Comments Add Comment

सरकारले निरंकुशता लाद्न खोज्यो : कांग्रेस नेता पाण्डे

२९ मंसिर, बुटवल । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले सरकार निरंकुश र अधिनायकवादी बाटोमा अघि बढेको आरोप लगाएका छन् । सरकारले संविधान र लोकतन्त्रको मूल्यमान्यता कुल्चेर विपक्षीमाथि दमनमा उत्रेको कांग्रेस नेताहरुको आरोप छ ।

पार्टीले सोमबार भैरहवामा गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले सरकार सत्ताको आडमा प्रतिपक्षी पार्टीमाथि दमन गर्दै निरंकुशता लाद्न खोजेको बताए । सरकारको अधिनायकवादी व्यवहारविरुद्ध कोरोना महामारीमा सडकमा आउनु कांग्रेसको रहर नभइ बाध्यता भएको उनले बताए । राष्ट्रपति विद्या भण्डारीले समेत पदको दुरुपयोग गर्दै खुल्लमखुल्ला नेकपाको पार्टी राजनीति गरेको अरोप लगाउँदै पाण्डेले पद छोडेर नेकपाको उपाध्यक्ष भएर बस्न सुझाब दिए ।

प्रतिनिधि सभा सदस्य एवं सार्वजनिक लेखा समिति सभापति भरत शाहले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको र कोरोना महामारी नियन्त्रणमा गम्भीर नभएको बताए । शाहले सत्तारुढ दलभित्रको दुई गुटको झगडाका कारण सिंगो मुलुक बन्धक बनेको भन्दै सरकार पूर्णरुपमा असफल बनेको टिप्पणी गरे । ओली र प्रचण्डको झगडा सैद्धान्तिक झगडा नभएर भ्रष्टाचारमा भागबण्डा नमिल्दा भएको दावी गर्दै शाहले रोजगार र राहतका बहानामा सरकारले ठूलो आर्थिक अनियमितता गरेको आरोप लगाए ।

सभामा प्रतिनिधि सभा सदस्य प्रमोद यादव, कांग्रेस रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक,सविधानसभा सदस्य इस्तियाक अहमद खान, जिल्ला सचिव रामकृष्ण खाण लगायतले भ्रष्टाचार र अधिनायकवाद र संविधान विपरित सरकारका काम विरुद्ध कांग्रेसले विरोध प्रदर्शन र आन्दोलनलाई निरन्तरता दिने बताए ।

भैरहवाको बुद्धचोकबाट सुरु भएको प्रदर्शन बर्मेली टोल, देवकोटाचोक मिलनचोक नारायण पथ हुदै पुनः बुद्ध चोकमा पुगेर सभामा परिणत भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment