+
+

यस वर्षको हिउँदमा गैंडा गणना गरिने

रासस रासस
२०७७ मंसिर १८ गते १५:३८

१८ मंसिर, चितवन । गत दुई वर्षसम्म हुन नसकेको राष्ट्रिय गैँडा गणना यस वर्षको हिउँदमा हुने भएको छ ।

नेपालमा गैंडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणनाका ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

विसं २०७४ मा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा बगाएपछि त्यसको पछिल्लो वर्ष सन् २०१९ मा गैँडा गणना गर्ने तयारी गरिएको थियो । त्यतिबेला नेपाल सरकारले बजेट विनियोजन नगरेको र दाताको भर पर्दा बजेटको अभावमा गणना हुन सकेको थिएन ।

गत वर्ष गणनाको तयारी भएको भए पनि कोभिड –१९ को कारण अन्तिम समयमा गएर रोकिएको थियो । सूचना अधिकारी आचार्यले यस वर्ष गणना गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार सबै तयारी गत वर्ष नै गरिएको छ । यद्यपि गणकको तालीमलगायत काम पुनः गर्नुपर्ने हुन्छ । जाडोयाम सकेर घाँस सुकेपछि जङ्गल उजाड भएको समयमा गणनाका लागि उपयुक्त मानिन्छ ।

गतवर्ष लामो समयसम्म वर्षा भएर घाँस नसुकेका कारण गणनामा ढिलाइ भएको थियो । त्यति नै बेला कोभिड –१९ का कारण लकडाउन भएपछि गणना स्थगित गरिएको थियो । सूचना अधिकारी आचार्यले फागुनदेखि वैशाखसम्मको समयलाई गणनाको लागि उपयुक्त हुने बताए । त्यसपछिको समय हावाहुरी, बढी गर्मीलगायतका कारण उपयुक्त मानिदैन ।

नेपालका चार राष्ट्रिय निकुञ्ज चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटामा गैँडा छन् । सन् २०१५ मा गैँडा गणना गरिएको थियो । चितवनमा गैँडा गणना गर्न एक महिना लाग्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । अन्य निकुञ्जमा एक सातादेखि १० दिनसम्म लाग्ने उनको भनाइ छ । चितवनमा गणनाका लागि आवश्यक सामग्री व्यवस्थापनको प्रक्रिया अघि बढेको उनले जानकारी दिए ।

नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?