Comments Add Comment

११ हजारले लिए कोरोना बिमाको दाबी भुक्तानी

३० मंसिर, काठमाडौं । कोरोना बिमा गरेर ११ हजार भन्दा धेरै संक्रमित बिमा दावी भुक्तानी पाएका छन् । भुक्तानी रकम एक अर्ब रुपैयाँ नाघेको छ ।

सोमबारसम्म ११ हजार १ सय ५४ जनाले १ अर्ब ७ करोड ४५ लाख ५० हजार रुपैयाँ भुक्तानी भइसकेको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

कार्यकारी निर्देशक पौडेलका अनुसार पछिल्ला केही दिनयता भुक्तानीको दर निकै बढेको छ । मंगलबारमात्रै १ हजार ६ सय ३८ जना भुक्तानी पाउने प्रक्रियामा रहेका छन् ।

उनका अनुसार पूर्ण कागजातसहित दावी पेश गर्नेहरुको संख्या सोमबारसम्म २१ हजार ४२ जना रहेको छ । यसमा ११ हजार १ सय ५४ जनाले पाइसकेको र १ हजार ६ सय ३८ जना भुक्तानी पाउने प्रक्रियामा रहेका छन् ।

यसैगरी निजी प्रयोगशालाहरुमा गरिएका परीक्षण रिपोर्टको भेरिफिकेसनका लागि इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा ३ हजार ६ सय ३९ वटा फाइल पुगेका छन् । ईडीसीडीमा ५ हजार ६ सय ६ वटा फाइल पुगेकोमा २ हजार ४ सय ९३ जनाको फाइल स्वीकृत भएर आइसकेको उनले जानकारी दिए ।

मंगलबार थप ४ सय ५५ जनाको फाइल भेरिफिकेसनका लागि पठाउने तयारी गरिएको छ । १ हजार ५ सय ७१ जनाको कागजात पूरा नभएको तथा नाम नमिलेको लगायतका समस्या देखिएका बिमा समितिले जनाएको छ । ती फाइलहरु सम्बन्धित कम्पनीमा नै फिर्ता पठाइएको छ । ३४ जनाको फाइल भने दावी भुक्तानी दिन नमिल्ने भएको छ । यसमा दोहोरो दावी पेशलगायतका समस्याहरु देखिएका छन् ।

सामान्यतया महामारी र युद्धको बिमा नहुने विश्वव्यापी प्रचलन छ । तर यो प्रचलनलाई बेवास्ता गर्दै नेपालमा शुरु गरिएको कोरोना बिमा पोलिसीका कारण बिमा कम्पनीहरुले निकै आलोचना खेपिरहेका छन् ।

संक्रमण पुष्टि भएसँगै १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ पाउने गरी २ वटा पोलिसी बिक्री गरेका कम्पनीहरुले भुक्तानीमा आनाकानी गर्दै आएका छन् । त्यसपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ७ दिनभित्रै भुक्तानी दिन निर्देशन दिए ।

त्यो निर्देशन पनि बिमा कम्पनीहरुले कार्यान्वयन गरेनन् । त्यसपछि पुनः तीन दिनभित्रै भुक्तानी दिन अर्थमन्त्रालयले अर्को निर्देशन दिएको थियो । मन्त्रालयको दोस्रो निर्देशन पछि पनि कम्पनीले निकै ढिला गरी बिमा रकम भुक्तानी गरिरहेका छन् ।

पछिल्ला दिनहरुमा भने भुक्तानीको दर बढेको बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे बताउँछन् । यसअघि कागजातहरु भेरिफिकेसन गर्नुपर्दा ढिलो भए पनि अब धेरै ढिला नहुने उनको भनाइ छ । थोरै ढिला भए पनि सबै बिमितहरुले बिमा गरेको रकम पाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment