Comments Add Comment

पितृको सम्झनामा पशुपतिमा छरियो शतबीज

२८ मंसिर, काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व यस वर्ष पनि मनाइएको छ ।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा आज बिहानै शतबीज छर्नेहरुको घुइँचो नै देखियो ।

त्रयोदशीको दिन बेलुकी शिवालयहरुमा दीपदान गरी रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छर्ने चलन छ । यसो गरेमा दिवंगत आत्माले शान्ति पाउने धार्मिक विश्वास छ ।

शतबीजको रुपमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम भगवान् शिव मृगरूप लिएर घुमेको क्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवंगत आत्माले पनि मुक्ति पाउने बताउँछन् ।

देशभरका शिव मन्दिरहरुमा अघिल्लो रात बालाचतुर्दशीको अघिल्लो रात आज दिवंगत पितृका नाममा दीपदान गर्न लाखौं भक्तजन आउने गरेकामा यस वर्ष पशुपतिनाथमा भने मेला नलागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यस वर्ष दीपदान नगर्न कोषले अनुरोध गरेको थियो ।

शतबीज छर्न मन्दिरको मुख्य क्षेत्र कैलाशडाँडामा निषेध गरिएको थियो । मृगस्थली, गुह्येश्वरी र गौरीघाट क्षेत्रमा मात्र शतबीज छर्न दिइएको थियो ।

पशुपतिमा शतबीज छर्न आएका अधिकांशले कोरोना संक्रमणको जोखिमका कारण मास्क लगाएका थिए । कतिपयले त फेससिल्ड लगाएको पनि देखिन्थ्यो ।

माता पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्न नहुने समितिका अध्यक्ष गौतमले बताए । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नाम समेत लिनु नहुने उल्लेख गरिएको छ ।

यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । चतुर्दशीको बिहान शतबीज छरी हवन गरेपछि बाला चतुर्दशी पर्वको विधि पूरा हुने शास्त्रीय परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment