Comments Add Comment

विप्लव समूहले हत्या गरेका श्रेष्ठको अन्त्येष्टि बिहीबार

२४ मंसिर, विराटनगर । सुराकी गरेको आरोपमा नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको समूहले हत्या गरेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको शव आफन्तले बुझेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम पछि बुधबार आफन्तले बुझेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार पोष्टमार्टम पछि छोरा छत्रले राजेन्द्रको शव बुझेका हुन । शवको बिहीबार बिहान अन्त्येष्टि गरिने आफन्तलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

मिक्लाजुङ गाउँपालिका–१ बर्खे घर भएका स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय श्रेष्ठको विप्लव समूहले मंगलबार बिहान अपहरण पछि जंगलमा लगेर हत्या गरेको थियो ।

आफ्नाविरुद्ध सुराकी गरेको, नेता तथा कार्यकर्ता पक्राउ गराउनतर्फ लागेको र पार्टीका गतिविधी सुरक्षा निकायलाई जानकारी गराउन थालेको पाइएपछि हत्या गरेको विप्लव समूहले दाबी गरेको छ ।

शिक्षक श्रेष्ठको हत्या भएपछि मोरङको मिक्लाजुङ र आसपासको क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनामा संलग्नको खोजी तीब्र पारेको छ ।

प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न केही व्यक्तिहरुको विवरण खुलेको प्रहरी स्रोतले बताएको छ ।

गाउँ शोकमग्न

शिक्षक श्रेष्ठको हत्यापछि मिक्लाजुङ शोकमा डुबेको छ । स्थानीय सरस्वी आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठ अगुवा कृषक र समाजसेवी हुन् । ‘गाउँमा केही पर्दा उहाँ सहयोग गर्न सधै अगाडि हुनुहुन्थ्यो’ छिमेकी मदन श्रेष्ठ भन्छन् ‘हाम्रो गाउँले अभिभावक गुमायो ।’ वडा अध्यक्ष नरबहादुर राईले गाउँ शोकमा डुबेको बताए ।

विभिन्न संघ संगठनले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन् । शिक्षक संघ संगठन, मानव अधिकारवादी संस्थाहरु, राजनीति दल, स्थानीय संघ संस्था, नागरिक समाजसमेतले विज्ञप्ति जारी गरेर घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको उल्लेख गरेका दोषीमाथि कारवाहीको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment