
१६ मंसीर, जनकपुरधाम । बर्दिवासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शन रोक्न प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएपछि सो प्रकरणमा मुच्छिएका दुई जना प्रहरी जिल्ला तानिएका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिवासमा कार्यरत प्रहरी नायव निरीक्षक वीरेन्द्र सिंह र प्रहरी हवल्दार फुलगेन मण्डल जिल्ला तानिएका हुन् ।
गत कात्तिक ७ गते बर्दिवास नगरपालिका-१४ की ६ वर्षीया गुलाब खातुनको हत्या भएको थियो । गौशाला नगरपालिका-५ का अरुण साहले बालिकाको हत्या गरेको जानकारी बाहिर आए लगत्तै स्थानीयले गरेको प्रदर्शन रोक्न प्रहरीले गोली चलाएको थियो । गोली लागेर स्थानीय सञ्जय न्यौपानेको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
उक्त घट्नामा लापरबाही भएको हो कि ? भन्ने विषयमा बुझ्नलाई ती प्रहरीलाई जिल्ला झिकाइएको महोत्तरीका प्रहरी प्रमुख एसपी टिका केसीले जानकारी दिए ।
यी दुईसँग घट्नामा कतै लापरबाही त भएको होइन भन्ने सम्बन्धमा सोधपुछ गरिने एसपी केसीले बताए ।
गृहमन्त्रालयको छानिबन टोली महोत्तरी पुग्दै
यसैबीच बालिका खातुनको हत्या र प्रहरीको गोली लागेर सञ्जय न्यौपानेको मृत्यु भएको घट्ना छाानबिनका लागि गृह मन्त्रालयले बनाएको समितिका पदाधिकारी मंगलबार महोत्तरी पुग्दैछन् ।
गृह मन्त्रालयका उपसचिव रुद्र पण्डितको संयोजकत्वमा मन्त्रालयले छानबिन समिति बनाएको थियो । समितिका सदस्यमा अनुसन्धान कार्यालय धनुषाका एसपी अभिनय सिंह र प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका एसपी कृष्ण प्रसाइँ सदस्य छन् ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले समिति संयोजक काठमाडौंबाट मंगलबारै आउन लागेको बताए । ‘दुई जना सदस्य यत्ताकै भएकाले उहाँहरु संयोजक आउनेबित्तिकै आइहाल्नुहुन्छ’ कटुवालले भने, “समितिले मंगलबारैदेखि काम सुरु गर्ने जानकारी पाएको छु ।”
प्रतिक्रिया 4