Comments Add Comment

चिनी मिल मालिकलाई गिरफ्तार नगर्न नेताहरुको फोन आयो : उद्योगमन्त्री भट्ट

२ पुस, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दवाव दिन नेताहरुको फोन आउने गरेको बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै उद्योग मन्त्री भट्टले सामाजिक सञ्जालमा किसानलाई न्याय दिनुपर्छ भनेर लेख्ने नेताहरुबाटै उद्योगीलाई गिरफ्तार नगर्न भन्दै फोन गरेको टिप्पणी गरे ।

सामाजिक सञ्जालमा न्यायको वकालत गर्दै उद्योगीलाई कारबाही गर्नुपर्छ भन्ने तर मन्त्रीलाई फोन गरेर कारबाही नगर भन्ने द्वैध चरित्र देखाउने प्रवृत्तिले समस्या भएको उनको भनाइ छ ।

‘यहाँ द्वैध चरित्रले अलि समस्या हुन्छ जस्तो लाग्यो मलाई । यहाँ न्यायको कुरा गर्ने, उद्योगीलाई ठेगान लगाउनुपर्छ पनि भन्ने अनि जव ठेगान लगाउन थाल्यो फोन आउँछ । होइन त्यसलाई त रोक्नुपर्‍यो नि । उद्योगीले त तिर्छु भनेको छ नि चार दिन रोकिदिनु पर्‍यो भन्ने’ उनले भने ।

उद्योगीहरु जो भएपनि मन्त्रालयले कारबाहीका लागि कानूनी प्रक्रिया अगाडि बढाएको मन्त्री भट्टको भनाइ छ । उद्योगीको संरक्षण र विकास गर्ने काम उद्योग मन्त्रालय अन्तर्गत पर्ने तर कुनै उद्योगीले अन्याय गर्छ भने त्यसलाई छाड्न नमिल्ने पनि मन्त्री भट्टले बताए ।

तर उद्योग मन्त्रालयसँग ऐन नहुँदा कानूनी दायरामा ल्याउन कठिन भएको उनको भनाइ छ । मन्त्री भट्टले माइतीघर मण्डलामा आन्दोलनमा आउने किसानहरुलाई आफूले विचौलिया नभनेको पनि प्रष्टीकरण दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment