Comments Add Comment

अब्बल चिकित्सकको असामयिक निधन

२४ मंसिर, काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ लव नरसिंह जोशीको बुधबार निधन भएको छ । मेडेसिटी अस्पतालका मेडिकल डाइरेक्टर सुनिलकुमार शर्माका अनुसार उनलाई कडा खालको रक्त क्यान्सर (एक्युट माइनोब्ल्याष्टिक ल्युकोमिया एम ४) भएको थियो ।

डा. जोशीका घनिष्ट मित्र रहेका डा. शर्माका अनुसार, अघिल्लो सोमबार मात्र रोग पहिचान भएको थियो । त्यसलगत्तै मेडसिटीको इन्टेन्टिभ केयर युनिट (आईसीयू)मा राखेर उपचार थालिए पनि बचाउन नसकिएको दुःख डा. शर्माले व्यक्त गरे ।

डा. जोशीको उपचारमा दिल्लीका क्यान्सर रोग विशेषज्ञहरुको अनलाइन परामर्शसँगै मेडसिटीको टिम खटेको थियो । तर, मंगलबार साँझबाट उनको स्थिती एकाएक बिग्रिन थालेपछि अनेक प्रयास गर्दा पनि बचाउन नसकेको डा. शर्माले बताए ।

‘कतिपय रोग नै यस्तो हुन्छ, जसमा चिकित्सा विज्ञान निरिह बन्छ, उपचारमा संलग्न डाक्टरहरु मृत्युको साक्षी बन्नुपर्छ’, उनले भने, ‘लवको हकमा त्यस्तै भयो । उसलाई अस्पतालमा राखेर पनि एकसाता भन्दा बढी बचाउन सकिएन ।’

मुटुरोग रोग विषेशज्ञ डा. लव जोशी इन्सेन्टिभ केयरमा समेत दख्खल राख्थे । ओम अस्पताल होस् या मेडिसिटी, उनले मुटुरोग विभाग र आईसीयूको नेतृत्व गरे । मेडिसिटी अस्पतालको कोभिड टास्क फोर्सको नेतृत्व पनि उनैले सम्हालेका थिए ।

‘कोभिड व्यवस्थापनमा मेडसिटी राम्रो मानिएको विदितै छ । यहाँ कोभिड उपचारको प्रोटोकल बनाउनेदेखि पछिल्लो व्यवस्थापनसम्म लवको अब्बल नेतृत्व थियो’, डा. शर्माले भने, ‘काम गर्दागर्दै उसको आफ्नै रोग पहिचानमा ढिला भयो ।’

सहकर्मी चिकिसत्कहरका अनुसार डा. जोशी आफ्नो काममा कडा मेहनत गर्थे । उनी सहकर्मी सबैका प्रिय थिए । उनको आकस्मिक मृत्युले नेपाली चिकित्सा क्षेत्रमा ठूलो क्षती पुगेको डा. शर्माले बताए ।

उनका अनुसार, डा. लव जोशीलाई ज्वरो आउने, निको हुने समस्या थियो । त्यसको लागि ब्रुसेलोलिसको उपचार पनि गराएका थिए । तर, समस्या बढ्दा थप परीक्षण नगराई काममा जोतिएका थिए । एक्युट माइनोब्ल्याष्टिक ल्युकोमिया एम ४ को लक्षण आउँदा उनी ब्रुसेलोलिसको असर भनेर झुक्किएका थिए ।

‘लगातार समस्या देखिन थालेपछि परीक्षण गराइयो’, डा. शर्माले भने, ‘तर, धेरै ढिला भइसकेको रहेछ । दिल्लीबाट रिपोर्ट आएर उपचार थाल्दा नै थप एक साता ढिलो भएको थियो ।’

उनका अनुसार आठ खाले रक्त क्यान्सरमध्ये एक्युट माइनोब्ल्याष्टिक ल्युकोमिया एम ४ भएपछि उपचार निकै कठिन हुन्छ । यो क्यान्सर भएकामध्ये ४० प्रतिशतको मृत्यु उपचार सुरु गरेको केही दिनमै हुन्छ ।’

स्कुले जीवनदेखि नै परिचित डा. जोशी र डा. शर्माले सन् २००० मा एकैपटक काठमाण्डौ मेडिकल कलेजमा काम थालेका थिए । त्यसको तीन वर्षमा जोशी ओम अस्पताल गए । त्यहाँ उनले इन्सेन्टिभ केयर व्यवस्थित बनाउन महत्वपुर्ण भुमिका खेले ।

‘नेपालमा क्रिटिकल केयर र इन्टेन्सिभिस्ट विधामा गतिलो काम गर्ने डाक्टरमध्ये एक थियो, लव’, डा. शर्मा भन्छन्, ‘जम्मा ५७ वर्षको उमेरमा भएको उसको निधनले एउटा गतिलो यात्रामा पूर्णविराम लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment