+
+

नागढुंगा सुरुङमार्ग केही दिनमै खन्न सुरु गरिने

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १ गते १७:००

१ पुस, काठमाडौं । सिस्नेखोला-दहचोक (नागढुंगा) सुरुङमार्ग खन्ने काम केहीदिन भित्रै सुरु हुने भएको छ । सडक विभागका अनुसार सुरुङ खन्न चाहिने स्टिल फ्रेम साइटमा ल्याएर जोड्ने काम भइरहेको छ । बुटवलको एक उद्योगमा बनेको सो फ्रेम सुरुङ खन्न सुरु गरिने मुखैमा जोडिँदैछ । यो काम सकिएलगत्तै सबै प्राविधिक तयारी सकिनेछ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले केही दिनभित्रै सुरुङ छेड्ने काम सुरु गर्ने बताए । सुरुङको मुखको केही मिटरभित्रसम्म विष्फोटक पदार्थको प्रयोग नगरी मेसिनबाटै खनिनेछ । त्यसपछि पनि विष्फोटक पदार्थ प्रयोग गर्दै सुरुङ खन्ने काम गरिनेछ ।

२०७६ कात्तिक ४ सुरुङमार्गको दहचोकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

२.६६८ किलोमिटर लामो यो सुरुङमार्ग ४२ महिनामा निर्माण गरिसक्ने योजना छ । तर, ४२ मध्ये १४ महिना बितिसक्दा पनि सुरुङ खन्न सुरु भएको छैन ।

सुरुङ खन्ने काम वैशाख २०७७ बाट सुरु गर्ने योजना थियो । समयमै मेसिन नआइपुगेको, सुरुङको मुखको जग्गाको मुआब्जाको विवाद नसल्टिएको लगायतका कारण देखाउँदै काममा ढिलाइ भयो ।

आयोजनाका अनुसार दहचोक र सिस्नेखोला दुबैतर्फ मुआब्जा विवाद सल्टिन बाँकी छन् । आयोजनाले अधिग्रहण गर्ने जग्गाबारे केही स्थानीयको अझै असहमति छ ।

धादिङको सिस्नेखोलातर्फ सुरुमा सरकारी भनिएका जग्गाको लालपूर्जा पाँच जनासँग भेटिएको छ । जग्गाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । अख्तियारले गर्ने छिनोफानोको आधारमा मुआब्जा दिने/नदिने टुंगो लाग्नेछ ।

सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब खर्च हुने अनुमान छ । यसमध्ये १६ अर्ब ६० करोड जापान सरकारले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ भने नेपाल सरकारको ५ अर्ब ५३ करोड रुपैयाँ खर्च गरिँदैछ । सुरुङमार्ग निर्माण भएपछि सिस्नेखोलाबाट २० मिनेटमा काठमाडौं आइपुगिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?