Comments Add Comment

कसरी बढ्छ हिमालको उचाइ ?

सगरमाथा तिब्बतको सिमाना नजिकै नेपालमा अवस्थित विश्वकै सर्वोच्च शिखर हो । जसको उचाइ हालसम्म ८,८४८ मिटर रहेकोमा अहिले बढेर यसको उचाइ ८,८४८.८६ मिटर पुगेको छ । यसलाई सर्वाेच्च शिखरका रुपमा कहिलेदेखि चिनाउन थालियो त ?

सन् १८५० को दशकसम्म पनि सगरमाथाको नाम विश्वका अग्ला पर्वतहरूको सूचीमा राखिँदैन’थ्यो । हिमालयका अग्ला शिखरहरुको खोजी र मापनगर्ने काम १९औं शताब्दीको सुरुवात सँगसँगै हुन थाल्यो ।

सन् १८०९ मा हिमालयको अग्लो शिखरको खोजीमा निस्केका डब्लू. एस. वेबले नेपालमा धवलागिरि हिमाल ८ हजार मिटरभन्दामाथिको उचाइमा रहेको रहस्योद्घाटन गरेका थिए । यस अर्थमा हिमालयका अग्ला पर्वतहरूमध्ये सबैभन्दा पहिले उचाइ नापिएको हिमाल धवलागिरि नै हो । जसको उचाइ ८,१७२ मिटर छ ।

त्यतिबेला सबैले धवलागिरिलाई नै संसारको अग्लो हिमालको रुपमा चिन्ने गरेका थिए । पछि सन् १८४८ मा कञ्चनजङ्घाको उचाइ नापेर यो हिमाल ८,५८६ मिटर अग्लो रहेको उल्लेख गरियो । त्यसपछि सबैले कञ्चनजङ्घालाई नै संसारको अग्लो चुचुरो मान्न थाले ।

सन् १८५२ तिर हिमालयका चुचुराहरूको उचाइ नयाँ आधुनिक यन्त्रको प्रयोगबाट मापन गरिरहेको भारतको सर्वे विभागको एउटा टोलीका सदस्यहरूमध्ये एक बङ्गाली नागरिक राधानाथ सिकन्दरले आफूले सर्वोच्च शिखर पत्ता लगाएको दाबी गरे । त्यसबेला उक्त विभागका सर्वे कर्मचारीहरूमध्ये राधानाथ सिकन्दर र नेपालका तेजवीर बुढाथोकीले पत्तालगाएको उक्त शिखरको नाम ‘पिक १५’ अर्थात् ‘शिखर नं. १५’ राखिएको थियो । तर, पछि सन् १८६५ (वि.सं. १९२१)मा अग्रज जर्ज एभरेस्टको स्मरणमा ‘शिखर नं. १५’ भन्ने नामलाई फेरेर ‘माउण्ट एभरेस्ट’ नाम राखियो ।

नेपालमा भने वि.सं २०१३ सालमा मात्र इतिहास–शिरोमणि बाबुराम आचार्यले उक्त पर्वतको नेपाली न्वारन गरी ‘सगरमाथा’नाम राखेका हुन् । यसरी सन् १८५२ मा आएर मात्र पहिलो पटक सगरमाथाको अस्तित्व पत्ता लागेको हो ।

सगरमाथाको भौगर्भिक इतिहास

हालै गरिएको पछिल्लो अध्ययनअनुसार सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको पाइएको छ । यसको कारण बुझ्न पहिले सगरमाथाको भौगर्भिक इतिहास बुझ्नुपर्ने हुन्छ । जो आफैंमा धेरै रोचक छ । सगरमाथाको भौगर्भिक इतिहासको जानकारीका लागि हामीसँग मुख्यतः दुईवटा आधारहरु छन् । पहिलो यसको भौगर्भिक बनावट र दोस्रो त्यहाँ पाइएका जीवावशेषहरु ।

सगरमाथाको चुचुरो वास्तवमा चुनाढुंगाबाट बनेको छ, जुन ढुंगा सागरहरूको पिँधमा मात्र बन्ने गर्छ । यसका साथै त्यस ढुंगा वा चट्टानहरु मा ट्रइलोबाइट र क्रिनोइड जस्ता अति प्राचीन समुद्री पुराजीवको अवशेषहरू पनि भेटिएका छन् । यी दुवै तथ्यहरूले सगरमाथाको चुचुरो समुद्रमुनि निर्माण भएको थियो भन्ने कुरालाई पुष्टि गर्छ । यसबाट सहजै अनुमान लगाउन सकिन्छ कि आजको विश्वको सर्वोच्च शिखर सगरमाथा कुनै समय समुद्रको पिँधमा थियो ।

सगरमाथाको चुचुरामा पाइएको जीवावशेषहरुलाई भू–वैज्ञानिकहरु ४० करोड वर्ष पुरानो मान्छन् र त्यसबेला अस्तित्वमा रहेका उक्त काल्पनिक सागरलाई ‘टेथिस सागर’ भन्ने गर्छन् । भू–वैज्ञानिकहरुका अनुसार ४० करोड वर्षअघि निर्माण भएको सगरमाथाको चट्टानहरु (चुन ढुंगा) करिब आजभन्दा ५ करोड वर्ष अघिसम्म पनि समुद्रमुनि नै थियो ।

त्यसपछि एकाएक सो भू–भाग सागरमुनिबाट उठेर क्रमिक रुपमा अग्लिदै गयो । तर सगरमाथाको उचाइ बढ्ने गति भने अरूको दाँजोमा अतिधिम्न गतिमा भइरहेको थियो । वि.सं. २०३४ सालमा चिनियाँ भूगर्भशास्त्रीहरूले गरेको सगरमाथा क्षेत्रको वैज्ञानिक अध्ययनअनुसार आजभन्दा १.५– एक करोड वर्षअघिसम्म सर्वोच्च शिखर सगरमाथाको उचाइ १००० मिटर मात्र थियो ।

यसरी ४० करोड वर्षको अन्तरालमा समुद्रको गहिराइमा निर्माण भएको सगरमाथा आज विश्वको सबैभन्दा अग्लो शिखरको रूपमा देखा परेको छ । यसको उचाइ निरन्तर बढ्ने क्रममा छ, यसको उचाइ बढ्दै जानुको पछाडि वैज्ञानिक कारण छ ।

सगरमाथाको उचाइ कसरी बढ्यो ?

सगरमाथा हिमायलमा भएको विभिन्न शिखरहरूमध्ये एक हो । सगरमाथाको उचाइ बढ्नुको अर्थ हिमालय पनि आफैंमा अग्लिँदै गइरहेको छ । तर सगरमाथा लगायत हिमालयको उचाइ किन र कसरी बढ्दै छ भन्ने प्रश्न आजको जनमानसको जिज्ञासाको विषय बनेको छ । वास्तवमा यसको रहस्य हिमालयको उत्पत्तिको कथासँग जोडिएको छ ।

हाम्रो देश नेपाल इण्डियन प्लेट र युरेसियनप्लेटको संगम स्थलमा अवस्थित छ । वास्तवमा आजभन्दा करिब ३०–२५ करोड वर्ष पहिले पृथ्वीको सम्पूर्ण भू–भाग (७ वटै महादेशहरु) एउटै विशाल महाद्वीपको रुपमा एकीकृत थियो भन्ने कुरा वैज्ञानिक पुष्टि भइसकेको छ । पछि पृथ्वीमा निरन्तर भइरहने कम्पनहरु तथा टेक्टोनिक गतिविधिहरुका कारण उक्त विशाल महादेश टुक्रा–टुक्रा भई फाट्टिन र छुट्टिन थाल्यो ।

यसै क्रममा करिब १३ करोड वर्ष पहिले विशाल महादेशबाट टुक्रिएको भारतीय खण्ड तथा इण्डियन प्लेट बेजोड शक्तिका साथ (१०० वर्षमा १५ मिटरको गतिमा)उत्तरतिर सर्दै गयो । लगभग ६,४०० किलोमिटरको दुरी पार गरेपछि आजभन्दा लगभग पाँच करोड वर्षअघि भारतीय खण्ड तिब्बतसँग जुध्न पुग्यो ।

दबाव शक्तिको परिणाम स्वरूप दुई प्लेटका बीचमा रहेको भाग खुम्चने, फुट्ने, एउटा भाग अर्को भागमाथि खप्टिन जाँदा जमिनको भाग बिस्तारै माथि उठ्न थाल्यो । फलस्वरुप सागर तल पिँधमा बनेका चट्टानहरुमाथि सतहमा देखा पर्न थाले र अन्ततः मध्य र दक्षिण एसियाको बीच एउटा नवस्थल हिमालयको सिर्जना भयो ।

यसरी करिब पाँच करोड वर्ष पहिले युरेसियन प्लेटभित्र इण्डियन प्लेट घुसेर धस्सिन गई हिमालय पर्वत शृङ्खलाको निर्माण सुरु भयो । त्यसबेलादेखि आजसम्म पनि भारतीय खण्ड ५ सेमी प्रतिवर्षको गतिमा उत्तरतिर अघि बढ्दै गएको छ । जसका कारण हिमालय पनि निरन्तर चुलिँदै गइरहेको छ । यो प्रकृया अहिले पनि जारी छ ।

तर इण्डियन प्लेट जुन गतिमा उत्तरतिर बढिरहेको छ, यसको विपरीत, हिमालयको उचाइ भने त्यही अनुपातमा अग्लिरहेको छैन । यसका केही भौतिक कारणहरु पनि छन् । जस्तै, पहिलो कारण हो हिमालयको आफ्नै भार र दोस्रो हिमालयका शिखरहरुमा हुने भू–उद्घर्षण वा माटोको कटान, जसले हिमालहरूको उचाइमा केही ह्रास ल्याइरहेको हुन्छ । यसका साथै इण्डियन प्लेटको तल्लो भाग प्रतिवर्ष २ सेमीको दरले तिब्बतको तलतिर धस्सिएको पनि छ र माथिल्लो ५—१५ किमीको तह खुम्चिने, चिरिने, एक अर्कामाथि खप्टने र दक्षिणतिर धकेलिने प्रक्रिया भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment