+
+
Shares

पाठेघरको जटिल शल्यक्रियाबाट सप्तरीमा जोगियो महिलाको ज्यान

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २६ गते १७:१२

२६ मंसिर, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–११ कि सुनीतादेवी यादवलाई २१ मंसिरको दिउँसो एक्कासी पेट दुख्न थाल्यो ।

एकछिनमा ठीक भइहाल्ला नि भनेर उनले वास्ता गरिनन् । दुखाई बढ्दै गएपछि उनलाई परिवारका सदस्यले साँझतिर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याए ।

डेढ महिनाको गर्भवती उनको जाँच गर्दा चिकित्सकहरु पनि दंग परे । उनको पाठेघद्धरमा नभई पाठेघर बाहिरको ट्युबमा बच्चा विकास हुँदै गएको थियो । पाठेघरको छेउमा रहने ट्युबमै बच्चा विकास हुँदै गरेको पाइएको स्त्री तथा प्रसुती विशेषज्ञ डा. उमेशचन्द्र झाले बताए । अनि, त्यो ट्युब फुटेर पेटभरि नै रगत जमेको पाइएको उनले बताए ।

‘ट्युबमा जमेको रगत फुटेर पेटभरि फैलिएपछि उनलाई पेट दुखाई भएको रहेछ’ झाले भने, ‘एकातिर पेटमा रगत जमेको थियो भने अर्काेतर्फ रक्तश्राव समेत भइरहेको थियो ।’

अस्पताल ल्याउँदा सुनीताको शरीर चिसो भइसकेको थियो । ‘यस्तो अवस्थाका बिरामीलाई बाँच्ने कमै सम्भावना रहन्छ’ डा. झाले भने, ‘बिरामीको अवस्था देखेपछि हामी छलफल गर्‍यौं । र आकस्मिक शल्यक्रिया गर्ने निर्णयमा पुग्यौं ।’

यहाँबाट रेफर गर्ने मनस्थिति बनाएपनि बाटोमै मृत्यु हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै शल्यक्रिया आफैंले गरेको उनले बताए । ‘करिब डेढ लिटर रगत पेटभित्र जमेको पाइयो’ उनले भने, ‘आकस्मिक लेप्राटोमी शल्यक्रिया गरेपछि बिरामीको जीवन जोगियो ।’

सुनीतालाई शल्यक्रियापछि चार पाउण्ड रगत दिइएको थियो । सुनीताका पति रघुनन्दनले चिकित्सकलाई धन्यवाद दिएका छन् । ‘शल्यक्रिया भइरहँदा हामी असाध्यैं रोएका थियौं’ उनले भने, ‘५ र २ बर्षकी छोरीकी आमाको ज्यान बाँचेकोमा खुशी छु ।’

शल्यक्रिया गरेका चिकित्सक डा. झा पाठेघरमा नभई छेउको ट्युबमा बच्चा विकास हुने घटना बिरलै पाइने बताउँछन् ।

पछिल्लो पटक गजेन्द्रनारायण सिंह अस्पतालको सेवा सुधारोन्मुख छ । यस्तो जटिल शल्यक्रिया यो अस्पतालमा पछिल्लो एक बर्षमा ४ वटा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?