Comments Add Comment

शुरु भयो काठमाडौं–दिल्ली नियमित उडान

२ पुस, काठमाडौं । आजबाट चैत २०७६ यता पहिलो पटक भारतको राजधानी दिल्लीका लागि काठमाडौंबाट नियमित हवाई उडान सूचारु भएको छ । सरकारले ११ चैतपछि देशव्यापी लकडाउन र हवाई उडानमाथि प्रतिवन्ध लगाएको थियो । त्यसपछि बन्द भएको यो रुटमा आज नेपाल एयरलाइन्सको जहाजले पहिलो उडान गर्दैछ ।

ए–३२० जहाजको उडान सवा ११ः२० बजेका लागि निर्धारित रहेको नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् । ‘दिल्ली जाँदा र आउँदा दुबै उडानमा राम्रो अक्कुपेन्सी छ,’ उनले भनिन्, ‘यात्रु संख्या भने विमानस्थलबाट आइसकेको छैन ।’

नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट दैनिक एक जहाज दिल्ली जाने छ । सो जहाजले दिल्लीबाट यात्रुलाई काठमाडौं ल्याउने छ । भारतले एयर ट्रान्सपोर्ट बबल स्कीममार्फत हवाई उडान खुकुलो बनाएको छ ।

नेपाल सरकारले समेत सोही स्कीम स्वीकार गरेपछि भारतसँगको उडान खुलेको हो । यात्रुको चापसँगै ठूलो जहाज उडाउने तयारी निगमको छ । यस रुटमा १० चैतयता नियमित उडान हुन सकेको छैन । सरकारले गत भदौबाट अन्तराष्ट्रिय उडान खुला गरेपनि भारतसहित दक्षिण एसियाली मुलुकका लागि भने अनुमति दिइएको थिएन ।

नेपाल र भारतबीच दैनिक एक/एक वायुसेवाबाट उडान गर्ने सहमति बनेको छ ।

यसअनुसार भारतबाट एयर इण्डियाले नेपालमा उडान गर्नेछ । उक्त कम्पनीले भने उडान मिति तोकिसकेको छैन । खुलेको उडानमा स्वास्थ्य सम्बन्धी तोकिएका मापदण्ड भने यात्रुले पुरा गर्नुपर्ने भएको छ । भारत जाँदा अधिकतम ७२ घण्टा भित्रको पिसिआर रिर्पोट अनिवार्य गरिएको छ ।

भारतबाट नेपाल आउने यात्रुले अनलाइन फारम भरी आवश्यक कागजात पेश गरेपछि नेपाल आउने अनुमति पाउने छन् । नेपाल र भारतबीच आवतजावतमा भिसा भने अनिवार्य छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment