Comments Add Comment

वीरगञ्जको नेपाल इन्डो हस्पिटल मापदण्ड विपरीत

१९ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्तीचोकमा सञ्चालित नेपाल इन्डो हस्पिटल तथा आई सेन्टर प्रालि मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ ।

शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल नेतृत्वको टोलीले अनुगमन गर्दा अस्पताल र फार्मेसी सञ्चालन गर्न आवश्यक कागजपत्र नभएको, योग्यता नपुगेका, प्रमाणपत्र नभएका चिकित्सक भेटिएको हो ।

‘सर्टिफिकेट नभएका, योग्यता नपुगेका, काउन्सिलमा दर्ता नभएका कर्मचारीहरु अस्पतालमा भेटिएको छ । केही कागजपत्रहरु पनि नियन्त्रणमा लिएका छौं’ पौडेलले भने । उनले उक्त अस्पतालमा स्वास्थ्य कार्यालय, आन्तरिक राजश्व कार्यालयले पनि थप अनुसन्धान गर्नुपर्ने देखिएको बताए ।

अनुगमन टोलीले सबैभन्दा पहिले फार्मेसीको अनुगमन गरेको थियो । अस्पतालको गेटबाट छिर्नेवित्तिकै फार्मेसी छ । फार्मेसीमा औषधी बिक्रीका लागि फार्मेसी पढेको वा औषधी व्यवस्था विभागबाट व्यवसायिक तालिम लिएको व्यक्ति हुनुपर्छ । तर औषधी बेच्ने मानिस तालिम प्राप्त थिएनन् ।

ल्याबमा पनि योग्यता नपुगेको, काउन्सिलमा दर्ता नभएको व्यक्तिले नै जाँच गरेर रिपोर्ट दिने गरेको पाइएको छ । अनुगमन टोलीले केही परीक्षण रिपोर्ट जफत गरेको छ ।

आकस्मिक कक्षमा नर्सिङ काउन्सिलमा दर्ता नभएको व्यक्ति बसेको भेटिएको छ । लेखाबाट दुईथरी बिलिङ हुने गरेको पाइएको अनुगमन टोलीका एक सदस्यले बताए ।

अस्पतालमा शय्याहरुबीचको दूरी पनि मापदण्ड अनुसार नभएको अनुगमनमा गएका स्वास्थ्य कार्यालयका प्रतिनिधिले बताए । अस्पतालले ल्याब दर्ता प्रमाणपत्र, अस्पताल सञ्चालनको प्रबन्धनपत्र समेत दिन नसकेको अनुगमन टोलीले जनाएको छ । अस्पतालका सञ्चालक, लेखा तथा प्रशासनका जिम्मेवार कर्मचारीहरु सम्पर्कमा आउन नचाहेर अन्य कर्मचारी र कार्यालय सहयोगी मार्फत कागजपत्र पठाएका थिए ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले ११ बेडको अस्पताललाई २५ बेडमा स्तरोन्नति गर्दै सेवा विस्तार गर्न स्वीकृति दिएको थियो । ‘मापदण्ड पूरा भएपछि नवीकरण गर्नुपर्ने हो, तर वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले निम्न कुराहरु सुुधार गर्नु भनेर नवीकरण गरेको रहेछ । स्वास्थ्य महाशाखाको गतिविधि पनि शंकास्पद छ’ अनुगमनमा सहभागी एक सदस्यले भने ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मापदण्ड पूरा नगरी अस्पताल सञ्चालन गरेको र कर छली समेत गरेकोले सञ्चालकलाई सोही अनुसार कारबाही हुने बताएका छन् ।

‘फार्मेसीमा फार्मेसिस्ट छैनन्, ल्याबमा ल्याब टेक्निसियन छैनन् । नेपाल सरकारले तोकेको आधारभूत मापदण्डहरु पूरा नभएको पाइएको छ । कम्युटराइज्ड बिलिङ नगरी म्यानुयल बिलिङ गर्ने गरिएको रहेछ’ उनले भने, ‘अस्पतालमा बिरामी उपचाररत रहेकोले बन्द गरेका छैनौं, लेखालाई सिल गरेका छौं । लेखासँग सम्बन्धित विषयमा आन्तरिक राजश्व कार्यालयले थप अनुसन्धान गर्छ । व्यापक कर छलीको आशंका छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment