Comments Add Comment

सुदूरपश्चिममा १० प्रतिशतलाई कोरोना संक्रमण, ०.३ प्रतिशत मृत्यु

३० मंसिर, डोटी । सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख २४ हजार तीन सय ८९ जनाको स्वाव परीक्षण भएको छ । परीक्षण भएकामध्ये १२ हजार चार ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या परीक्षण गरिएकाहरुको करिब १० प्रतिशत हुन आउँछ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार हालसम्म प्रदेशमा ६ वटा स्वाव परीक्षण प्रयोगशाला छन् । सेती प्रादेशिक प्रयोगशालामा ६८ हजार सात सय पाँच जनाको स्वाव परीक्षण गरिएको छ ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा २१ हजार आठ सय ५३, डोटी अस्पतालको प्रयोगशालामा ६ हजार नौ सय १९, बैतडी अस्पतालको प्रयोगशालामा दुई हजार चार सय २१, बझाङ अस्पतालको प्रयोगशालामा चार हजार आठ सय ४५ र अछाम कमलबजार प्रयोगशालामा तीन हजार एक सय सात जनाको नमुना परीक्षण भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा १६ हजार तीन सय १८ जना र कर्णाली प्रयोगशालामा तीन हजार एक सय सात जनाको स्वाव परीक्षण गरिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

४६ जनाको मृत्यु

आइतवार कैलालीका ५५ वर्षीया एक महिला र कञ्चनपुरका ७५ वर्षीया एक महिलाको मुत्यृ भएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या ४६ पुगेको छ । यो संख्या प्रदेशमा पुष्टि भएका कुल संक्रमित संख्याको ०.३ प्रतिशत हुन आउँछ ।

हालसम्म कैलालीमा सबैभन्दा बढी २५ जनाले ज्यान गुमाएका छन् । यस्तै कञ्चनपुरमा सात, बझाङमा तीन र डडेल्धुरामा तीन जनाले पनि कोरोना संक्रमणकै कारण ज्यान गुमाउनु परेको छ । अछाम, बाजुरा र दार्चुलामा दुई–दुई जनाले कोरोनाविरुद्धको लडाइँमा आफ्नो ज्यान गुमाए । डोटी र बैतडीमा एक–एक जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

आइसोलेसनमा २,२४९ जना

सोमवार साँझसम्मको तथ्यांक अनुसार सुदूरपश्चिममा दुई हजार दुई सय ४९ जना आइसोलेसनमा रहेका छन् । कञ्चनपुरमा एक सय ५०, डोटीमा ७५, डडेल्धुरामा ३८ र कैलालीमा ३५ जना बिभिन्न अस्ताल तथा स्थानीय तहहरुले तयार गरेका आइसोलेसनमा रहेका छन् ।

यस्तै अछाममा २८ र बझाङमा २२ जना पनि आइसोलेसनमा रहेका छन् । अन्य एक हजार नौ सय जना घरमै आइसोलेसनमा रहेका निर्देशनालयले जनाएको छ । सोमबारसम्म सात जना आइसियु र तीन जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

२,३८२ जना सक्रिय संक्रमित

सोमवारसम्मको तथ्यांक हेर्दा यस प्रदेशमा दुई हजार तीन सय ८२ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सोमवार मात्रै कैलालीमा ४४, अछाममा १०, बझाङमा पाँच, डडेल्धुरामा दुई, कञ्चनपुरमा आठ र बाजुरामा एक गरि ७० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कैलालीमा पाँच सय ८६, अछाममा तीन सय ५५, बझाङमा तीन सय ४२ र दार्चुलामा दुई सय ५७ सक्रिय संक्रमितहरु रहेका छन् ।

यस्तै कञ्चनपुरमा दुई सय १०, डोटीमा एक सय ८९, डडेल्धुरामा दुई सय ५७ बैतडीमा एक सय १४ र बाजुरामा ३५ जना सक्रिय संक्रमितहरु रहेका छन् । हालसम्म १० हजार २० जनाले कोरोना विरुद्धको लडाइँ जितेका छन् ।

एक सातामा ६३२ संक्रमित थपिए

गएको एक सातामा यस प्रदेशमा ६ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् ।

गत २५ गते साताकै सवैभन्दा बढी एक सय ४५ जना संक्रमित थपिएका छन् । यस्तै २४ गते एक सय २३ जना र २७ गते एक सय सात जना संक्रमित थपिएका छन् ।

यसैगरी २३ गते ५९, २६ गते ५८, २८ गते ६९ र सोमवार ७० जना नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment