Comments Add Comment

अक्सफोर्डको कोरोना खोप भारतमा प्रयोगका लागि सेरमको आवेदन

Photo Credit : Reuters

२३ मंसिर, काठमाडौं । भारतको सेरम इन्स्टिच्युट अफ इन्डयाले अक्सफोर्ड युनिभर्सिटीले एक्स्ट्राजेनेकासँग मिलेर बनाएको कोरोना भाइरस (कोभिड–१९) खोप आपतकालीन प्रयोगका लागि स्वीकृति दिन आवेदन दिएको छ । सेरम विश्वको सबैभन्दा धेरै खोप उत्पादन गर्ने कम्पनी हो । कम्पनीका सीईओ अदर पूनावालाले सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् सेरम इन्स्टिच्युटले आफ्नो वाचाअनुसार सन् २०२० सकिनुभन्दा अगाडि नै आपतकालीन प्रयोगको स्वीकृतिको लागि आवेदन दिएको बताए ।

सेरमका सीईओ पूनावालाले यो खोपले असंख्य मानिसहरुको ज्यान बचाउने विश्वास व्यक्त गरे । यसअघि अमेरिकी कम्पनी फाइजरले पनि भारतमा आपतकालीन प्रयोगको स्वीकृति माग गर्दै आवेदन दिएको थियो । गत महिना अमेरिकी कम्पनीहरु फाइजर र मोडर्नाले आफ्नो खोप मानव परीक्षणको क्रममा ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेका थिए ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सेरम इन्स्टिच्युटले चारओटा क्लिनिकल परीक्षणको आधारमा भारतमा आपतकालीन प्रयोगको लागि आवेदन दिएको हो । चारमध्ये दुई परीक्षण बेलायत, एक ब्राजिल र एक परीक्षण भारतमा गरिएको थियो । गत साता भारतमा चलिरहेको परीक्षणको क्रममा एक स्वयंसेवकलाई नकारात्मक असर देखिएको समाचार सार्वजनिक भएकोमा भारत सरकारले खोपको परीक्षण रोक्नुपर्ने कुनै कारण नरहेको बताएको थियो । अहिले भारतमा यो खोपको तेस्रो चरणको परीक्षण चलिरहेको छ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment