Comments Add Comment

विदेशबाट पेन्सन पाइरहेकाले पनि बृद्ध भत्ता पाउने

२७ मंसिर, काठमाडौं । विदेशबाट निवृत्तिभरण पाइरहेकाहरूले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेशमार्फत विदेशबाट पेन्सन पाउनेहरूका लागि यस्तो व्यवस्था गरिएको हो ।

अध्यादेशमार्फत ऐनको दफा १५ को -ग) मा रहेको ‘अन्य कुनै प्रकारले नियमित रुपले पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा एवम् अन्य सुविधा पाइरहेको व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था खारेज गरिएको हो ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाबाट पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा वा अन्य सुविधा पाईरहेकाहरूले भने सामाजिक सुरक्षा भत्ता पाउने छैनन् । त्यस्तै कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्ति, निर्वाचित वा मनोनित भई बहाल रहेका व्यक्तिका लािग पनि यस्तो भत्ताको व्यवस्था गरिएको छैन ।

ऐनको यही दफामा टेकेर गत १७ असारमा गृहमन्त्री रामबहादुर थापाले विदेशी सरकारबाट नियमितरुपले निवृत्तिभरण प्राप्त गरिरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता बन्द गर्ने निर्णय गरेका थिए । गृहको यो परिपत्रपछि स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता दिन बन्द गरेका थिए ।

गृह मन्त्रालयको निर्णयको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), राष्ट्रिय भूतपूर्व सैनिक संगठन लगायतकाले विरोध गर्दै आएका थिए । पूर्व सैनिकहरूले गोरखा भूतपूर्व सैनिक संघर्ष समिति गठन गरेको यो निर्णयको विरोध गर्दै आएका थिए ।

५० हजार लाभग्राही

बेलायती तथा भारतीय सेना, सिंगापुर प्रहरीमा काम गरेर आवकाश पाएका भूतपूर्व सैनिकहरू अध्यादेशबाट ल्याइएको यो निर्णयबाट लाभान्वित हुने देखिन्छ । विदेशी सरकारबाट पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा वा अन्य सुविधा प्राप्त गरिरहेकाहरूले सरकारले आफ्नो पक्षमा निर्णय गरेको बताएका छन् ।

अध्यादेशको दफा १५ संशोधन हुँदा करिब ५० हजारले लाभ पाउने सरकारको अनुमान छ । यो निर्णयले एक अर्ब ८० रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरणका लागि बाटो खोलेको छ ।

विदेशमा आफूहरूले गरेको सेवा र कर्म वापत नेपाल सरकारले ठूलो परिमाणमा रेमिट्यान्स पाइरहेको र सामाजिक भत्ता नपाउँदा आफूहरूलाई अनागरिक व्यवहार भएको पूर्व सैनिकहरूको गुनासो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment