Comments Add Comment

सर्लाहीमा सीमा नाका खुलाउन जिल्ला बन्द

१ पुस, जनकपुरधाम । भारतसँगको सीमा नाका खोल्नुपर्ने मुख्य माग राख्दै बुधबार सर्लाही जिल्ला बन्द गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको आह्वानमा सर्लाही जिल्लाका सबै स्थानीय तह बन्द गरिएको हो ।

भारतसँगको सीमा नाका खोलाउनुपर्ने र हुलाकी सडक निर्माणको कामलाई तीब्रता दिन माग राख्दै आफूहरुले जिल्ला बन्द गराएको समन्वय समितिका प्रमुख चौधरीले बताए ।

प्रमुख चौधरीले जिल्लाभरका बजार, पसल, सरकारी कार्यालय, बैंकसहितका वित्तीय संस्था र यातायात समेत बन्द गर्न आह्वान गर्दै मंगलबार प्रेस विज्ञप्ति जारी गरेका थिए । उनको आह्वान बमोजिम जिल्लाका सम्पूर्ण पसल बन्द गरिएको छ ।

यी दुई माग राख्दै सर्वपक्षीय संघर्ष समितिले गत मंसीर २१ गतेदेखि नै सदरमुकाम मलंगवामा धर्ना दिइँदै आएको छ ।

सोही संघर्ष समितिको आह्वानमा मंगलबार सदरमुकाम बन्द गरिएको थियो भने बुधबार जिल्ला बन्द गरिएको छ ।

संघर्ष समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख चौधरीले हुलाकी राजमार्ग योजना अनुसार निर्माण गर्नुपर्ने, जग्गाको मुआब्जा दिनुपर्ने, नगरवस्तीमा नाला बन्नुपर्ने र भारतसँगको सीमा खोल्नुपर्ने माग आफूहरुलाई उठाउँदै आएको बताए ।

माग पूरा नभएसम्म आफूहरुले आन्दोलनलाई निरन्तरता दिइने उनको भनाइ छ ।

संघर्ष समितिले आह्वान गरेको बन्दको प्रभाव सदरमुकाम तथा दक्षिणी भेगमा देखिएपनि उत्तरी क्षेत्रमा पसल र यातायात खुल्ला नै रहेको छ ।

सीमा नाका खोल्न गृहलाई लेखी पठाएका छौं : सीडीओ

जिल्लामा सीमा खोल्न आन्दोलन सुरु भएपछि नै जिल्ला प्रशासन कार्यालयले सीमा खोल्नका लागि गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ ।

‘सबै कुरा सामान्य अवस्थामा फर्किँदा सीमा बन्द गर्नुपर्ने औचित्य नभएको भन्दै गृहमन्त्रालयमा पठाइसकेका छौं,’ सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलले भने, “तर उताबाट कुनै जवाफ आइपुगेको छैन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment