Comments Add Comment

श्रीयन्त्रको विज्ञान : ४५ त्रिकोणको अर्थ के हो ?

काठमाडौं । तान्त्रिक एवं धार्मिक महत्वको श्रीयन्त्र हिन्दुहरुको एउटा पवित्रताको प्रतीक पनि हो । पशुपतिमा सबैभन्दा पहिले पूजा गरिने श्रीयन्त्र होस् या केही समयअघिसम्म सर्वाेच्चमा न्यायदिनेबेलामा साक्षी राखिने श्रीयन्त्र होस् यी सबै धार्मिक एवं तान्त्रिक हिसाबले महत्वपूर्ण मानिन्छ ।

श्रीयन्त्र हिन्दु सम्पद्रायको मुख्य देवता एवं अवतारहरूलाई जनाउने एउटा इन्जिनियरिङ पनि हो । श्रीयन्त्रलाई साक्षी राखेर न्याय सम्पादन गर्दा कसैले अन्यायपूर्ण हिसाबले फैसला ग¥यो भने ऊ भष्म हुन्छ भन्ने मान्यताका कारण तत्कालीन प्रधानन्यायाधीश हरिप्रसाद प्रधानको पालामा सर्वाेच्च अदालतमा सते श्रीयन्त्र राख्ने गरिएको थियो ।

अर्काेतर्फ श्रीयन्त्र लक्ष्मीको प्रिय डिजाइन पनि हो । श्रीयन्त्रको महत्व र विशेषताबारे एक मत नभए पनि सबैले हिन्दु देवता, अवतार र दश महाविद्या जस्ता महत्वपूर्ण विषयलाई समेटेर तयार पारिएको ज्यामितीय स्वरुपको रुपमा श्रीयन्त्रलाई चिन्ने गर्छन् ।

पौराणिक किंवदन्ती अनुसार एकदिन धर्तीवासीसँग रिसाएर श्रीलक्ष्मी रिसाएर बैकुण्ठ गएर बसिन् । लक्ष्मी धर्तीमा नहुँदा धर्तीवासीमा ठूलो संकट आएपछि गुरु वृहस्पतिले श्रीयन्त्र बनाएर लक्ष्मीलाई धर्तीमा आमन्त्रण गरेको भन्ने किंवदन्ती छ । श्रीयन्त्रको सिद्धि आठौं शताब्दीका आदि शंकराचार्यले गरेका थिए भन्ने मान्यता राखिन्छ । पौराणिक किंवदन्ती अनुसार जसको घरमा सिद्ध श्रीयन्त्र राखिन्छ सो घरमा कहिलै आर्थिक संकट हुँदैन र अन्यायको भागेदार पनि बन्नु पर्दैन भन्ने धार्मिक मान्यता छ ।

श्रीयन्त्रका विभिन्न कोणको प्रतीक के हो ?

श्रीयन्त्रमा जम्माजम्मी ४५ त्रिकोण रहेको हुन्छ । भगवान शिवको चार त्रिकोण र देवी पार्वतीको ५ त्रिकोण मिलाएर बनेको ९ त्रिकोणलाई सबैभन्दा भित्र राखेर कुल पैतालिस वटा त्रिकोण बनाइएको हुन्छ ।

यसमा रहेको ४५ त्रिकोणले हाम्रो शरीरमा रहेको धातुहरुलाई जनाउने गर्छ । सबैभन्दा बीचमा रहेको त्रिकोणले हरेक जीवनको कवच जीवात्मालाई जनाउने गर्छ ।

त्यसको बाहिर रहेको आठवटा त्रिकोणले अष्टवशु (आप, ध्रुव, सोम, धर, अनिल, अनल, प्रत्यूष र प्रभाष)लाई जनाउँछ ।

त्यसबाहिर रहेको १० त्रिकोणले दश अवतारहरू (मत्स्य, कुर्म, वराह, नरसिंह, वामन, परशुराम, राम, बलराम, बुद्ध र कल्की) लाई जनाउने गर्छ ।

त्यसबाहिरको १० त्रिकोणले दश महाविद्या (काली, तारा भगवती, ललित त्रिपुरासुन्दरी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धूमावती, बंगलामुखी, मातन्गी, कमला) लाई जनाउँछ ।

यसबाहिर रहेको १४ त्रिकोणले १४ मन्वन्तर अर्थात् ब्रह्माको एक दिन वा एक कल्पलाई जनाउने गर्छ । ७२ महायुगलाई जोडेर एक मन्वन्तर बन्ने गर्छ ।

त्यसबाहिर रहेको सर्पको चक्र छ त्यसलाई नागदल भन्ने गरिन्छ । त्यसको माथि १६ प्रकारको फूलमिलाएर बनाइएको एक चक्र छ । त्यसबाहिर तीन रेखाहरु छन् । यो हाम्रो छालाको तीन तह एक्टोडर, एन्ड्रोडन र मिजोडनलाई जनाउँछ ।

यसबाहिर चारवटा द्वारको लागि तीन तहको भित्ता बनाइएको हुन्छ । त्यसमा सदन त्रयञ्च अर्थात् तीन तहको भित्ताले स्थुल शरीर, सूक्ष्म शरीर र कारण शरीरलाई जनाउने गर्छ । यसले भूः भूवः स्वःलाई जनाउने गर्छ ।

यसमा रहेको चार द्वारको अर्थ यसभित्र छिरेपछि बाहिर निस्किनु असम्भव छ भन्ने हुन्छ । यही श्रीयन्त्रबाट नै संसारका सृष्टिकर्ता ब्रह्मा, स्थितिकर्ता विष्णु र संहारकर्ता शिवको जन्म यही श्रीयन्त्रबाट भएको भन्ने मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment