Comments Add Comment

म्याराडोनाको सम्मानमा नापोलीको स्टेडियमको नाम परिवर्तन

२० मंसिर, काठमाडौं । इटालियन क्लब नापोलीले आफ्नो स्टेडियमको नाम क्लब लेजेण्ड डिएगो म्याराडोनाको नामबाट राखेको छ । नापोलीले केही दिनअघि निधन भएको म्याराडोनाको सम्मानमा स्टेडियममको नाम परिवर्तन गरेको हो ।

अर्जेन्टिनाका पूर्व अट्याकिङ मिडफिल्डर कप्तान तथा प्रशिक्षक म्याराडोनाको निधन ६० वर्षको उमेरमा नोभेम्बर २५ मा भएको हो । उनले नापोलीलाई सन् १९८७ र १९९० मा दुई पटक सिरी ए उपाधि जिताएका थिए । म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले सन् १९८६ मा विश्वकपको उपाधि जितेको थियो ।

यसअघि स्टाडियो सान पाउलो नाम रहेको स्टेडियममको नाम परिवर्तन गरेर अब स्टाडियफ डिएगो अर्मान्डो म्याराडोना राखिएको छ । नापोली सिटी काउन्सिलको नाम परिवर्तन गर्न सहमति दिएपछि आधिकारिक रुपमा स्टेडियममको नाम म्याराडोनासंग जोडिएको हो ।

नापोलीको मालिक आरेलियो डे लायरेटिसले म्याराडोनाको निधनपछि खुला पत्र लेख्दै स्टेडियमको नाम परिवर्तन गर्नुपर्ने बताएका थिए भने नेपल्सका मेयर लुइगी डे मागिस्ट्रिसले पनि उक्त प्रस्तावलाई समर्थन गरेका थिए ।

म्याराडोना सन् १९८४ मा स्पानिस क्लब बार्सिलोनाबाट नापोली पुगेका थिए जहाँ उनले ७ वर्ष बिताए । त्यसक्रममा दुई पटक सिरी ए का साथै १९८७ मा कोपा इटालिया र १९८९ मा युइएफए कप समेत दिलाएका थिए ।

गत २५ नोभेम्बरमा म्याराडोनाको हृदयघातबाट मृत्यु भएपछि युरोपा लिग अन्तर्गत रिजेका विरुद्धको खेलमा फ्यान स्टेडियम बाहिर जम्मा भएर उनलाई श्रद्धान्जली व्यक्त गरेका थिए । यस्तै खेलअघि नापोलीका हरेक खेलाडीले ‘म्याराडोना १०’ लेखेको जर्सी लगाएर सम्मान देखाएका थिए ।

विश्व फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडीको रुपमा परिचित म्याराडोनाले नापोलीका लागि १८८ खेल खेल्दै ८१ गोल गरेका थिए ।

म्याराडोनाले अर्जेन्टिनाका लागि चार पटक विश्वकप खेले । मेक्सिकोमा भएको सन् १९८६ को विश्वकपमा म्याराडोनाकै कप्तानीमा अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो । तर त्यहाँ क्वाटरफाइनलमा इंग्ल्याण्डविरुद्ध उनले गरेको ह्याण्ड अफ गड र गोल अफ सेन्चुरी सधैँ चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ऊ… ऊ… सगरमाथा !

Advertisment