Comments Add Comment

वीरगञ्जमा ‘जाऔं है पोखरा’ अभियान

नेपाल बुझ्न मधेस घुम्नैपर्छ : राज्यमन्त्री मण्डल

२५ मंसिर, वीरगञ्ज । पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीहरुले पर्यटन पुनरुत्थान तथा प्रवर्द्धनका लागि ‘जाऔं है पोखरा’ अभियान शुरु गरेका छन् । अभियान अन्तर्गत बुधबार उनीहरुले पर्सा राष्ट्रिय निकुञ्ज र वीरगञ्जमा सरोकारवालासँग भेटघाट गरेका छन् ।

कोभिड–१९ का कारण थलिएको होटल तथा पर्यटन व्यवसायको पुनरुत्थान तथा प्रवर्द्धनका लागि अभियान शुरु गरिएको पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ । यो अभियान पोखराको लागि मात्रै नभएर समग्र नेपालकै आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान दिने कार्यक्रम भएको सन्देश दिन संघले वीरगञ्ज, जनकपुर, विराटनगर र चितवनमा सरोकारवालासँग अन्तरक्रिया गर्दैछ ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले आपसी हित र एकता कायम गर्न अभियानले सघाउ पुग्ने बताए । ‘एक आपसमा पाहुनाहरु आदान प्रदान गर्नुको साथै व्यवसायिक सम्बन्धको माध्यमबाट एउटा नेटवर्क अभियानले तयार पार्छ,’ उनले भने, ‘अर्कोतर्फ कोभिड–१९ को महामारीले आक्रान्त बनेको पर्यटन व्यवसायको उत्थानमा पनि योगदान पुग्छ ।’

पोखरामा आकर्षक पर्यटकीय स्थलसहित साहासिक खेलको मनोरञ्जन लिन सकिन्छ । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ५० प्रतिशतसम्म छुटको योजना ल्याएको संघका अध्यक्ष तुलाचनले बताए ।

पश्चिमाञ्चल होटल संघमा गण्डकी प्रदेश क्षेत्रका पाँचतारेदेखि पर्यटकीय स्तरका होटल, लज र रिसोर्ट गरी तीन सय सदस्यहरु आवद्ध छन् । संघले पोखरा र आसपासका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न फेवा नव वर्ष महोत्सव, खाना, दाइँ, भाईटीका महोत्सव, चंगा चेट जस्ता कार्यक्रमहरु गर्दै आएको छ । त्यसबाहेक फेवाताल संरक्षण लगायतका सामाजिक काममा पनि संघले योगदान दिँदै आएको छ ।

पोखरामा मात्रै आन्तरिक र बाह्य गरी वार्षिक १० लाख पर्यटकले भ्रमण गर्ने गरेको अनुमान छ । ३ खर्ब रुपैयाँको लगानी रहेको पोखराका पर्यटकीय होटलमा ३० हजार बेड छन् । १५ हजारले रोजगारी पाएका छन् ।

पोखरा क्षेत्रको आकर्षण भनेको फेवाताल, वेगनासताल, रुपाताल, नजिकबाट अवलोकन गर्न सकिने अन्नपूर्ण हिमश्रृखंला, माछापुच्छ्रे, विन्ध्यवासिनी मन्दिर, तालबाराही र भद्रकाली मन्दिर, विश्व शान्ति स्तुप, डेभिड फल्स, महेन्द्र र गुप्तेश्वर गुफा, प्याराग्लाइडिङ, बन्जी जम्प, सेती नदी लगायत हुन् ।

सिमरा–पोखरा हवाई सेवा हुनुपर्नेमा जोड

वीरगञ्ज लगायत सीमावर्ती सहरहरुबाट उल्लेख्य मात्रामा भारतीय पर्यटकहरुको आगमन हुने गरेको छ । तर सीमरादेखि पोखरा प्रत्यक्ष उडान नहुँदा काठमाडुबाट पोखरा जानुपर्ने बाध्यता रहको सरोकारवालाले बताएका छन् ।

त्यसैले सिमरा–पोखरा हवाई सेवाको व्यवस्था गर्न संयुक्त रुपमा आवाज उठाउनुपर्नेमा उनीहरुले जोड दिएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा पश्चिमाञ्चल होटल संघका अध्यक्ष तुलाचनले रोड कनेक्टिभिटी राम्रो नभएको र एयर कनेक्टिभिटी नहुँदा पर्यटक मर्कामा परेको बताए ।

वीरगञ्जका ट्राभल व्यवसायी रोशन गुप्ताले पोखरा–सिमरा उडान हुने सुन्दै आएको भएपनि कार्यान्वयन हुन नसकेको गुनासो गरे ।

प्रदेश २ को उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डलले नेपाल बुझ्न मधेस घुम्नैपर्ने बताए । उनले पोखरा र सौराहामा अल्झिएर पर्यटकहरुले वास्तविक नेपाल नै देख्न नपाएको बताए

अलटाईम ट्राभल एण्ड टुरिज्मका सञ्चालक सञ्जय अग्रवालले पनि सिमरा–पोखरा उडान सेवा पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने बताए । ‘वीरगञ्ज पर्यटकको ट्रान्जिट सहर हो, १० जना पर्यटक नेपाल छिर्छन् भने सबैलाई फाइदा पुग्छ,’ उनले भने, ‘पर्यटकको पहिलो रोजाइ पोखरा हुन्छ, तर पहिले काठमाडौं जानुपर्ने हुन्छ । त्यसैले सिमरादेखि पोखरा सिधा हवाई सेवा आवश्यक छ ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले सिमरादेखि पोखरा प्रत्यक्ष उडान सेवाका लागि संघ सरकारका पर्यटन मन्त्रीसँग समेत कुरा भइरहेको जानकारी दिए ।

नाका खुलाउन पहल गरिदिन आग्रह

अंग्रेजी वर्षको डिसेम्बर महिना पर्यटकहरु बढी आउने महिनाको रुपमा परिचित छ । भारत सरकारले एकतर्फी नाका खोलिसकेको छ । तर नेपालले नाका बन्द नै राखेको छ । मुख्य नाकाबाट आवागमन निषेध गरेपनि साइडबाट आवागमन जारी छ ।

वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीहरुले अब नाका खुलाउन आवाज उठाइदिन आग्रह गरेका छन् । बोर्डर बन्द हुँदा पर्यटक आगमनमा अवरोध पुग्ने र त्यसको असर पोखरामा पनि पर्ने हुँदा पोखराका व्यवसायीहरुले समेत आवाज उठाउनुपर्ने वीरगञ्जका सरोरावालाहरुको तर्क छ ।

ट्राभल एजेन्सीका सञ्चालक अग्रवालले बोर्डर बन्द हुँदा भारतीय पर्यटक आउन नसकेको बताए ।

भिजिट मधेस नेपालका संयोजक ओम प्रकाश सर्राफले भारतीय पर्यटकलाई नाकाबन्द गरेर पर्यटन व्यवसाय अगाडि बढ्न नसक्ने बताए । ‘नेपालमा भ्रमण गर्न सबैभन्दा बढी पर्यटक भारतीय नै आउने हुन् । नाका नखोल्दा उनीहरु आउन पाएको अवस्था छैन,’ उनले भने, ‘खुल्ला सीमाको सदुपयोग गर्न सक्नुपर्छ, नाका खोलेर भारतीय पर्यटकलाई आकर्षित गर्न प्याकेजहरु ल्याउनुपर्छ ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताले सीमा नाका खोल्न सबैले दबाव दिनुपर्ने बताए । उनले ७० प्रतिशत पर्यटक वीरगञ्जबाट भित्रिन सक्ने वातावरण बनाउनका लागि व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

नेपाल बुझ्न मधेस घुम्नैपर्छ : पर्यटन राज्यमन्त्री मण्डल

प्रदेश २ को उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डलले नेपाल बुझ्न मधेस घुम्नैपर्ने बताए । उनले पोखरा र सौराहामा अल्झिएर पर्यटकहरुले वास्तविक नेपाल नै देख्न नपाएको बताए ।

उनले प्रदेशको समृद्धिका लागि उद्योग, कृषि र पर्यटनलाई नै तीनवटा खम्बाको रुपमा हेरिएको जानकारी पनि दिए । ‘उद्योग, कृषि र पर्यटनलाई नै प्रदेश समृद्धिको आधारको रुपमा अघि सारेका छौं, १ सय वटा पर्यटकीय स्थल पहिचान गरेका छौं,’ उनले भने, ‘पर्यटकीय स्थलमा भौतिक पूर्वाधार निर्माणसँगे सौन्दर्यीकरणको काम अघि बढाएका छौं । प्रदेशमा धार्मिक पर्यटनको सम्भावना बढी देखिएको छ ।’

प्रदेशमा रहेका पर्यटकीय धरोहरको बजारीकरण हुन नसकेको बताउँदै उनले सीमावर्ती भारतीय राज्यका पर्यटक मात्रै भित्र्याउन सकेपनि ठूलो प्रगति हुने बताए । गण्डकी लगायत अन्य प्रदेशसँग पर्यटन प्रवर्द्धनका लागि प्रदेश २ सरकार हातेमालो गर्न तयार रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment