ता किसानहरूलाई प्रोत्साहन गर्छ, उहाँलाई सहुलियत कर्जाको व्यवस्था गर्छौं, अरू केही समस्या भए पनि प्रदेश सरकारले हल गर्छ ।’

प्रदेश सरकारले कृषिमा अनुदानसहित स्वरोजगार कोषमार्फत विना धितोमा कर्जा उपलब्ध गराउने तयारीमा रहेको मन्त्री चौधरीले बताइन् । ‘अनुदान मात्रै ठूलो कुरा होइन,’ उनले भनिन्, ‘उहाँहरू जस्ता किसानहरूको लागि हामीले सहुलियत कर्जा र विना धितोमा कर्जा उपलब्ध गराउने तयारीमा छौं ।’

५ लाखदेखि ५० लाखसम्म ऋण लिएको अवस्थामा किसानले १ प्रतिशत मात्रै व्याज तिर्नु पर्ने र बाँकी सरकारले तिर्ने योजनारहेको मन्त्री चौधरीले सुनाइन् ।

‘केही दिनभित्रै कृषि विकास बैंकसँग सम्झौता हुन लागेको छ,’ उनले भनिन्, ‘त्यसपछि उहाँ जस्ता अन्य धेरै किसानहरू लाभान्वित हुनुहुनेछ ।’

मन्त्री सहितको टोली घरमै पुगेर समस्याबारे जिज्ञासा राख्दा पडाल उत्साहित थिए । ‘तपाईंहरू कहिलेकाहिँ आइदिनु भयो भने पनि हामीलाई ठूलो हौसला मिल्छ,’ उनले भने, ‘अझै धेरै च्याउ उत्पादन गर्ने योजनामा छु । तर, व्यवस्थापनको समस्या छ ।’

२०७० साल देखि २ लाखको लगानीमा च्याउ खेती गर्न सुरु गरेका पडालले अहिले १ करोड बढी लगानी गरिसकेका छन् । हाल २९ टहरामा च्याउ खेति गरेका उनले यस वर्ष ५५ टहरा बनाउने लक्ष्य रहेको सुनाए ।

उनले अब च्याउ मात्रै नभएर च्याउका परिकारहरू समेत बनाउने योजना रहेको मन्त्री सहितको टोलीलाई सुनाए । ‘तपाईं कृषिमा क्रान्ति गर्दै जानुहोस् कुनै समस्या भए हामीलाई भन्नुहोला,’ भनेर मन्त्रीसहितको टोलीले भनेको पडालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment