Comments Add Comment

सिद्धबाबालाई सफाइ दिने न्यायाधीशमाथि ‘शंका’

२२ मंसिर, विराटनगर । अनुयायी महिलामाथि बलात्कार आरोपमा पूर्पक्षका लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ ।

सोमबार प्रतिवादीको एकपक्षीय बहसपछि जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने भन्दै गिरीलाई सफाइ दिएको हो ।

गिरीमाथि महिला अनुयायीलाई २०७६ कात्तिक ४ गते आफ्नै आश्रममा बलात्कार गरेको आरोप लगेको थियो । प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । प्रहरी हिरासतको अवधि विराट नर्सिङहोममा बिताएका उनलाई सुनसरीका तत्कालीन प्रमुख न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलालसले २०७६ पुस १४ गते तीन लाख धरौटीमा छाड्ने आदेश दियो ।

आदेशपछि आश्रम फर्किएका गिरी उच्च अदालत विराटनगरले जिल्लाको आदेश उल्टाएकै दिन ९ माघमा भारत प्रवेश गरे । उच्च अदालतको आदेशको ४० दिनपछि सुटुक्क हाजिर भएका गिरी पूर्पक्षका लागि झुम्का कारागार चलान भएका थिए ।

कारागारबाटै उनले साधारण तारेखमा पूर्पक्षका लागि सर्वाेच्च अदालतमा निवेदन दिए । तर सर्वाेच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालतको आदेश सदर गर्‍यो । त्यसको दश दिनपछि जिल्ला अदालतले सफाइ दिएको हो ।

जिल्ला  सरकारी वकिलको कार्यालय, सुनसरीले मुद्दाको मिसिल महान्यायाधिवक्ताको कार्यालय काठमाडौंबाट आइनपुगेको भन्दै पेसी सार्न निवेदन दिएको थियो ।

तर निवेदन दर्ता भएन र एकतर्फी बहससँगै सिद्धबाबालाई सफाइ दिने फैसला सुनाइएको छ । ‘नेपाल सरकारले लिएको अभियोग दाबी नपुग्ने हुँदा सफाइ पाउने फैसला भएको छ’ श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेलले भने, ‘फैसलाको पूर्ण पाठ भने आइसकेको छैन ।’

एकलौटी बहस, न्यायाधीशमाथि शंका

जिल्ला न्यायाधिवक्ता गोकुल निरौलाका अनुसार सिद्धबाबालाई पुर्पक्षका लागि थुनामा राख्ने वा नराख्ने भन्ने विवाद सर्वाेञ्च अदालत पुगेकाले कार्यालयसँग भएको मिसिल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्याधिवक्ताको कार्यालयमा पठाइएको थियो ।

सर्वोच्चले उनलाई थुनामा राख्ने आदेश दिएपछि उक्त मुद्धाको मिसिल महान्यायाधिवक्ता कार्यालय काठमाडौंबाट सुनसरीस्थित जिल्ला सरकारी वकिल कार्यालय आइनपुगेका कारण सोमबारको पेसी सार्न अनुरोध गरिएको थियो ।

‘अहिले पनि मिसिल आइपुगेको छैन । मिसिल नभई बहसमा जान मिल्दैन’ उनले भने, ‘हामीले कारणसहित पेसी सार्न पत्र पठाएका थियौं । तर नियोजित रुपमा निवेदन दर्ता भएन । एकपक्षीय बहसपछि आदेश फैसला भएछ ।’

जिल्ला अदालतको त्रु टीपूर्ण भएकाले उच्च अदालतमा पुनरावेदन गर्ने उनले बताए । कारणसहित पहिलो पटक पेसी सार्न अनुरोध गर्दा पनि सुनुवाइ नभएको भन्दै उनले न्यायाधीशको नियतमा शंका गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

न्यायाधीश कोइराला जिल्ला अदालत, लतिलपुर रहँदा पनि जग्गा विवादमा मुछिएका थिए ।

सिद्धबाबाको मुद्दामा पनि बलात्कारमा संलग्नता स्वीकार गरेको अडियो रेकर्ड सार्वजनिक भएको थियो । ‘बलात्कारको घटनामा पीडित बाहिर आउनु नै ठूलो प्रमाण हो’ सुनसरीमा कार्यरत एक कानुन व्यावसायी भन्छन् ‘सिद्धबाबाको मुद्दामा अडियो रेकर्ड र अन्य प्रमाण छन्, तर सफाइ दिएकाले फैसला शंकाको घेरामा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment