Comments Add Comment

मेरो अंश र वंश छोरी

‘अब हामीले अर्को सन्तान नपाउने निर्णय गरेका छौं । छोरामा भन्दा छोरीमा बढी क्षमता हुन्छ भन्ने कुरा हामीमा अनुभव र विश्वास छ । त्यसैले हामी चाहन्छौं अंश, वंश र एउटा मानव भएर पाउनु पर्ने सम्पूर्ण अधिकार पाएर छोरी हुर्कोस् । उसले गर्न चाहने राजनीति, साहित्य र हरेक पेशा व्यवसायका सम्पूर्ण पूर्वाधार हामीले निर्माण गरिदिन सकौं । यो हाम्रो मात्र हैन, सबै नेपालीको रहर बनोस् ।’

साढे दुई वर्ष अगाडि जब मेरो फेसबुकमा यस्तो स्टाटस सार्वजनिक भयो । त्यसपछि मैलेभन्दा बढी दबाव मेरा श्रीमानले खेप्न पर्‍यो । छोरी साढे २ वर्ष पुगिन् । तर, छोरा नै चाहिने वा दोस्रो सन्तान हुन पर्ने कुरा सुनाउन अझै बन्द भएको छैन ।

तर, ती कुराले हाम्रो दिमागमा प्रवेश नै पाउँदैनन् । त्यसले मलाई असर गर्दैन । समाजमा चली आएको मान्यता र हामीलाई सुनाएका कुराहरु फेरि सुनाएर हामी छोरीलाई पुरानै समाज हस्तान्तरण गर्न चाहँदैनौं । त्यसैले हामी यी भनाइ र दबाव पछाडि छोड्न चाहन्छौं । चलिरहेको चलनमा परिवर्तन ल्याउनका लागि यी स्वभाविक प्रक्रिया हुन् भन्ने हामीले बुझेका छौं ।

हामी छोरीका लागि हर खुशी, अधिकार र सपनाका कुरा मात्र गर्दैनौं व्यवहारमै लागु गर्छौं । यो चलेको चलन हो । परिवर्तन हुन समय लाग्छ भन्दै म परिवर्तन अरुबाट होस् भनेर कुर्नेवाला छैन । समाजले के भन्छ भनेर सोच्नेवाला पनि छैन । आखिर समाज भनेको को हो ? हामी नै होइनौं र ?

किशोरी उमेरको जोशमा लाग्थ्यो संसार परिवर्तन हुनुपर्छ । चर्को भाषण गरेर परिवर्तन संभव छ । एक दशक बढीको पत्रकारितापछि थाहा भयो । परिवर्तन आफैंबाट सुरु गर्नु पर्छ । त्यसपछि केहीले देखेर सिक्छन् । केहीलाई भन्दा पनि आफ्नै उदाहरण काफी होस् । त्यसैले हामीले छोरीलाई पूर्ण सन्तान देख्यौं र उसैलाई आफ्नो अंश र वंशको उत्तराधिकारी घोषणा गर्‍यौं ।

हामीलाई यो अवसर प्राप्त भयो । सबैलाई नहुन पनि सक्छ । छोरी भएकै कारण आमाको किरिया बस्दा हामीलाई भाइ जाने थलोमा गएर पिण्ड दिनका लागि रोकियो । त्यो बहसमा बुवाले पण्डितलाई भन्नुभयो, ‘छोराछोरी बराबर भनेर एउटा छोरी पाएर बन्द गरेर बसेका छन् । उनीहरुलाई जान दिनुहोस् ।’

त्यसपछिको ठूलो बहसपछि हामी पिण्ड दिने काममा सहभागी भएका थियौं । छोरीलाई वंश मानेको कारण मैले आमालाई पिण्ड दिन पाएको जस्तो पनि अनुभव गरेँ । यसको कथा अर्कोपटक लेखौंला ।

यसपटक अंश र वंशको कुरा मात्र गरौं । जबसम्म तपाईं आर्थिकरुपमा सक्षम हुनुहुन्न तबसम्म परिवर्तन सम्भव छैन । अर्थसँग जोडियो छोरी जन्मेपछि उसलाई प्राप्त भएको दक्षिणा । धेरैले सल्लाह दिनुभयो । ‘बैंकमा या सहकारीमा जम्मा गर, वीमा गरिदेउ २१ वर्ष पुगेपछि विवाह गर्न र कलेज पढाउन पुग्छ । तिमी छोरीलाई खुत्रुके किनिदेउ।’

वचत गर्नु राम्रो हो । तर, खुत्रुकेमा खुम्चेको छोरीको अंशले उसले बनाउने योजना र देख्ने सपना के होलान् ? जब कि छोराका लागि यसो गरिँदैन । सम्पत्तिको हकवाला छोरा र खुत्रुकेको हकवाला छोरीले देख्ने सपना समान होलान् ?

‘घाँटी हेरेर हाड निल्नु’ धेरै यहि सुनाउँछन् । छोरीले खुत्रुकेको घाँटी हेरेर निल्ने हाड कत्रो होला ? छोरीले कस्ता योजना बनाउलान् त ? हाम्रा धेरै प्रतिभावान् छोरीले सम्पत्तिको कारण आफ्ना क्षमता मारेका छन् । म चाहन्छु, मेरी छोरीको क्षमता खुत्रुकेजस्तै सीमित नहोस् । त्यसैले मैले छोरीलाई खुत्रुकेको हकदार होइन, अंशको हकदार मानें ।

हामी लेख्छौं, राजनीति, व्यवसाय, साहित्य र पत्रकारितामा महिला आएनन् । आएका केहीलाई पनि टिक्न र टिकाउन गाह्रो छ । आउन र टिक्न किन गाह्रो छ ? हामी एकदम आदर्श, पारदर्शिता समतामूलक समाज र राजनीतिको कुरा गर्छौं । तर, एउटा वडाअध्यक्ष लड्नका लागि १ करोड खर्च लागेको समाचार हामीलाई सामान्य नै लाग्छ । १ करोड खर्च गर्न सक्ने सबैको क्षमता नहोला । तर, लाखौं खर्च गर्न पनि छोरीले कसरी सक्लान् ?

जबसम्म हामी हाम्रा छोरीलाई मानव मान्दैनौं, तबसम्म हामी पनि मानव होइनौं । त्यसैले आफू मानव बन्न छोरीलाई मानव बनेर बाँच्न दिऔं

राजनीति गर्न केही लाख खर्च गर्ने रकम छोरीले कहाँबाट ल्याउने ? त्यसका लागि हामीले उसलाई अंश दिएका छौं ? व्यवसाय छोरीका नाममा गरौं आम्दानी भइरहन्छ, छोरीले राजनीति गरोस् भनेर आफ्नो उत्तराधिकारी मानेका छौं ? अनि विकल्प नै नदेखेको बाटो कसरी रोज्छन् छोरीले ? जसले रोजेका छन् उनीहरुले आकाशको तारा झार्ने हिम्मत लिएर हिँडेकै हुन् । यो चानचुने कुरा होइन । म एउटा व्यवसाय गर्छु बाबा यो जग्गा या घर राखेर ऋणनिकालिदिनु न । मैले किताव निकाल्नु छ अलिकति पैसा दिनु न म किताव निस्केपछि तिर्छु जस्ता रहर लागेका काममा लगानी माग गर्न सक्छन् ? पत्रकारिता मेरो रहर हो, यति पैसामा नि म काम गर्छु । घर बनाउने दबाव छैन, मेरो पुर्खौली सम्पत्ति छ भनेर कतिजना छोरी टिक्छन् ?

अझ छोरा र छोरीका लागि सामान्य जागिरमा प्रतिस्पर्धा गर्नसमेत उनीहरुले प्राप्त गरेको शिक्षा र पाएको समय नै फरक छ । अनि हामीले हतियार बोकेको छोरा र हतियारविनाकी छोरीलाई एउटै लडाइँमा पठाएका छौं भने जित कसको हुन्छ ?

अझ जतिले निशस्त्र पनि लडाईं जितेर अर्को पुस्ताको बाटो बनाइदिएर हिम्मत भरेका छन् भने के उनीहरु छोराभन्दा बढी क्षमता भएका छोरी होइनन् ? त्यसैले छोरीमा समग्रमा बढी क्षमता छ । यो लेख पढिरहँदा तपाईं सोच्नुहोस् छोरासरह बनाउन तपाईंकी छोरीमा तपाईंले कति लगानी गर्नुभएको छ ? कति अवसर प्रदान गर्नुभएको छ ? आत्मबल कति जगाइदिनुभएको छ ? उनीहरु त अझै पनि एउटा मानव भएर हुर्कन पाउँ भनिरहेका छन् । यो भनेको महिला अधिकार होइन, मानव अधिकार हो । जबसम्म हामी हाम्रा छोरीलाई मानव मान्दैनौं, तबसम्म हामी पनि मानव होइनौं । त्यसैले आफू मानव बन्न छोरीलाई मानव बनेर बाँच्न दिऔं । त्यसका लागि अंश र वंश सन्तानलाई मानौं । छोरा या छोरीलाई होइन । दुवै उत्तिकै हकदार छन् ।

के हामीले छोरा पाउनका लागि जन्माएका धेरै छोरीको मानवअधिकारको बारे सोचेका छौं त ? अभिभावकले छोरा कुर्दा अनिच्छामा जन्मिएकै कारण छोरीले पोषिलो खाना पाएका छैनन् । राम्रो शिक्षा र अवसर पाएका छैनन् । अन्तमा बावुआमाको बोझ कम गर्न सानैमा विवाह गरेर जानु परेको छ । के हामीले आफ्ना छोरीमाथि अपराध गरेका छैनौं ?

हामी भन्छौं, ‘सन्तानको माया समान लाग्छ ।’ यो कसरी समान भयो ? हामीले झुट बोलिरहेका छौं । आफूले पाएको सन्तानको भविष्य सुनिश्चत गर्ने वातावरण बनाउन नसक्नु हाम्रो लाचारीपन मात्र हैन, उनीहरु माथि अन्याय हो । तपाईं सन्तान जति जन्माउन नि सक्नुहुन्छ । तर, छोराकै लागि विभेद नगरौं । छोरा होस् या छोरी, दुवै पूर्वाधार पाएर हुर्किउन् । हर सन्तानले भन्न सकून्, ‘मैले एउटा मानव भएर पाउन पर्ने सबै कुरा पाएकोले म यहाँ छु ।’

मैले एउटी छोरी पाएँ र उसलाई पूर्ण सन्तान देखेँ । यो मेरो व्यक्तिगत कुरा हो । हामीले हाम्री छोरीलाई बढी नै महत्व दिन्छौं, त्यसै कारण पनि हाम्रा आफन्त, साथी, शुभचिन्तक सबैले उत्तिकै महत्व दिएजस्तो लाग्छ । त्यसैले तपाईं पहिला आफ्नी छोरीलाई आफै महत्व दिनुहोस् । म मेरी छोरीलाई छोरीभन्दा पहिला मानव सम्झन्छु त्यसैले मेरो अंश र वंश छोरी हो भन्दा मलाई गर्व लाग्छ ।

आउनुहोस् छोरी पनि गर्व गरेर बाँच्न सक्ने समाज निर्माण गरौं । त्यसका लागि हामी सबैको जिम्मेवारी उत्तिकै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment