Comments Add Comment

लालपुर्जा माग्दै बाराको पथलैयामा प्रदर्शन

फोटो सौजन्य : प्रकाश लम्साल

२९ मंसिर, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको पथलैयामा स्थानीयले प्रदर्शन गरेका छन् । पथलैया क्षेत्रको सरकारी नक्सा नै बेपत्ता पारिसक्दा समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले सोमबार पूर्व पश्चिम राजमार्गमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी स्थानीयले ए सरकार नक्सा दे, लालपुर्जा दे राजस्व लि, स्थानीय सरकार कहाँ छस् ? जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गर्नुको साथै पथलैया चोकमा नाराबाजी समेत गरेका थिए ।

जीतपुर सिमरा उपमहानगरले पथलैयाको नक्सा खोजी गर्न चासो नदेखाएकोले प्रदर्शनमा उत्रनुपरेको उनीहरुले बताएका छन् । उपमहानगरका प्रमुख कृष्ण पौडेलले निर्वाचित भएको ६ महिनाभित्र पथलैयाको नक्सा खोजी गर्ने आश्वासन दिएपनि त्यो पूरा नगरेको उनीहरुको आरोप छ ।

०६७ सालमा सुकुमबासी आयोगले नापी, नक्सा, श्रेस्ता समेत तयार गरेर ५ सय ३३ जनालाई लालपुर्जा वितरण गरेको थियो । पथलैया क्षेत्रको नक्सा नापी कार्यालय सिमराबाट गायब गरिएको छ । त्यसअघि सुकुमबासी आयोगले वि.स.२०५५ सालमा लालपुर्जा मात्रै वितरण गरेको थियो ।

पथलैयाबासीलाई लालपुर्जा वितरण गर्दा नापी कार्यालयका तत्कालीन प्रमुख दिपक सिंह र केही स्थानीय नेताले माथिसम्म मिलाउनु पर्छ भन्दै राजश्व बाहेक प्रत्येक घर धनीले २० हजार रकम दिनुपर्ने प्रस्ताव राखेका थिए । तर स्थानीयले त्यसको विरोध गरेपछि नापी कार्यालयबाट नक्सा बेपत्ता पारिएको स्थानीयको आरोप छ ।

स्थानीय अनिल कार्कीले पथलैयाको हराएको नक्सा खोजी गर्न स्थानीय सरकार उदासीन देखिएकोले प्रदर्शनमा उत्रनुपरेको बताए ।

‘हराएको नक्सा खोजी गरी दिन नगर प्रमुखसँग पटक पटक आग्रह गरेका छौं, उहाँबाट आश्वासन पनि पाएका थियौं । तर नक्सा खोजिदिनुभएन,’ उनले भने, ‘त्यसैले चरणबद्ध विरोध गर्ने निर्णयमा पुगेका छौं ।’

दुई दिन सडकमै प्रदर्शन गर्ने र माग पूरा नभए जीतपुरसिमरा उपमहानगरपालिका र मालपोत कार्यालय सिमरा घेराउ गर्ने कार्यक्रम तय भएका छन् । नाप नक्सा नभएकै कारण उपमहानगरपालिकाले पथलैया क्षेत्रबाट राजश्व लिन सकेको छैन । बजार क्षेत्रबाट घरजग्गा लगायतका कर लिन नसक्दा लाखौंको राजश्व समेत गुमेको छ । पथलैयामा होटल र ढुवानी व्यवसायीको बाहुल्यता छ । वि.स.२०२१ सालमा पूर्वपश्चिम राजमार्ग निर्माणको क्रममा पथलैयामा बसोबास सुरु भएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment