Comments Add Comment

यी १५ देशका जनताले खानपिनमा सबैभन्दा धेरै समय बिताउँछन्

डिसेम्बर महिनामा पश्चिमा मुलुकहरुमा सबैभन्दा धेरै भोज, पार्टी तथा खानपिनको माहौल हुन्छ । भलै कोरोना महामारीका कारण यो वर्ष पहिलेका वर्षहरुमा जस्तो पार्टीहरु नहोलान् तर मानिसहरु आफ्नै घरभित्र मस्त खानपान गर्न छाड्दैनन् ।

खानपिनको यो मामिलामा संसारको कुन देश सबैभन्दा अगाडि होला ? पछिल्लो एक तथ्यांकले युरोपेली मुलुक फ्रान्स खानपिनमा सबैभन्दा धेरै समय बिताउने मुलुक बनेको छ ।

हालै आर्थिक सहयोग तथा विकास संगठन ओईसीडीले संसारका विभिन्न देशका मानिसहरुको प्रवृत्ति तथा जिवनशैलीसँग सम्बन्धित आँकडाहरु पेस गरेको छ ।

ती आँकडाहरुका अनुसार फ्रान्सको खानपान लामो समयदेखि स्वस्थ खानपानको रुपमा रहेको छ । फ्रान्सेली जनताहरुले हरेक दिन खानपिनमा औषतमा २ घण्टा १३ मिनेट समय बिताउँदछन् ।

फ्रान्सेलीहरु सन्तुलित भोजन गर्दछन्, जसमा हरिया सागपात तथा फलफूलसँगै गोलभेँडा, ओलिभ जस्ता चिजहरु निकै खान्छन् । आमरुपमा फ्रान्समा परिवारका हरेक सदस्यहरुको अलग अलग प्रकारको खानेकुरा हुन्छ, जसले उनीहरुको शारीरिक तथा मानसिक आवश्यकतालाई ध्यानमा राखेर बनाइन्छ ।

खानपिनमा धेरै समय बिताउने मुलुकको दोश्रो नम्बरमा अर्को युरोपेली मुलुक इटाली परेको छ । फ्रान्समा वर्षभरी नै कुनै न कुनै किसिमका खाना महोत्सव चलेकै हुन्छन् । इटालियनहरु औसतमा हरेक दिन खाना खानका लागि २ घण्टा ७ मिनेट समय बिताउँछन् ।

खानपिनमा धेरै समय बिताउनेहरुमा स्पेनिसहरु तेश्रो नम्बरमा छन् । उसो त स्पेनिसहरुले खानालाई ईश्वरको बरदान नै मान्दछन् । खानेकुरा फ्याँक्ने मामिलामा स्पेनिसहरु निकै संवेदनशील छन् र सितिमिति खानेकुरा फ्याल्दैनन् पनि । स्पेनिसहरु हरेक दिन खानपिनमा २ घण्टा ६ मिनेट बिताउँछन् ।

चौथो नम्बरमा दक्षिण कोरिया रहेको छ । कोरियालीहरु दिनमा पौने २ घण्टा खानपिनमा बिताउने गरेका छन् ।

यो सूचीको पाँचौँ नम्बरमा छिमेकी मुलुक चीन रहेको छ । चिनियाँहरु खानपिनका लागि औसतमा हरेक दिन १ घण्टा ४० मिनेट बिताउँछन् ।

खानपिनमा धेरै समय बिताउनेहरुको सूचीमा जर्मनहरु छैटौँ स्थानमा पर्दछन् । जर्मनहरुले दिनहुँ खानपिनमा औसतमा १ घण्टा ३५ मिनेट खर्चिन्छन् ।

सातौँ स्थानमा जापानिजहरु छन् । अरु विकसित देशभन्दा फरक जापानीहरुको खानपिनको विशेषता के छ भने उनीहरुको भोजन अत्यन्तै स्वस्थकर हुन्छ र बाहिरको खानेकुरा कम खान्छन्, अर्थात् घरमै पकाएर/बनाएर खान्छन् । हरेक जापानीले खानपिनका लागि दिनहुँ औसतमा १ घण्टा ३३ मिनेटको समय खर्चिने गरेका छन् ।

खाना खानका लागि दिनहुँ १ घण्टा २९ मिनेट छुट्टाउने अस्ट्रेलियनहरु यो सूचीमा आठौँ नम्बरमा रहेका छन् ।

त्यस्तै छिमेकी मुलुक भारतका मानिसहरु खानपिनमा धेरै समय बिताउनेहरुको सूचीमा नबौँ नम्बरमा छन् । भारतीयहरु औसतमा दिनहुँ खानपिनका लागि १ घण्टा २४ मिनेट खर्च गर्दछन् ।

१०औँ नम्बरमा १ घण्टा २९ मिनेटसहित बेलायतीहरु छन् भने ११औँ नम्बरमा मेक्सिकोका मानिसहरु रहेका छन् । मेक्सिकनहरुले खानपिनका लागि दिनहुँ १ घण्टा १६ मिनेट खर्चिन्छन् ।

स्विडिसहरु १ घण्टा १४ मिनेटसहित १२औँ स्थानमा रहँदा दक्षिण अफ्रिकीहरु १ घण्टा १२ मिनेटसहित १३औँ स्थानमा रहेका छन् ।

खानपिनका लागि सबैभन्दा धेरै समय खर्चिने जनता रहेका मुलुकहरुको सूचीमा क्यानडा १४ औँ स्थानमा रहेको छ । हरेक क्यानडालीले खानपिनमा दिनहुँ १ घण्टा ५ मिनट छुट्टाउँदछन् ।

उता अमेरिका चाहिँ यो सूचीमा पन्ध्रौँ स्थानमा परेको छ । तथ्यांकअनुसार अमेरिकीहरुले खानपिनका लागि हरेक दिन औसतमा १ घण्टा २ मिनेट समय बिताउँदछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment