Comments Add Comment

हिंसा अन्त्यको सुरुवात ठूलाबडाबाटै गर्नुपर्छ : मन्त्री श्रेष्ठ

१९ मंसिर, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लिलानाथ श्रेष्ठले सबै प्रकारको हिंसा (महिला हिंसा, बाल हिंसा) को अन्त्यको सुरुवात ठूलाबडाबाटै गर्नुपर्ने बताएका छन् ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

‘१८ वर्षमुनिका बालबालिकालाई घरमा काम गराएका छौं । कक्षा बाह्रसम्म पढाइमा छुट दिएका छौं । त्यो उमेरका बालबालिकालाई काम नलगाएर हामीले हिंसा अन्त्यको सुरुवात आफूबाटै गर्नुपर्छ’ श्रेष्ठले बिहीबार संसदको राष्ट्रिय सरोकार समितिले सिंहदरवारमा गरेको एक कार्यक्रममा भने ।

ठूलाबडाकै परिवारमा महिला र पुरुष भनेर फरक ब्यवहार हुने गरेको उल्लेख गर्दै उनले समानताको सुरुवात पनि ठूलाबडाबाटै हुनुपर्नेमा जोड दिए । कानुन नभएर वा कानुनमा त्रुटी भएका कारणले हिंसा भइरहेको भन्नेमा सत्यता नरहेको उनले प्रष्टीकरण दिए ।

‘कानुनमा त्रुटी छैन । कानुनले सबैलाई समान भनेको छ । तर, ६ वर्षकी बालिका पनि बलात्कार पीडित भएका छन्’, मन्त्री श्रेष्ठले भने, ‘सम्मान व्यवहार हामीबाटै सुरु गर्नुपर्छ । हामीले गरेपछि परिवार, समाज र देशले सुरु गर्छ ।’

मन्त्री श्रेष्ठले नेपालमा मात्रै नभएर विश्वमै महिला हिंसाको घटना भइरहेको पनि बताए ।

‘लैंगिक हिंसा न्यूनीकरणमा नेपालमा दक्षिण एसियामा राम्रो काम भइरहेको छ । तर पनि, कोभिड–१९ को बीचमा जतिपनि घटनाहरु घटे, विश्वमै घटनाहरु बढेको छ । मैले तथ्यांक हेरेँ । नेपालमा मात्रै होइन संसारमै घटनाहरू बढेका छन्’ उनले भने ।

हिंसा न्युनीकरणमा सरकारले सरकारको तर्फबाट प्रयास गरिरहेको उनको दाबी छ ।

एसिड आक्रमणविरुद्ध अध्यादेश ल्याएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘बलात्कारका घटना मेलमिलाप गराउने प्रथा अन्त्य गर्नका लागि पनि सरकारले अध्यादेश ल्याएको छ ।’

‘हिंसाको कुरा ठूला होटलमा होइन, गाउँ गाउँमा गरौं’

राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले महिला हिंसा न्युनीकरणका सन्दर्भमा हुने गरेका छलफल शहर केन्द्रित भएको बताइन् ।

‘महिला हिंसा विरुद्धका कुरा ठूला होटलमा गरिरहेका हुन्छौं । बनेका ऐन कानुनको कार्यान्वयनबारे ठूला होटलमै छलफल गरिरहेका छौं । तर जहाँ पुग्नुपर्ने हो त्यहाँ पुगिरहेको हुँदैन’ दाहालले भनिन्, ‘अब सबै जनप्रतिनिधि र सरोकारवालाहरुले हिंसा विरुद्ध गाउँमा गाउँमा गएर कुरा गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment