 
																			२७ फागुन, काठमाडौं । नयाँबानेश्वर बस्ने दोलखाकी मनमाया तामाङलाई प्रत्येक दिन २० लिटरको एक जार पानी आवश्यक पर्छ । श्रीमान्, एक छोरा र एक छोरी रहेको उनको परिवारलाई पिउन र खाना बनाउन दिनको एक जार पानी चाहिन्छ ।
उनी डेरा नजिकैको पसलमा पानीको जार लिन जान्छिन् । आज मंगलबार बिहान पनि उनी जार लिन गएकी थिइन् । तर, कुच्चिएको र बाहिरबाट एकदमै फोहोर देखिने जारमात्र रहेको देखेपछि उनी पानी नकिनी फर्किइन् ।
तर, पानी त खानै पर्यो । उनी त्यहाँबाट सरासर अलिकति परको अर्काे पसल पुगिन् र अघि देखेको भन्दा अलिकति सफा देखिने जारको पानी किनेर डेरातिर लागिन् ।
प्रशोधित खानेपानीका जार र बोतल प्रयोग गर्ने उपभोक्ताले बजारमा गुणस्तरीय खानेपानी पाइरहेका छन् कि छैनन् भन्ने यो एउटा सामान्य उदाहरण हो ।
काठमाडौं उपत्यकामा जारको पानीलाई सबैभन्दा बढी विश्वासिलो मानेर पिउनका लागि प्रयोग गरिन्छ । तर, काठमाडौं उपत्यकाका खुद्रा पसलदेखि स्टोरसम्म बेच्न राखिएका जार हेर्ने हो भने ती जारको पानी किनेर खान मन लाग्दैन । अधिकांश पसलमा बेच्न राखिएका जार थोत्रा, कुच्चिएका, मिति नटाँसिएका, दुई/तीन वटा स्टिकर टाँसिएका समेत देख्न पाइन्छ ।
पानी उत्पादक कम्पनीले प्रशोधन गरेर आफूहरूले पानी सिधै पिउनयोग्य बनाएको दाबी गर्छन् । अहिले उपत्यकामा घरभित्र मात्र होइन, चिया पसलदेखि ठूला तारे होटलमा जारकै पानी प्रयोग हुँदै आएको छ । उपभोक्ताले पनि जारको पानी ढुक्क भएर पिउने गरेका छन् ।
तर, यस्ता जारका पानीमा उद्योगको लापरबाहीका कारण बेलाबेला फोहोर, लेउ, किरो भेटिने गर्छ । उपभोक्तासम्म आइपुगेका पिउने पानीका जार राम्रोसँग सिल नभएको, जारलाई टेपले टालेर ल्याइएको पनि भेटिन्छ ।
पानी उद्योगीहरूले लगातार सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गरिरहँदा सरकार भने सामान्य अनुगमनमा मात्रै सीमित छ ।
अनुगमनको मुख्य जिम्मेवारी पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत साउन, भदौ र असोज महिनामा बजार अनुगमन गरेको थियो । विभागले बजारमा पानीको अनुगमन गर्दा हरेक पटक केही न केही कैफियत भेटेको थियो ।
असोजमा खाद्यको अनुगमन टोली काठमाडौं टोखामा रहेको ग्रिनल्यान्ड मिनरल वाटर एन्ड बेभरेज प्रालि, रियल माउन्ट एभरेस्ट बेभेरज प्रालि, शरण मिनरल वाटर एन्ड बेभरेज प्रालि र सिटीवाटर एन्ड बेभरेज प्रालि पुगेको थियो ।
अनुगमन क्रममा यी उद्योगले सरसफाइमा ध्यान नदिएको, अनुमतिपत्र नवीकरण नगरेको, फोहोर र कुच्चिएका जार भेटिएको थियो ।
पानी उद्योगहरूमा यस्ता कैफियत भेटिँदा पनि अनुगमन टोलीले कुच्चिएको जार नष्ट गरेर सोही अनुसार निर्देशन मात्रै दिएर त्यसै छाडिदिएको थियो ।

पानी गुणस्तरमा सम्झौता गरिएका उदाहरण बग्रेल्ती
२५ साउन २०८१ मा काठमाडौं अनामनगरस्थित किम्ची फास्टफुड एन्ड तन्दुरी रेस्टुरेन्टमा सिटी मिनरल वाटर एन्ड बेभरेज प्रालिले उत्पादन गरेको पानीको बोतलमा जिउँदो किरो भेटियो ।
काठमाडौं महानगरपालिकाका उपमेयर तथा अनुगमन समिति संयोजक समेत रहेकी सुनिता डंगोल उपस्थित कार्यक्रममा सहभागीलाई उक्त कम्पनीको पानी किम्ची रेस्टुरेन्टको लोगो टाँसेर वितरण गरिएको थियो । किरो परेको पानी भेटिएपछि महानगरले किम्चीलाई २ लाख रुपैयाँ जरिबाना तिराएको थियो ।
यतिमात्र होइन, काठमाडौं महानगरले पानीमा ‘फिकल कोलिफर्म’ भेटिएपछि विभिन्न ११ ब्रान्डका पानी बेच्ने कम्पनीको बिक्रीमा नै रोक लगाएर भदौ अन्तिम साता जनही २ लाख रुपैयाँ जरिबाना तिराएको थियो ।
महानगरले १२ देखि २८ भदौसम्म २१ कम्पनीका पानीको नमुना संकलन गरी परीक्षण गरेको थियो । तीमध्ये ११ कम्पनीको पानीमा कोलिफर्म भेटिएको थियो ।
महानगरका अनुसार फ्रेस ड्रप पानीमा फिकल कोलिफर्मको मान २३ ‘कोलोनी फर्मिङ युनिट’ (सीएफयू) देखिएको थियो । यो पानी टोखा नगरपालिका–८ स्थित पञ्चरत्न ग्रुपले उत्पादन गर्छ । त्यस्तै टोखा–८ को पिस स्प्रिङ वाटरको अक्वा पिसमा ८० र टोखाकै अक्वा एसएनएस बेभरेजको अक्वा टोखाको पानीमा ३० सीएफयू देखिएको थियो ।
यसैगरी कागेश्वरी मनोहरामा सञ्चालित उत्तरवाहिनी फुड एन्ड बेभरेजले उत्पादन गर्ने कोलभोतेश्वर ब्रान्डको पानीमा फिकल कोलिफर्मको मान ११६ सीएफयू देखिएको थियो ।
तीबाहेक गोकर्णेश्वरमा रहेको अक्वा सुन्दरी उद्योगको अक्वा डीबी, कागेश्वरी मनोहरा–६ को स्नो क्युब ड्रिंकिङ वाटरको अक्वा र गोकर्णेश्वरकै स्तूपा इन्डस्ट्रीका क्युब प्रोसेस ड्रिंकिङ वाटर बिक्री वितरणमा महानगरले रोक लगाएको छ ।
त्यस्तै बूढानीलकण्ठ कपनमा रहेको एमके मिनरल वाटर उद्योगले उत्पादन गर्ने अक्वा कपनमा फिकल कोलिफर्म मान ४ भेटिएको थियो । गोकर्णेश्वरको कोशी मिनरल उद्योगको अक्वा गौरीशंकरमा ३०० भन्दा धेरै सीएफयू भेटिएको थियो ।
काठमाडौं महानगरपालिकाले पनि पछिल्लो समय पानीमा धेरै गुनासो नआएकाले त्यति धेरै अनुगमन नगरेको जानकारी दिएको छ ।
महानगरको कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेले अहिले पानी सम्बन्धी गुनासो कम भएकाले अनुगमन नगरिएको बताए । चैत लागेपछि पानी अनुगमन तीव्र पारिने उनको भनाइ छ ।
‘अहिले जाडो महिनामा पानीसम्बन्धी उजुरी कम आएको छ, चैत लागेपछि पानीजन्य समस्या धेरै देखिन्छ, त्यतिबेला हामी अनुगमन तीव्र पार्छौं,’ उनले भने, ‘अहिले होटल तथा रेस्टुरेन्टमा अनुगमन भइरहेको छ ।’
पानीको गुणस्तरमा बारम्बार प्रश्न
सरकारी अनुज्ञापत्र लिएर काठमाडौं उपत्याकामा मात्र जार र बोतलको पानी उत्पादन गर्ने ३ सय हाराहारी कम्पनी छन् । तिनले दिनहुँ लाखौं लिटर खानेपानी जार र बोतलमा राखेर बजारमा बेचिरहेका हुन्छन् । तर, उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष जोडिने खानेपानी जस्तो संवेदनशील पेयमा गुणस्तरबारे बारम्बार प्रश्न आइरहेको पाइन्छ ।
सरकारदेखि स्थानीय निकायसम्मले यस्ता खानेपानी उत्पादक उद्योगहरूमा विशेषगरी चाडबाडका बेला अनुगमन र गुणस्तर परीक्षण गर्ने गर्छन् ।
तर, चाडबाडका बेलामात्र हुने अनुगमनले पानी उद्योगहरूलाई गुणस्तर पालनामा छुट दिइएको सन्देश गइरहेको उपभोक्ताहरूको गुनासो छ ।
कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जार तथा बोतलका खानेपानी उद्योगहरूको गुणस्तर अनुगमन गर्ने गरेको छ ।
तर विडम्बना, पछिल्लो ५ महिनादेखि विभागले जार र बोतलका पानीमा एक पटक पनि अनुगमन गरेको छैन । यसबाट उपभोक्ताको स्वाथ्यमा प्रत्यक्ष जोडिने विषयमा सरकार कतिविधि मौन बस्छ भन्ने प्रष्ट हुन्छ ।
विभागले गएको असोज तेस्रो सातादेखि फागुन तेस्रो सातासम्म जार तथा बोतलको खानेपानी अनुगमन नगरेको भेटिएको हो ।
तर, विभागका उपमहानिर्देशक सोमकान्त रिजाल गर्मी सुरु भएपछि पानीको अनुगमन दैनिक सुरु गरिने दाबी गर्छन् । उनका अनुसार अहिले पनि दैनिक अनुगमन भइरहेको छ ।
प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिकामा खानेपानी तथा बोटलिङ उत्पादनका लागि कम्पनीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा त्यस मातहत कार्यालयबाट अनिवार्य रूपमा अनुज्ञापत्र लिनुपर्ने व्यवस्था गरिएको छ ।
विभागको तथ्यांक अनुसार विभागबाट अनुज्ञापत्र लिएर सञ्चालनमा आएका पानी उत्पादक कम्पनी ३ सय हाराहारी छन् ।
यस्तो छ खानेपानीको गुणस्तर मापदण्ड
सरकारले पिउने पानीका लागि भौतिक, जैविक र रासायनिक गरी तीन मापदण्ड निर्धारण गरेको छ । भौतिकमा पानी धमिलो हुन नहुने, पानीमा स्वाद, रङ र गन्ध हुन नहुने उल्लेख छ ।
त्यस्तै जैविक मापदण्डमा रोग जन्माउने किटाणु र कोलिफर्म हुन नहुने र रासायनिकमा मात्रा मिलेको अत्यावश्यक खनिज तत्व हुनुपर्ने भनिएको छ ।
पानी उद्योगले मापदण्ड पालना गरेका छन् : विभाग
विभागका उपमहानिर्देशक रिजालका अनुसार पानी उद्योगहरूले मापदण्ड अनुसार नै पानी उत्पादन गरिरहेका छन् । तर, समस्या भने पानी भर्ने जारमा देखिएको छ ।
वर्षायामका बेला पानी उद्योग बाढी पस्ने हुँदा त्यतिबेला धेरै समस्या देखिने उनी बताउँछन् ।
‘सबै उद्योगको पानीमा लापरबाही भेटिँदैन,’ उपमहानिर्देशक रिजालले अनलाइनखबरसँग भने, ‘केही कम्पनीले पुराना र कुच्चिएका जारबाट पानी बिक्री गर्दा त्यसमा कोलिफर्मका जिवाणु भेटिएका हुन् ।’
विभागले पानीको नमुना परीक्षण गर्दा धेरैजसो जारको पानीमा कोलिफर्म भेटिने गरेको छ । पानीको जार प्रयोगमा सरसफाइ नभएकै कारण कैफियत भेटिने गरेको रिजाल बताउँछन् । बोतलको पानीभन्दा पनि जारकै पानीमा बढी समस्या देखिएको उनको भनाइ छ ।
‘एउटा कम्पनीको जार दोस्रो, तेस्रो कम्पनीले पनि प्रयोग गरिरहेका हुन्छन्, धेरै प्रयोग गरिएको जार पुरानो हुँदै जाँदा कोतरिने, कुच्चिने हुन्छ ,’ उनी भन्छन्, ‘कोतरिएको र कुच्चिएको जार राम्रोसँग सफा नहुने हुँदा त्यसमा रोगका जिवाणुहरू भेटिन्छन् र त्यसबाटै पानीजन्य रोगहरू फैलिन्छन् । विदेशतिर एक पटक प्रयोग गरेका जार पुनः प्रयोग हुँदैनन् । हाम्रोमा थोत्रो हुँदासम्म प्रयोगमा आउने हुँदा धेरै समस्या देखिएको छ ।’
उप–महानिर्देशक रिजाल कहिलेकाहीँ काम गर्दा उद्योगीमा विभिन्न समस्या आउने भएकाले त्यसमा सुधार गर्ने मौका पनि दिइने बताउँछन् ।
‘जबसम्म उद्योगीहरूले उत्पादन गरेको खाद्यवस्तुले स्वास्थ्यमा समस्या देखिने अवस्था आउँदैन, तबसम्म कारबाही नै गर्नुपर्ने अवस्था रहँदैन,’ रिजालले भने, ‘सामान्य त्रुटिहरू सुधार गर्ने मौका उहाँहरूलाई हुन्छ, हामीले लाइसेन्स दिँदा नै मापदण्डमा बस्ने अवस्था सिर्जना गरेर दिएका हुन्छौं ।’
जार र बोतलमा गुणस्तरहीन पानी बेचेर उपभोक्ताको स्वास्थ्यमा खेलबाड
उपभोक्ता अधिकारकर्मीहरू जार र बोतलमा गुणस्तरहीन पानी बेचेर उपभोक्ताको स्वास्थ्यमाथि ठाडै खेलबाड गरिएको बताउँछन् ।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना काठमाडौं उपत्यकामा अधिकांश जार र बोतलको पानी गुणस्तरहीन हुने गरेको र त्यही बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरिएको दाबी गर्छन् ।
‘उपत्यकाभित्र सञ्चालन भएका अधिकांश पानी उद्योगका जार र बोलतका पानी गुणस्तरहीन भएको तथ्य खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको र विभिन्न स्थानीय निकायले गरेको अनुगमनले पनि प्रमाणित गरेको छ,’ तिमिल्सिनाले अनलाइनखबरसँग भने, ‘यो त हामी सबैले भोगेकै कुरा हो, बजारमा आउने अधिकांश जार पुराना, कुच्चिएका छन्, पानी खान घिन लाग्ने भाँडामा पानी बेचिएको छ । गुणस्तर कायम गर्ने कुनै प्रक्रिया अपनाइएको छैन ।’
उपत्यकामा बाध्यात्मक रूपमा जार र बोतलको पानी खानुपर्ने अवस्था रहेको उनी बताउँछन् । ‘आम उपभोक्ताको मजबुरीमाथि उद्योगी–व्यवसायीहरूले खेलेर उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर असर पर्ने खालका खानेपानी वितरण भइरहेको छ,’ उनी भन्छन्, ‘सम्बन्धित निकायले सबै कुरा थाहा पाएर पनि कारबाही नगर्दा यस्ता कैफियतहरू बारम्बार दोहोरिएका हुन् ।’
खानेपानी जस्तो अत्यन्त संवेदनशील विषयमा सरकारको अनुगमन मौसमी भएको उनी बताउँछन् ।
‘अब गर्मी महिना सुरु हुन लाग्यो, गर्मीमा पानीकै कारणले आउँ, झाडापखाला जस्ता विभिन्न प्रकारका रोगहरू देखा पर्छन्,’ उनी भन्छन्, ‘यसलाई नियन्त्रण र नियमन गर्नुपर्ने दायित्व खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको हो, पछिल्लो समय अनुगमन एकाधभन्दा बाहेक शून्य छ ।’
विभागले खानेपानी मापदण्ड पूरा नगरेका पानी कम्पनीलाई निर्वाध रूपमा चल्न दिएको तिमिल्सिनाको आरोप छ ।

काठमाडौं उपत्यकामा खानेपानी बाँड्ने केयूकेएल के भन्छ ?
संघीय राजधानी काठमाडौं उपत्यकामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी वितरण गर्दै आइरहेको छ ।
केयूकेएलका प्रवक्ता प्रकाशकुमार राई काठमाडौं उपत्यकामा दैनिक ४३ देखि ४७ करोड लिटर पानी आवश्यक पर्ने बताउँछन् ।
‘हाम्रो अनुमानमा एक जना व्यक्तिले एक दिनमा १ सय लिटरदेखि १ सय ५० लिटर पानी प्रयोग गर्छ,’ प्रवक्ता राई भन्छन्, ‘जनसंख्याका आधारमा अहिले काठमाडौं उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग भएको हाम्रो अनुमान छ ।’

उनका अनुसार केयूकेएलले उपत्यकामा दैनिक १६ करोड लिटरमात्र आपूर्ति गर्न सकेको छ । केयूकेएलले आपूर्ति गर्न नसकेको पानी ट्यांकर, जार, बोतल, इनार, बोरिङ लगायत स्रोतबाट आपूर्ति हुन्छ ।
उपत्यकामा पिउने पानी प्रशोधित (जारको पानी) ले सबैभन्दा बढी हिस्सा ओगटेको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौंको मात्रै कुरा गर्ने हो भने यहाँको जनसंख्या २० लाख ४१ हजार ५ सय ८७ छ । यस हिसाबले पनि काठमाडौंमा जारको पानी धेरै मात्रामा खपत हुन्छ ।
नेपाल बोटल वाटर इन्डस्ट्रिज एसोसिएसनको अनुमानमा काठमाडौं उपत्यकामा दैनिक डेढदेखि दुई लाख गोटा पानीको जार बिक्री हुन्छ । काठमाडौं उपत्यकामा बोतल पानीको अधिकतम खुद्रा मूल्य प्रतिलिटर १६ रुपैयाँ पछै भने २० लिटर जारको पानीको ४७ रुपैयाँ पर्छ ।

गुणस्तर मिचेका छैनौं : पानी व्यवसायी
प्रशोधित पानी उत्पादन गर्ने व्यवसायीहरूको संगठन नेपाल बोटल वाटर इन्डस्ट्रिज एसोसिएसन आफूहरूले उत्पादन गर्ने पानीको गुणस्तरमा कुनै किसिमको खोट नभएको दाबी गर्छ ।
एसोसिएसन महासचिव गोकुलबहादुर थापा आफैंले पनि प्रयोग गर्ने खानेपानीमा गुणस्तरसँग कुनै पनि किसिमको सम्झौता नगरिएको बताउँछन् ।
‘पानीमा क्वालिटी (गुणस्तर) को विषयमा कुनै सम्झौता हुँदैन,’ उनी भन्छन्, ‘हामीले उत्पादन गर्ने पानी गुणस्तरीय हुँदाहुँदै अनुगमन र परीक्षण गर्ने संस्थाले बजारबाट पानी संकलन गर्छन् र ती पानीमा कैफियत भेटिए उद्योगलाई नै कारबाही गर्छन्, यसले हामीलाई नै समस्या पार्ने गरेको छ ।’
उनी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निर्देशिका बमोजिम नै आफूहरूले पानी उत्पादन गरेर बजार पठाएको दाबी गर्छन् ।
उनका अनुसार काठमाडौं उपत्यकाभित्र करिब २ सय पानी उद्योग सञ्चालनमा छन् ।
तस्वीरहरू : चन्द्र आले/अनलाइनखबर
 
                









 
                     
                                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4