१८ असोज, काठमाडौं । नेपाली दूरसञ्चार तथा सूचना प्रविधिविज्ञ अनन्दराज खनाल अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को नयाँ दिल्लीस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखमा नियुक्त भएका छन् । उनले १ अक्टोबर २०२६ देखि पदभार ग्रहण गरेका छन्।
आईटीयू संयुक्त राष्ट्रसंघको दूरसञ्चार-सूचना तथा सञ्चार प्रविधि (आईसीटी) तथा डिजिटल प्रविधि सम्बन्धी विशिष्टीकृत संस्था हो। यसले विश्वव्यापी कनेक्टिभिटी, रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रम, दूरसञ्चार मापदण्ड तथा डिजिटल विकासका क्षेत्रमा सदस्य राष्ट्र तथा निजी क्षेत्र, शैक्षिक संस्था र अन्य साझेदारसँग सहकार्य गर्छ।
खनाल नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व वरिष्ठ निर्देशक हुन् । उनीसँग दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधि, डिजिटल रूपान्तरण, सार्वजनिक नीति, नियमन, साइबर सुरक्षा, डिजिटल पूर्वाधार तथा नवप्रवर्तनका क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव छ । खनाललाई आईटीयूको दूरसञ्चार विकास ब्युरोले २२ सेप्टेम्बर २०२६ मा औपचारिक रूपमा उक्त पदमा नियुक्त गरेको हो।
नयाँदिल्लीस्थित आईटीयूको दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टर भारत सरकारको सहकार्यमा स्थापना भई सन् २०२३ मार्चमा औपचारिक रूपमा उद्घाटन भएको थियो। यस कार्यालयले दक्षिण एसियामा डिजिटल रूपान्तरण, उन्नत प्रविधि, दूरसञ्चार तथा आईसीटी पूर्वाधार, क्षमता विकास, नवप्रवर्तन र साझेदारी प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यस क्षेत्रीय कार्यालयको कार्यक्षेत्रमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, नेपाल र श्रीलंका छन्।
खनाल नेपाल दूरसञ्चार प्राधिकरणमा १५ वर्षभन्दा बढी समय वरिष्ठ नेतृत्व तहमा रहेर काम गरेका थिए। उनी प्राधिकरणमा वरिष्ठ निर्देशकका रूपमा कार्यरत रहँदा विभिन्न अवसरमा कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए।
प्राधिकरणमा रहँदा उनले दूरसञ्चार तथा आईसीटी नीति, नियमन, ब्रोडब्यान्ड, साइबर सुरक्षा, डिजिटल सेवा, अपाङ्गता भएका व्यक्तिका लागि आईसीटी पहुँच तथा नयाँ प्रविधिसम्बन्धी विभिन्न राष्ट्रिय पहलमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
आईटीयूको प्राविधिक सहयोगमा सम्पन्न राष्ट्रिय साइबर सुरक्षा सचेतना मूल्याङ्कन, राष्ट्रिय साइबर सुरक्षा नीति २०७३/२०१६, साइबर अपराधसम्बन्धी विधेयक २०१८, वायरलेस ब्रोडब्यान्ड मास्टर प्लान तथा अपाङ्गता भएका व्यक्तिका लागि आईसीटी पहुँच अभिवृद्धिसम्बन्धी पहलमा उनको महत्वपूर्ण संलग्नता रहेको थियो।
खनालले आईटीयू-डी स्टडी ग्रूप-२ उपाध्यक्षमा लगातार दुई कार्यकाल (२०१४–२०१८ र २०१८–२०२१) निर्वाचित भएका थिए। सन् २०१९ देखि २०२१ सम्म उनी यूएन इन्टरनेट गभर्नेन्स फोरम मल्टीस्टेकहोल्डर एड्भाइजरी ग्रूपका सदस्यसमेत थिए ।
हालै उनले एसियाली विकास बैंकका लागि नेपाल विद्युत् प्राधिकरणको डिजिटल पूर्वाधारको व्यावसायिकीकरणसम्बन्धी परामर्शदाताका रूपमा काम गरेका थिए। यसअघि उनले गुगल तथा टेन्सेन्टलगायतका विश्वव्यापी प्रविधि कम्पनीका लागि सार्वजनिक नीति तथा सरकारी मामिला सम्बन्धी परामर्शदाताका रूपमा पनि काम गरेका छन्।
उनले विभिन्न विश्वविद्यालय तथा कलेजमा भिजिटिङ प्रोफेसरका रुपमा रूपमा दूरसञ्चार, सूचना प्रणाली, आईसीटी तथा नयाँ प्रविधिसम्बन्धी विषय अध्यापन गर्नुका साथै स्नातकोत्तर तहका विद्यार्थीको अनुसन्धान तथा थेसिस सुपरिवेक्षण गर्दै आएका छन्।
प्रतिक्रिया 4