Comments Add Comment

फोर्ब्सले सार्वजनिक गर्‍यो विश्वका शक्तिशाली महिलाको सूची, मर्केल पहिलो स्थानमा

२४ मंसिर, काठमाडौं । अमेरिकी समाचार संस्था फोर्ब्सले मंगलबार विश्वभरका सबैभन्दा शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । फोर्ब्सले १७ औं पटक विश्वका शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको हो । यसवर्षको शक्तिशाली महिलाहरुको सूचीमा जर्मन चान्सलर एन्जेला मर्केल शीर्ष स्थानमा छिन् । युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लागार्ड दोस्रो स्थानमा छिन् । तेस्रो स्थानमा अमेरिकाको उपराष्ट्रपतिका लागि निर्वाचित भएकी कमला ह्यारिस छिन् ।

फोर्ब्सका अनुसार सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि महिलाहरुले खेलेका भूमिकालाई शक्तिशाली महिलामा छनोटको आधार बनाइएको थियो ।

कोरोना महामारी नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेलेका महिलाहरुमा न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डन सूचीको ३२ औं स्थानमा छिन् । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिया ८५ औं स्थानमा छिन् । त्यस्तै ताइवानकी राष्ट्रपति साइ इङ–वेन ३७ औं स्थानमा छिन् । भारतीय अर्थमन्त्री निर्मला सितारमण पनि सूचीको ४१ औं स्थानमा छिन् । बिल एण्ड मेलिण्ड गेट्स फउण्डेशनकी संस्थापक मेलिण्डा गेट्स पाँचौं स्थानमा छिन् । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सकी सभामुख नेन्सी पेलोसी सातौं स्थानमा छिन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सूचीको ३९ औं स्थानमा छिन् । विश्वकी सबैभन्दा धनी महिला म्याकेन्जी स्कट सूचीको ६७ औं स्थानमा छिन् ।

फोर्ब्सको यस वर्षको शक्तिशाली एकसय महिलाहरु विश्वका विभिन्न ३० मुलुकका छन् । जसमा १० जना राष्ट्र प्रमुख छन् भने ३८ जना विभिन्न कम्पनीहरुको सीईओ छन् । यो सूचीमा मनोरञ्जन क्षेत्रका पाँचजना परेका छन् । त्यस्तै यस वर्ष यो सूचीमा १७ नयाँ महिला समावेश भएका छन् ।

स्रोत : फोर्ब्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment