Comments Add Comment

अञ्जु पन्तकी छोरी भन्छिन् : ममीले जीवनसाथी खोज्नुपर्छ (भिडियोसहित)

छोरीले प्रेसर दिन्छिन्, हेरौं के हुन्छ : अञ्जु पन्त

‘धेरै माया नदेऊ मलाई, टाढा हुँदा गाह्रो हुन्छ ।’ गायिका अञ्जु पन्तले स्वर तथा संगीत भरेको गीत हो यो । तर, गीतको भावले उनी र उनकी छोरी परितोषिकाबीचको सम्बन्धको कथा भन्छ । अनलाइनखबरसँगको कुराकानीका क्रममा अञ्जु र परितोषिकाले एक अर्काबीचको माया र जिन्दगीका कयौं भोगाइका कथा फुकाए ।

अञ्जुलाई छोरी परितोषिका ठूली हुँदै जाँदा एक दिन आफूलाई छाडेर पराई घर जान्छिन् भन्ने सोच आइसकेको छ । तर, के छोरीलाई आमालाई छाडेर पराई घर जानुपर्छ भन्ने सोच आएको छ त ?

परितोषिकाले  भनिन्–‘यो त मलाई लागि नै हाल्छ । सधैं त म ममीसँग हुन सक्दिनँ । यसैले त मैले ममीलाई जीवनसाथी खोज्न बारम्बार आग्रह गरेको छु ।’ अञ्जुलाई छोरीले नै बिहेका लागि स्वीकृति र दबाब दिएकी छिन् । तर, के अञ्जु बिहे गर्ने सोचमा पुगेकी छिन् त ?

प्रश्नले अञ्जुलाई केहीबेर सोच्नमग्न बनायो । भनिन्–‘नानीले जहिले पनि मलाई किन निराश हुनुभएको भन्छिन् । मेरो डिभोर्स भएको १० बर्ष भयो । १० बर्षदेखि मलाई छोरीको साथ त छ । तर, उनी पनि पराई घर गएपछि मलाई दुख्दा तातो पानी तताएर दिने मान्छे चाहिन्छ । छोरीले बिहे गर्नैपर्छ भनेर प्रेसर दिइरहेकी छिन् । तर, मेरो सोच बिहे नै नगर्ने हो । यो मेरो इच्छा नै नभएको कुरा हो । तर, मलाई धेरैले बिहेका लागि सुझाव दिइरहनुभएको छ ।’

अहिलेसम्म  अञ्जुको जिन्दगी रमाइलोसँग बितिरहेको छ । तर, जीवनसाथी नहुँदा उनलाई पीडा भएको छ कि भनेर उनकै साथी, आफन्त र छोरीले पनि सोच्ने गर्छन् ।

अञ्जुको दिमागमा अहिलेसम्म बिहे गर्नुपर्छ भन्ने सोच त आएको छैन । तर, भोलिको दिनमा भइहाल्यो भने पनि उनी सहर्ष स्वीकार गर्ने पक्षमा छिन् । आफूलाई बुझ्ने, नबदलिने प्रेम गर्ने मानिस आएको खण्डमा अञ्जु बिहे स्वीकार गर्ने सोचमा छिन् ।

अञ्जु र परितोषिकाको सम्बन्ध ‘आमा छोरी’को भन्दा पनि ‘साथी’को जस्तो छ । उनीहरु एक अर्कासँग मनका पीडा, खुशी, सफलता, असफलता सबै साट्छन् ।

कहिलेकाहीँ अञ्जु निराश हुँदा परितोषिका ममीको हात समाउँदै उनलाई सम्झाउँछिन् । कहिलेकाहीँ छोरीको मन दुख्यो भने ममी अञ्जु पनि उनलाई काखमा राखेर धेरै कुरा सम्‍झाउँछिन् ।

परितोषिका सानै हुँदा अञ्जु र मनोज राजको डिभोर्स भयो । के परितोषिकाले बाबुको अभाव महसुस गरिन् त ? उनी भनिन्–‘बच्चामा कहिलेकाहीँ त लाग्थ्यो नै । तर, मेरो ममीले मलाई आमा र बुबा दुबैको माया दिनुभएको छ । यसैले पनि मैले कहिल्यै पनि बुबाको मायाको अभाव भोगिनँ ।’

अञ्जुले यो प्रश्नमा थप्दै भनिन्–‘बच्चा हुँदा जन्मदिनको समयमा झमझम पानी परिरहेको थियो । बुबा आउनुहुन्छ भनेर उनले धेरै समय पर्खिइन् । पछि, केही बर्षसम्म उनले बुबालाई पर्खिने गर्थिन् । तर, विस्तारै उनलाई पनि बानी पर्‍यो ।’

परितोषिकाका कारण आजसम्म अञ्जुले कुनै तनाव लिनुपरेको छैन । अञ्जु भन्छिन्–‘मलाई चौतर्फी रुपमा तनाव हुँदा पनि छोरीका कारण खुशी मिलेको छ । यसैले पनि मलाई बाँच्ने आधार मिलेको छ ।’

परितोषिका मोडलिङ गर्ने र नायिका बन्ने सोचका साथ अगाडि बढेकी छन् । उनलाई नायिका बनाउनका लागि निर्माता–निर्देशक अञ्जुको घरसम्म पुगेका छन् । अब भने अञ्जु छोरीलाई कला क्षेत्रमा ल्याउने तयारीमा लागेकी छिन् ।

अञ्जु पन्तको स्वर आफैंमा ‘भगवानको उपहार’ हो भनिन्छ । तर, छोरी गायन क्षेत्रमा आउने सोचमा छैनन् । किन उनले गायिका नबन्ने सोच राखेकी होलिन् ? परितोषिका भन्छिन्–‘मेरो गीत गाउने रहर मात्र हो । म ममीको सफलतालाई भेट्न सक्दिनँ । उहाँ जस्तो दोश्रो कोही जन्मिन्छ भन्ने मलाई लाग्दैन । यसैले पनि रहरका लागि मात्र आउनु भन्दा नआउनु नै ठीक लाग्यो । म मोडलिङमा नै केही गर्छु ।’

अञ्जु र परितोषिकाले जिन्दगीका गाली, ताली, ठक्कर खुबै भोगेका छन् । अहिले पनि अञ्जु कुनै एउटा नकारात्मक प्रतिक्रियामा लामो समय सोचेर बस्छिन् । अञ्जु भन्छिन् ‘कोही व्यक्तिले गाली गर्‍यो भने मलाई निकै निराश बनाउँछ । म किन यस्तो लेखेको होला भनेर लामो समयसम्म सोच्छु । मेरो छोरीले यी सबै कुराहरु भोगेकी छिन् । बरु, उनले मलाई सम्‍झाउँछिन् । एक–दुईवटा गालीका बीचमा हजारौं राम्रा प्रतिक्रिया आएका छन्, त्यो हेरेर खुशी हुनुहोस् भन्छिन् । तर, मलाई त प्रतिक्रिया दिने मान्छे र उसको सोचलाई हेरेरै तनाव हुन्छ ।’

परितोषिका ग्ल्यामर दुनियाँमा प्रवेश गरिसकेकी छिन् । उनले, गाली र ताली दुबैलाई सहर्ष स्वीकार गर्न सक्छु भन्ने ठानेकी छिन् । जिन्दगीमा कयौ पटक रोएर अञ्जु र परितोषिकाका रातहरु कटेका छन् । यसैले, अञ्जु कसैलाई हतोत्साही बनाउने गरेर गाली नगर्न सबैसँग अपील गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment