Comments Add Comment

बारामा सरकारले तोकेको मूल्यमा सहकारीले धान किन्ने

२८ मंसिर, वीरगञ्ज । बारामा ५ वटा कृषि सहकारीले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने भएका छन् । जिल्लाका विभिन्न स्थानका ५ वटा सहकारीलाई धान खरिद गर्न अनुमति दिनुको साथै आइतबार सम्झौता समेत गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ बाराले जनाएको छ ।

समर्थन मूल्यमा धान खरिद बिक्री परीक्षणकालको समन्वय गर्ने जिम्मेवारी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पाएको छ ।

कृषकको हितलाई मध्यनजर गर्दै पाचँ वटा कृषि सहकारी संस्थाले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न तयार भएका हुन् । पाँच सहकारी मध्ये ४ वटा साना किसान कृषि सहकारी छन् ।

जीतपुर सिमरा उपमहानगरपालिकास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवाना, जीतपुर सिमरा उपमहानगरपालिका–१९ इनर्वासिर्रा, वडा नं १८ मनहर्वा, करैयामाई गाउँपालिका तेतरियास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड र फेटा गाउँपालिका–७ स्थित कटेङ्गनमाई कृषि सहकारी संस्था धान खदिरका लागि सुचीकृत भएका हुन् । सुचीकृत सहकारीले पाँच हजार क्विन्टलसम्म धान खरिद गर्नसक्नेछन् ।

पाँच वटै संस्थाहरुले कृषकहरुसँग धान खरिद गर्ने सम्झौता गरिसकेकोले कृषकलाई पायक पर्ने सहकारीसँग समन्वय गरी धान बिक्री गर्न सक्ने इकाइ प्रमुख डाक्टर सुरेन्द्र यादवले जानकारी दिए ।

पर्सामा भने एउटा मात्रै कृषि सहकारी सुचीकृत भएको छ । साना किसान कृषि सहकारी संस्था उदयपुरघुर्मी न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न तयार भएको हो ।

५ सय मेट्रिक टन धान खरिद गर्नेगरी कार्यादेश भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ पर्साका कृषि अधिकृत पुरुषोत्तम रौनियारले जानकारी दिए । ‘कार्यादेश लिएर गएका छन्, तर धान खरिद गरिसकेको जानकारी हामीलाई गराएका छैनन् ।’ उनले भने ।

सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य २ हजार ७ सय ३५ र मोटा मसिनोको २ हजार ८ सय ८५ रुपैयाँ प्रतिक्वीन्टल तोकेको छ । समर्थन मूल्यमा धान किन्ने निकाय नहुँदा किसानले सस्तोमा नै धान बिक्री गर्दै आएका छन् । किसानहरुले २१ सय देखि २३ सय रुपैयाँ प्रतिक्वीन्टलमा धान बिक्री गरिरहेका छन् । ५ वटा सहकारीले सरकारी समर्थन मूल्यमा धान खरिद गर्ने भएपछि त्यस क्षेत्रका किसान हर्षित छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment