Comments Add Comment

बेलायतमा कसरी हुन्छ कोरोना खोप वितरण ?

१७ मंसिर, काठमाडौं । बेलायतले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पहिलो खोपको लागि सार्वजनिक प्रयोगको अनुमति दिएको छ । बेलायती नियामक संस्था एमएचआरएले फाइजर र बायोएनटेकले मिलेर विकास गरेको खोप आगामी सातादेखि सार्वजनिक प्रयोगमा आउने बताएको छ । बेलायतमा आगामी सातादेखि सबैभन्दा बढी जोखिममा रहेको समूहलाई यो खोप लगाउन थालिनेछ ।

मानिसहरुले कहिलेसम्म पाउँछन् कोरोना खोप ?

कहिलेसम्म खोप पाउने भन्ने कुरा मानिसको समूहअनुसार तय हुनेछ । सबैभन्दा धेरै जोखिममा रहेको समूहले सबैभन्दा पहिला यो खोप पाउनेछन् । कुन समूहका मानिसले कुन समयमा खोप पाउने भन्ने खोप विज्ञहरुको तयार पारेको सूचीको आधारमा तय हुनेछ । अहिलेसम्मको अवस्थालाई आधार मान्ने हो भने बेलायतको ज्वाइन्ट कमिटी अन भ्याक्सिनेसन एण्ड इम्युनाइजेसन (जेसीभीआई)ले स्याहार केन्द्रमा काम गर्ने र बसोबास गर्ने मानिसहरुले सबैभन्दा पहिला यो खोप पाउनेछन् । त्यसपछि ८० वर्ष नाघेका मानिसहरु र नेशनल हेल्थ सर्भिस (एनएचएस)का कर्मचारीहरुलाई यो खोप प्रदान गरिनेछ ।

उमेर बढी भएका मानिसहरुलाई कोरोनाको जोखिम बढी हुन्छ । विशेषगरी गम्भीर रोग लागेका मानिसहरु र ७० वर्ष नाघेका मानिसहरुलाई यस किसिमको जोखिम सबैभन्दा बढी हुन्छ । त्यसैले उमेर समूहको आधारमा खोप प्रदान गर्ने योजना तय गरिएको छ । जसमा सबैभन्दा धेरै उमेरदेखि कम उमेरका मानिसहरुलाई खोप प्रदान गरिनेछ । आगामी मे महिनासम्ममा ५० वर्षभन्दा बढी उमेरका सबै मानिसलाई कोरोना खोप लगाइसक्ने बेतायतको लक्ष्य छ । यद्यपि धार्मिक अल्पसंख्यक तथा अन्य दीर्घरोगको सामना गरिरहेका मानिसहरुको विषयमा भने अहिलेसम्म कुनै घोषणा गरिएको छैन ।

खोप कहाँ पाइन्छ ?

बेलायतमा खोप लगाउने पालो आएपछि मानिसहरुलाई खोप लगाउन बोलाइन्छ । सम्भवतः चिठीबाट मानिसहरुलाई खोपको लागि बोलाइन सक्छ । जीपी सर्जरी, अस्पताल, स्याहार केन्द्र वा कुनै खोप केन्द्र तोकेर मानिसहरुलाई कोरोना खोप लगाइने छ । एनएचएसले बेलायतमा खोप मानिसहरुलाई दिन सबै तयारी पूरा गरिसकेको छ । खोप मानिसहरुलाई दिन एनएचएसले तीन हजार स्वयंसेवकहरु परिचालन गरेको छ । फाइजरले निर्माण गरेको खोपमा भण्डारको समस्या भने देखिन सक्छ । किनकी यो खोपलाई निकै चिसो तपक्रममा राख्नुपर्छ । तर, अक्सफोर्ड युनिभर्सिटीले निर्माण गरेको खोपमा यो समस्या छैन ।

कोरोना खोपको लागि तत्काल पैसा तिर्नुपर्छ ?

पर्दैन । एनएचएसले मानिसहरुलाई निःशुल्क कोरोना खोप दिनेछ । खोपको लागि पैसा तिरेर पनि पालो भन्दा अगाडि खोप लगाउन पनि पाइँदैन ।

फ्लुको खोप र कोरोना खोपबीच एकैपटक लगाउन मिल्छ कि मिल्दैन ?

फ्लुको खोप पनि लगाउनुपर्ने अवस्था छ भने त्यस्ता मानिसहरुलाई सकेसम्म छिटो कोरोना खोप प्रदान गरिनेछ । किनकी फ्लु र कोरोना संक्रमण एकैपटक भयो भने यो जोखमपूर्ण हुने भएकाले उनीहरुलाई जोखिमपूर्ण समूहमा राखी कोरोना खोप उपलब्ध गराइनेछ । आफ्नो पछिल्लो बैठकमा जेसीभीआईले यी दुवै खोप सात दिनको अन्तरमा लगाउन सिफारिस गरेको छ ।

कोरोना खोप लगाउनु सुरक्षित छ ?

बेलायती नियामकले यो फाइजरको कोरोना खोपलाई सार्वजनिक प्रयोगको लागि अनुमति दिएका छन् । नियामकहरुले कुनै पनि खोप सुरक्षित नभई सार्वजनिक प्रयोगको लागि अनुमति दिँदैनन् । बेलायतको एमएचआरएले खोपको सबै विवरणहरु हेरेर मात्र यो खोपलाई प्रयोगको अनुमति दिएको हो । साथै यो खोपको सबै आवश्यक परीक्षण पनि पूरा भइसकेको छ ।

नियामकले खोपको प्रयोगशाला र क्लिनिकल परीक्षणको नतिजा, उत्पादन र गुणस्तर नियन्त्रण खोपको परीक्षण गरेर मात्र यसलाई सार्वजनिक प्रयोगको लागि अनुमति दिएको हो । खोप बनाउनुपर्ने प्राथमिकताको कारण यी सबै प्रक्रिया निकै छिटो सकाइएको थियो । अहिले कम्पनीहरुले नियामकहरुलाई आफ्नो परीक्षणको नतिजा पठाइरहेका छन्, जसले प्रक्रिया केही छिटो गर्न सहयोग पुग्नेछ ।

बेलायतको नियामकले खोपको विषयमा अर्को स्वतन्त्र अंग कमसन अफ ह्युमन मेडिसिनसँग पनि परामर्श लिने गरेको छ । त्यसपछि मात्र सरकारलाई यो खोपको सार्वजनिक प्रयोगको लागि सिफारिस गर्छ ।

फाइजर र बायोएनटेकले निर्माण गरेको कोरोना खोप अहिलेसम्मकै सबैभन्दा छोटो समयमा बनेको खोप हो । यो खोप बन्न केवल १० महिनाको समय लागेको हो । अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले पनि आफूले विकास गरेको खोपको सबै विवरण एमएचआरएलाई पठाएका छन् र सार्वजनिक प्रयोगको लागि अनुमति मागेका छन् । अन्य खोपको लागि पनि यो प्रक्रिया पूरा गर्नुपर्छ । अन्य खोपहरुले पनि अनुमति पाएको अवस्थामा कुन खोप प्रयोग गर्ने भन्ने बेलायतको छनोट हुनेछ । जेसीभीआईले कुन उमेर समूहलाई कुन खोपको प्रयोग गर्ने भन्ने कुराको निर्णय गर्नेछ ।

सबैले खोप पाउनेछन् ?

अहिलेसम्मको लक्ष्य १६ वर्षभन्दा बढी उमेरका सबै मानिसहरुलाई खोप पुर्‍याउने रहेको छ । यो उमेर समूहका पाँच करोडभन्दा धेरै मानिसहरु बेलायतमा छन् । त्यसैले सबैलाई खोप पुर्‍याउनु बेलायतको लागि निकै ठूलो चुनौती हो । यद्यपि यसको लागि कुनै समयतालिका तोकिएको छैन । सन् २०२१ मा कोरोना खोप कार्यक्रम बेलायतको दीर्घकालीन योजना हुनेछ ।

बेलायतमा कोरोना खोप अनिवार्य भने गरिने छैन । बेलायतमा कुनै पनि खोप अनिवार्य छैन । विशेषज्ञहरु यो अवधारणाले मानिसहरुको खोपप्रतिको विश्वास बढाउन सहयोग नपुग्ने भएकाले खोप अनिवार्य गर्नु जरुरी छैन । अहिलेको अवस्थामा बेलायतले विभिन्न साता प्रकारका खोप अर्डर गरेको छ र ३५ करोड ५० लाख डोज खोप बेलायतले पाउने अपेक्षा छ । जसमा अक्सफोर्ड र एक्स्ट्राजेनेकाको खोप १० करोड डोज रहनेछ । यदि सबै मानिसलाई कोरोनाको खोपको दुई डोज आवश्यक परे पनि बेलायतका सबै मानिसलाई यो पर्याप्त हुनेछ ।

खोप कहाँ बन्छ ?

बेलायतको नियामकले अनुमति दिएको फाइजर र बायोएनटेकले निर्माण गरेको खोप अहिले बेल्जियमबाट निर्माण तथा वितरण भइरहेको छ । यो खोपलाई माइनस ७० डिग्रीको तापक्रम कायम रहने गरी बेलायत ल्याइनेछ । पहिलो चरणमा यो खोपको आठ लाख डोज आगामी दिनमा बेलायत आइपुग्ने अनुमान गरिएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment