Comments Add Comment

धरानमा आजदेखि विद्यालय खुले

२८ मंसिर, धरान । सुनसरी जिल्लास्थित धरान उपमहानगरपालिकाभित्रका विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन् ।

कोरोना महामारीका कारण बन्द रहेका प्रायः सबै सामुदायिक विद्यालय ९ महिनापछि आइतबारदेखि सञ्चालनमा आउन थालेको उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रतन कटवालले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डको पूर्ण पालना गर्ने शर्तमा नगरपालिकाले विद्यालय सञ्चालन गर्ने अधिकार दिएसँगै विद्यालयहरु सञ्चालनमा आउन थालेको कटवालले बताए ।

कटवालले भने, ‘स्थानीय तहमा ४९ वटा सामुदायिक र ९६ वटा संस्थागत विद्यालयहरु छन् । सामुदायिक विद्यालयको हकमा प्रायः सबै विद्यालयहरुले स्वास्थ्य मापदण्ड अपनाएर कक्षा सञ्चालन गरेको भन्ने जानकारी मैले पाएको छु ।’

मंसिर २४ गते बसेको नगर प्रमुख स्तरीय बैठकले विद्यालय सञ्चालनका लागि सम्बन्धित विद्यालयहरुले पेस गरेको प्रस्ताव अनुसार र तोकिएको मापदण्ड पूरा गर्ने गरी मंसिर २५ गतेदेखि विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको उनले बताए ।

सोही मापदण्ड अनुसार आइतबारदेखि धरान–८ स्थित शहीद स्मृति विद्यालय पनि सञ्चालनमा आएको छ ।

विद्यालय सञ्चालनबारे सम्बन्धित वडाका जनप्रतिनिधि, कक्षागत अभिभावकसँग आवश्यक छलफल र समन्वयका आधारमा विद्यालय सञ्चालनमा ल्याइएको शिक्षक बोधराज कुँवरले अनलाइनखबरलाई जानकारी दिए ।

‘स्थानीय तहले २५ गतेदेखि नै विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरिएपनि सबै पक्षसँगको आवश्यक समन्वय पश्चात आइतबारबाट मात्रै विद्यालय खोलेका हौं । पहिलो दिन करिब ५० प्रतिशत मात्रै विद्यार्थी उपस्थित भएका छन्,’ शिक्षक कुँवरले भने, ‘विद्यालय सञ्चालनका लागि वडाले सेनिटाइजर, मास्क, थर्मलगन लगायतका आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका कारण पनि विद्यालय सञ्चालनमा सहजता भएको छ ।’

कक्षा ४ देखि ११ सम्मका विद्यार्थीलाई जोर/विजोर रोल नम्बर अनुसार विद्यालयमा उपस्थित हुन भनिएको उनले बताए ।

उपमहानगरपालिकाले विद्यालय सञ्चालनका लागि एउटा कक्षा कोठामा बढीमा २५ जना विद्यार्थी राख्न पाउने प्रावधान बनाएको छ । त्यस्तै एउटा बेञ्चमा दुई जना मात्र विद्यार्थी राख्न भनिएको छ ।

विद्यालय सञ्चालन गर्नुपूर्व प्रत्येक कक्षा कोठा दैनिक सेनिटाइज गर्नुपर्ने, विद्यालय प्रवेश गर्दा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको अनिवार्य तापक्रम मापन गर्नुपर्ने, अनिवार्य रुपमा सावुन पानीले हातधुने व्यवस्था मिलाउनु पर्ने, खाजा समयलाई छोट्याउनुपर्ने, शिक्षक, कर्मचारी तथा विद्यार्थीले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ अनिवार्य रुपमा पालना गर्नुपर्ने छ ।

शुल्क निर्धारण

धरान उपमहानगरपालिकाले संस्थागत विद्यालयहरुले लिने शुल्कका बारेमा समेत आधार तय गरेको छ ।

कटवालका अनुसार विद्यालय सञ्चालक तथा अभिभावकका बीचमा आपसी सहमति अनुसार मासिक तथा वार्षिक शुल्क कायम गर्ने, सहमति नभएको खण्डमा उपमहानगरपालिकाले निर्धारण गरे अनुसार संस्थागत विद्यालयहरुले वार्षिक एवं मासिक शुल्क लिन पाउने छन् ।

संस्थागत विद्यालयहरुले चालु वर्षको वार्षिक शुल्क लिँदा गत वर्षको वार्षिक शुल्कको २५ देखि ५० प्रतिशतसम्म लिन पाउने छन् भने मासिक शुल्कको सम्बन्धमा असोज महिनादेखि गत वर्ष कायम भएको शुल्क मात्र लिन पाउने छन् ।

असोज महिना भन्दा अगाडि अनलाइन कक्षा सञ्चालन गरेका विद्यालयहरुले अनलाइन कक्षामा सहभागी भएका विद्यार्थीहरुबाट मात्र मासिक शुल्कको आधामात्र लिन पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment