Comments Add Comment

कम्युनिस्ट कस्तो हुनुपर्छ भनेर कविले नबोले कसले बोल्ने ?

हेटौंडाका कवि सुवास खनालको दोस्रो कविता संग्रह ‘सपनाको अवयव’ बजारमा आएको छ । यसअघि ‘विचारको उल्टो नदी’ कविता संग्रह प्रकाशित गरेका खनाल प्रगतिशील लेखनसँग आवद्ध छन् ।

‘राजनीतिक इस्यु’ उनको कविता मुख्य विषय हो । आफूले आस्था राख्ने विचारकै सरकार हुँदा पनि त्यो जनपक्षीय नभएकोमा उनी तीव्र कटाक्ष गर्छन् । कवितामार्फत् कम्युनिस्ट ढोंगमाथि व्यंग्य गर्छन् ।

हेटौंडा बसेर अध्यापन र साहित्य लेखनमा रमाएका खनाल राजधानी बाहिर बसेर कविता लेख्ने युवापुस्ताका प्रतिनिधि कवि हुन् । नयाँ कविता संग्रहमाथि केन्द्रित रहेर सोधिएका पाँच प्रश्न–

संग्रहका अधिकांश कविता तीखो र नाराप्रधान बनेको देखिन्छ, किन ?

कवितामा कलाचेत हुनुपर्छ भन्ने मान्यता राख्छु म । तर कलाले कविता छोप्दै गर्दा भाषा सम्प्रेष्य भएन भने त्यो कविताको भाव र चुरो हराउँछ । यसैले सहज, सरल र जनपक्षीय भाषाको प्रयोग गर्न रुचाएको हुँ । जुन भाषा आम मानिससम्म पुगोस् ।

पहिलो कविता संग्रह ‘विचारको उल्टो नदी’मा दुर्बोध्य भाषा र शिल्प बनाएको थिएँ । अहिले भने सरल र जनजीब्रोकै भाषा रुचाएँ । यसैले कविता तीखो देखियो कि !

कस्तो कविताचाहिँ जनपक्षीय हुन्छ ?

जनताले आफूले भोगेका कुरा कविता वा लेखनमा आयो भने आफ्नोपन महसुस गर्छन् । हाम्रो देश विकशील र आर्थिक रुपमा कमजोर छ । हाम्रो लेखनमा पनि यही आर्थिक असमानता, वर्गीय विभेदका कुरा कविताको भाषामा लेख्यो भने त्यो जनपक्षीय हुन्छ । त्यस्तो लेखनमा सामाजिक न्यायको पक्षमा आवाज उठाउने बुलन्द अभिव्यक्ति र विचार भयो भने कविता झनै युगसापेक्ष र जनपक्षीय हुन्छ ।

अहिले प्रगतिशील भनिएकै कम्युनिस्टहरूको सरकार छ । यही विचारका मानिसविरुद्ध कटाक्ष गर्नुपर्ने कारण किन ?

सैद्धान्तिक रुपमा अहिलेको सरकार हामीले भन्ने गरेको कम्युनिष्ट नै हो तर व्यवहारत हेर्ने हो भने उनीहरू उही सामन्ती सत्ताका अंश हुन् । नाममात्र परिवर्तन भएको हो, व्यवहार र संस्कारमा आजका कम्युनिस्ट नेता निरकुंश सत्ताजस्तै छन् । उनीहरूको कर्म निन्दनीय छ ।

यसैले उनीहरू सच्चिनुपर्छ, उनीहरूले अन्याय गर्न हुँदैन भनेर एउटा कविले नबोले कसले बोल्ने ? कम्युनिस्टको शासन यस्तो हुनुहन्न, अन्याय हुनुहुन्न भन्ने आवाज कवि र कविताले बोल्नैपर्छ । लेखेर, बोलेर अनि आन्दोलनकै तहमा गएर भएपनि कुप्रथासँग जुध्नुपर्छ ।

‘सपनाको अवयव’ कविता संग्रहको मूल स्वर के हो ?

यो संग्रहको शीर्षकीकरण एउटा ‘एन्टी थिम’बाट अगाडि बढेको छ । त्यो के हो भने हामीलाई ठूलाठूला सपना देखाउन सिकाइएको छ । ठूलो उद्देश्य लिनुपर्छ भनेर ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ पढाइएको छ । राजनीतिले पनि रेलका, पानीजहाजका ठूला–ठूला सपना बेचिरहेको छ ।

तर हामी त स–साना सपना जोगाएर पो ठूला सपना बनाउन सफल हुन्छौ । एकैचोटी ठूला सपना देखेर हुँदैन । सपना त्यस्तो पनि नबाँचौ जसको पहिरोले हामीलाई पुरोस् । यसैले साना–साना कुरा सुधारेर मात्र ठूला कुरा सुध्रिन सक्छ भन्ने नै मेरो कविताको आवाज हो । आशावादी, जीवनवादी सपनाहरूको संगालो नै यो कवितासंग्रहको मूल स्वर हो ।

तपाईंको ‘म कविता लेखिरहेका छैन’ भन्ने एक कविता छ । यसबाट कल्पनामा भन्दा बढी यर्थाथमा विश्वास गर्नुपर्छ भन्न खोज्नुभएको हो ?

हामी सैद्धान्तिक रुपमा सफल भयौं तर व्यवहारको तहमा भएनौं । विकशील देशका मान्छेहरू र दार्शनिकझैं हामी चिन्तन गर्छौं तर व्यवहारमा विभेदलाई अंगाल्ने गर्छौं । भष्ट्राचार गर्छौं । यसैले कोरा कल्पनाको कविताभन्दा मैले गर्ने श्रम र आमा–बुबाको ओठको हाँसो ठूलो हो । पसिनाको मूल्य ठूलो हो । निष्ठा ठूलो हो भन्ने भावमा यो कविता लेखेको हुँ । सपना त हुनुपर्छ, आफ्नो कर्मले भ्याउनेसम्मको । सपनाका अवयव जोगाएर नै हाम्रो जीवन सुन्दर हुन्छ ।

सुवास खनालको एउटा कविता :

हजार दरबार भेटिएको सूचना

 

बजारमा

हजार दरबार भेटिएको सूचना टाँस भएको छ

 

जब ढल्यो एक दरबार

जग मुस्कुरायो एक पटक

जसमा टेकेर दर्बिलो बन्यो दरबार

उसलाई बिर्सेर मुस्कुराइरह्यो छानो

एक ज्यामीको आँखामा बौरियो सपना

जसको श्रम लिलामीमा थियो

एक सज्जनले देखे सीधा बाटो

नत्र थुप्रै बांगा बाटाहरूमा बिसौनी थियो दरबार

एक तन्नमका आँखामा पनि उघ्रियो

नयाँ क्षितिज

उसले पनि देख्यो जीवनको सार

 

तर, एकाएक

हजार दरबार भेटिएको सूचना टाँस भएको छ बजारमा

यति धेरै दरबारका चेपहरूमा

सजिलै हराउन सक्छ सूर्य

हुन सक्छ दिनदहाडै अँध्यारो

दरबारै दरबार, दरबारै दरबार

दरबारै दरबारका उतापट्टि, यतापट्टि

हुन सक्छ छाया नै छाया, छाया नै छाया

वा अँध्यारै अँध्यारो

 

दरबारको विकल्प दरबारहरू थिएनन्

राजाको विकल्प राजाहरू थिएनन्

 

टाउकाहरू–श्रीपेचहरू, श्रीपेचहरू–टाउकाहरू

फेरि टाउकाहरू–श्रीपेचहरू

हजार टाउकाहरू–श्रीपेचहरू

हजार श्रीपेचहरू–टाउकाहरू

सिलसिला बढिरहेछन्

 

सामान्यहरूले

सामान्यहरूका लागि

सामान्य तरिकाले

किन चलाउँदैनन् व्यवस्था ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment