Comments Add Comment

जग्गा विवादले रोकियो कोशी अस्पताल विस्तारको काम

१९ मंसिर, विराटनगर । जग्गा विवादका कारण कोशी अस्पताल विराटनगरको विस्तारको काम रोकिएको छ । अस्पतालको नयाँ संरचनाका लागि आवश्यक पर्ने जमिनमा क्षयरोग निवारण संस्था विराटनगरले दाबी गरेपछि अस्पताल विस्तारको काम रोकिएको हो ।

कोशी अस्पतालमा अण्डरग्राण्डसहितको ५ तले नयाँ भवन निर्माणका लागि संघीय सरकारले ४४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बहुवर्षीय योजना अनुसार नयाँ भवन निर्माणका लागि अस्पतालले पुरानो प्रशासनिक भवन भत्काएको छ । तर कोशी अस्पतालको जमिनमा रहेको संस्थाले उक्त जमिन आफ्नो भएको दाबी गर्दै नछाडेपछि काम रोकिएको हो । कोशी अस्पतालको ६ कट्ठा ८ धुर जग्गा सो संस्थाले प्रयोग गर्दै आएको अस्पतालले जनाएको छ ।

नयाँ भवन निर्माणका लागि साइट क्लियर गर्न क्षयरोग निवारण संस्थाले नदिएको कोशी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईले बताए । उनका अनुसार संस्थाले जमिन नछाड्दा नयाँ संरचना निर्माणको काम अघि बढेको छैन् ।

अध्यक्ष भट्टराईका अनुसार नयाँ आधुनिक भवन ३ हजार वर्ग मिटरमा बन्नेछ । जसका लागि संस्थाले भोगचलन गर्दै आएको करिब डेढ कट्ठा जग्गा आवश्यक पर्छ । तर जग्गा खाली गराउन आग्रह गर्दा संस्थाले उच्च अदालतमा रिट निवेदन दायर गरेको उनले बताए ।

‘संस्थाले सञ्चालन गर्ने अस्पताललाई अहिले असर गर्दैन् । संस्थाले भाडामा लगाएको पुरानो बिल्डिङ भत्काएर नयाँ संरचना निर्माण गर्ने हाम्रो तयारी हो,’ उनले भने, ‘तर अदालतको आदेश पछि काम रोकिएको छ ।’

क्षयरोग निवारण संस्था समाजका लागि आवश्यक रहेको बताउँदै उनले पुरानो संरचनाको लोभमा अस्पताल विस्तारको कामम अवरोध गर्न नमिल्ने बताए ।

कोशी अस्पतालले भवन भत्काउन ताकेता गरेपछि संस्था उच्च अदालत पुगेको हो । अस्पतालले सात दिन भित्र जग्गा खाली गर्न पत्र काटेपछि निषेधाज्ञा माग गर्दै उच्च अदालत पुगेको नेपाल क्षयरोग निवारण संस्था मोरङका अध्यक्ष राजन श्रेष्ठले बताए ।

अदालतलले तत्काल काम अघि नबढाउन कोशी अस्पतालका नाममा आदेश जारी गरेको छ । २६ कात्तिकमा अदालतले तत्काल काम अघि नबढाउन आदेश जारी गरेको हो ।

अस्पतालकै काम गरिरहेको क्षयरोग निवारण संस्थाको भवन भत्काउन नमिल्ने श्रेष्ठले बताए । संस्थाले प्रयोग गरेको कोशी अस्पतालको नाममा जमिन रहेपनि अस्पताल र संस्था सँगै स्थापना भएकाले हटाउन नमिल्ने उनको भनाइ छ ।

‘२०१६ सालदेखि संस्था अहिले बसेको स्थानमा बसेको हो,’ उनले भने, ‘संरचना बनाउन अस्पतालसँग प्रसस्त जमिन छ । संस्थाकै जग्गा प्रयोग गर्न जरुरी छैन् ।’

संघीय सरकारको बहुवर्षीय आयोजनाअन्तर्गत बन्ने कोशी अस्पतालको नयाँ संरचना अन्डरग्राउण्डसहित ५ तलाको हुनेछ । अध्यक्ष भट्टराईका अनुसार अण्डरग्राण्ड पार्किङसहित बन्ने नयाँ भवन भुइँ तल्लामा ४७ बेडको इमर्जेन्सी वार्ड हुनेछ । २० वटा जनरल बेड रहनेछ । पहिलो तल्लामा आईसीयू, एचडीयू, आइसोलेसन र क्याबिन रुम हुनेछ । दोस्रो तलामा १२ बेडको डाइलसिससहित अन्य बेड हुनेछन् । तेस्रो तलामा मुटु, न्यूरो, सीसीयू बेडहरू हुनेछन् । तीन वर्षे समयसीमा रहेको भवन निर्माणका लागि चालु आर्थिक वर्षमा १४ करोड बजेट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment