Comments Add Comment

बजेट कार्यान्वयनलाई तीव्रता दिन मुख्यमन्त्री शाहीको निर्देशन

२१ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शतप्रतिशत बजेट कार्यान्वयन गर्नेगरी काम गर्न निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालयहरुको चौमासिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले फिल्डमै पुगेर बजेट कार्यान्वयनलाई तीव्रता दिन निर्देशन दिएका हुन् ।

बजेट कार्यान्वयनसँग सम्बन्धित धेरै समस्या समाधान भएको बताउँदै मुख्यमन्त्री शाहीले चालु आर्थिक वर्षको प्रगति उदाहरणीय हुनुपर्ने बताए । ‘कुनै बहानाबाजी नगर्नुहोस्,’ उनले भने, ‘बजेट कार्यान्वयनमा देखिएका समस्या सामाधान गर्न राजनीतिक र प्रशासनिक नेतृत्व एकपटक फिल्डमै पुग्नुपर्ने बेला आएको छ ।’

कार्यालयमा बसेर फाइलमा हस्ताक्षर गर्ने र निर्देशन मात्र दिने कार्यालय प्रमुखको कार्यशैलीसमेत सच्याउनुपर्ने उनको भनाइ थियो । ‘कार्यालय प्रमुख समेत कार्यक्षेत्रमा खटेर परिणाममुखी काम गर्नुपर्छ,’ शाहीले थपे ।

माग्ने र दिने प्रवृत्ति दिगो विकासको लागि घातक रहेको बताउँदै मुख्यमन्त्री शाहीले आवश्यकता र औचित्यका आधारमा मात्र योजना निर्माण गरिनुपर्नेमा जोड दिए ।

सम्पन्न गरिएका आयोजनाको समयमै भुक्तानी नदिँदा पनि चौमासिक प्रगति कमजोर देखिएको भन्दै मुख्यमन्त्री शाहीले भुक्तानी प्रक्रियालाई चुस्त राख्न समेत निर्देशन दिए ।

‘एकातिर काम सम्पन्न हुन्छ, अर्कोतिर सरकारी खातामा बजेट थुप्रिन्छ । यस्तो समस्या कहिले सम्म ? तत्काल अन्त्य गर्नुस,’ मुख्यमन्त्री शाहीले भने,‘भुक्तानी प्रक्रियालाई चुस्त नराख्दा प्रदेश सरकारप्रति नै अविश्वास पैदा भएको छ ।’

मुख्यमन्त्री शाहीले कागजी समिक्षा नभइ आत्मासमीक्षाको जरुरी भएको बताए । दोश्रो चौमासिक समीक्षामा प्रगति प्रतिवेदन संगै कार्यसम्पादन करार सम्झौता पनि बोकेर आउन निर्देशन दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment