Comments Add Comment

वीरगञ्ज नाका खोल्न होटल व्यवसायीको माग

Photo Credit : तस्वीर रम्भा मिश्रको फेसबुकबाट

२५ मंसिर, वीरगञ्ज । नाका खोल्नुपर्ने माग राखेर वीरगञ्जमा १४ दिनदेखि धर्ना जारी छ । नेपाल भारत खुला सीमा संवाद समूहले १४ दिनदेखि धर्ना दिइरहेको हो ।

नाका खोल्न दबाव दिने उद्देश्यले एक घण्टे धर्ना कार्यक्रम राखिएको संवाद समूहका संयोजक कृष्ण पटेल बताउँछन् । शान्तिपूर्ण धर्नामा बस्दा सरकारले मागको सुनुवाई नगरिरहेको उनको भनाइ छ ।

‘सरकारले मेन बाटो बन्द गरेर सर्वसाधरणलाई चोर बाटोबाट आउन भनिरहेको छ,’ पटेलले भने, ‘त्यसैले मुख्य नाकाबाट सामान्य अवस्थामा जसरी नै ओहोर दोहार गर्न पाउनुपर्ने माग राखेर धर्नामा बसेका हौं ।’

सरकारले मुख्य नाका बन्द राखेर सर्वसाधरणलाई चोरबाटोबाट आउन जान बाध्य पारिरहेको छ । वीरगञ्जमा कस्तो खालको नाका बन्दी हो ? बुझ्नै नसकिने खालको रहेको दिवाकर विष्ट बताउँछन् ।

‘एकातिर नाका खोल्न माग राखेर धर्नामा मासिनहरु बसिरहेका छन्, अर्कोतिरबाट दिनदिनै मानिसहरु ओहोर दोहोर गरिरहेका छन्,’ उनले भने, ‘कहिले सिधै त कहिले अलि टेँढो रुटले मानिसहरु आउ जाउ गर्न पाउने कस्तो बोर्ड बन्द हो बुझ्नै नसकिने खालको छ ।’

अनसनमा बस्ने होटल व्यवसायीको चेतावनी

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले नौ महिनादेखि सीमा नाका बन्द गरेको छ । जसले गर्दा होटल तथा पर्यटन क्षेत्र तहस नहस भएको होटल व्यवसायीहरु बताउँछन् ।

महामारी पछिको अवस्थामा सबैभन्दा छिटो माथि उठ्ने व्यवसायको रुपमा पनि होटल तथा पर्यटनलाई नै हेरिएको छ । सीमा सुचारु नहुँदासम्म कोरोनाले थालिएको होटल र पर्यटन व्यवसाय माथि उठ्न नसक्ने व्यवसायीहरुको तर्क छ ।

नेपालमा भारतीय पर्यटक नै होटल तथा पर्यटन व्यवसायको मुख्य हिस्सा धानेको उनीहरु बताउँछन् । नाका बन्द हुँदा नेपाल भारतबीच हुने बैवाहिक कार्यक्रममा प्रभाव पर्नुको साथै डिसेम्बर महिनामा घुम्न निस्कने भारतीय पर्यटकहरु पनि नेपाल आउन पाएका छैनन् ।

सुरक्षा सावधानी अपनाएर नाका छिटो भन्दा छिटो खोल्नुपर्ने होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष बुद्धि प्रसाद पन्त (हरि) बताउँछन् ।

‘अन्य क्षेत्र खुलिसकेको छ, त्रिभुवन विमानस्थल समेत सुचारु भइसकेको छ । नाका मात्रै बन्द राख्नुको औचित्य छैन,’ अध्यक्ष पन्तले भने, ‘आवश्यक स्वास्थ्य प्रोटोकल अपनाएर यथाशीघ्र बोर्डर सुचारु गर्न सरकारसँग माग गर्दछु ।’

अध्यक्ष पन्तले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै बारम्बार अनुरोध गर्दा सरकारले कुनै सुनवाइ नगरेकोले ७ दिनभित्र नाका नखोले वीरगञ्जका सम्पूर्ण होटल तथा पर्यटन व्यवसायीहरु सीमामा अनसन बस्ने चेतावनी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment