Comments Add Comment

राजावादीको प्रदर्शनप्रति गृह प्रशासन लचिलो

राप्रपा नेता लिङ्देन भन्छन् – हस्तक्षेप स्वीकार्य हुन्न

२० मंसिर, काठमाडौं । राजतन्त्रको पक्षमा देशभर प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले भिडभाड र जुलुस गर्न नदिन भन्दै बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दियो । लगत्तै जिप्रकाहरुले पनि सूचना निकाले ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले १६ मंसिरमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको सूचना प्राप्त हुन आएको र ….यस्ता भिडभाडजन्य गतिविधिहरु नगर्न नगराउन साथै महामारी रोकथामा सहयोग पुर्याउन सबैमा अनुरोध गरिन्छ ।’

त्यसको दुई दिनपछि १८ गते जिप्रका, काठमाडौंले अर्को विज्ञप्तिमा भने केही नरम भाषा प्रयोग भएको छ । राजनीतिक वा गैरराजनीतिक केही नभनि कोरोना संक्रमणको अवस्थालाई धेरै मासिसहरु भेला/जम्मा हुने र जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन हुने खालका सभा सम्मेललन तथा भिडभाड हुने क्रियाकलापहरु हुन/गर्न नदिन उपत्यकावासीलाई अनुरोध गरिएको छ ।

स्रोतका अनुसार राजावादीहरुको प्रदर्शनलाई लिएर गृहको रणनीतिमा केही फेरबदल भएको छ । यसअघि शनिबार हुने भनिएको राजवादीहरुको प्रदर्शनलाई तितरवितर पार्न तयारी थियो, तर अब शान्तिपूर्ण प्रदर्शनमा अवरोध हुने छैन ।

राजवादीहरुको प्रदर्शन रोक्न सर्कुलर गर्दा नै सरकार आलोचित भएको थियो । पछिल्लो पटक पुल उद्घाटन गर्न तनहुँ पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि धरपकड गरेपछि विपक्षी दल पनि सरकारमाथि खनिएको छ ।

शनिबार प्रदर्शनमा बल प्रयोग गरे सरकार थप आलोचित हुने विश्लेषणका आधारमा गृह मन्त्रालयले राजावादीहरुको प्रदर्शनको निगरानी मात्र गर्नु भन्ने निर्देशन दिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार हिन्दुराष्ट्रसहितको राजसंस्थाको पुनर्स्थापना र संघीयता खारेजीको माग गर्दै देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भने लोकतन्त्रमा सभा, जुलुस गर्ने छुट भए पनि हालको परिस्थितिलाई मध्यनजर गरेर भिडभाड हुने गरी सभाजुलुस नगरिदिन आग्रह गरिएको बताए । ‘यो उहाँहरुकै सुरक्षाका लागि पनि भनिएको कुरा हो, सकेसम्म प्रशासनको आग्रहलाई मानिदिनु हुनेछ भन्ने अपेक्षा छ’, पराजुलीले अनलाइनखबरसँग भने ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता बसन्तबहादुर कुँवरले प्रदर्शनमा निस्किँदा कोरोना भाइरसलाई मध्यनजर गरेर सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरेका छन् । ‘प्रहरीले तालुक मन्त्रालयबाट प्राप्त निर्देशन कार्यान्वयन गराउने हो, त्यही अनुसार तयारी गरिएका छन्’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरले भने, ‘स्थान अनुसार त्यहीँका कमाण्डरहरुले प्रशासन र प्रदर्शन गर्ने पक्षसँग पनि समन्वय गरिरहेका छन् ।’

राप्रपा नेता भन्छन् – शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप स्वीकारिन्नँ

प्रदर्शन घोषणा गरेको राप्रपाका नेता राजेन्द्र लिङ्देनले भने शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । ‘हाम्रो संघर्ष शान्तिपूर्ण छ, कुनै तोडफोड वा अहिंसात्मक गतिवधि वा गालीगलौज गर्ने कार्यक्रम छैनन् । यसलाई दमन गर्ने चेष्ट भयो भने त्यहीँबाट जनसंघर्ष सुरु हुन्छ,’ उनले भनेका छन् ।

झापाबाट निर्वाचित सांसद लिङ्देनले आफ्नो जिल्ला प्रशासनसँग समन्वय गरेको र रुटसमेत निर्धारण गरिदिएकाले समस्या नहुने बताए । अन्य जिल्लाको हकमा पनि प्रशासनसँग तनाव नहोस् भनेर आग्रह गरेको उनले बताए । ‘सरकारले पनि राजसंस्था र हिन्दुराष्ट्रको माग राख्न नपाइने भनेको होइन, महामारीको समयलाई लिएर मात्र प्रश्न उठाइएको हो’, लिङ्देनले भने, ‘यसतर्फ हामी सचेत छौं, स्वास्थ्यका सम्पूर्ण मापदण्डहरु पालना गरिनेछन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment