Comments Add Comment

प्रदेश २ का उखु कृषक काठमाडौंको सडकमा, प्रदेश १ का कृषकले थपे खेती

३ पुस, विराटनगर । उखु मिलले उखुको भुक्तानी नगरेका कारण प्रदेश २ का कृषक काठमाडौँमा आन्दोलनरत छन् । मिलले भुक्तानी नगरेका कृषक आन्दोलित भएपनि प्रदेश १ का कृषकलाई भुक्तानीको समस्या छैन् । उखु मिलले समयमा नै भुक्तानी दिएका कारण कृषक खेती थप्ने अभियानमा छन् ।

प्रदेश १ को सुनसरी मोरङमा बढी उखु खेती हुन्छ । कृषकले उत्पादन गरेको उखु इस्टर्न सुगर मिलले खरिद गर्छ । गत वर्ष समयमा नै मिलले भुक्तानी दिएकाले कृषक सन्तुष्ट रहेको उखु कृषक परमानन्द यादवले बताए ।

उनका अनुसार मिलले समयमा नै भुक्तानी गरेका कारण कृषकले खेती पनि थपेका छन् । ‘उखु मिलले समयमा नै भुक्तानी दिएका कारण मैले खेती थपेको छु,’ उनले भने, ‘अरु किसानले पनि खेती थपेका छन् ।’ मिलले समयामा नै भुक्तानी नदिदा दुई वर्ष अघिसम्म मोरङ सुनसरीका कृषक आफ्नो उत्पादनको मूल्य लिन आन्दोलन गर्नुपर्ने अवस्था थियो । तर पछिल्लो समय मिलले राम्रो व्यवहार गरेको उनले बताए ।

अर्का उखु कृषक सत्यनारायण शर्मा पनि मिलको व्यवहारका कारण कृषकले खेती थप गर्ने थालेको बताउँछन् । उनले पनि खेती थप गर्ने तयारी गरेका छन् । ‘विगत वर्षमा पैसा दिन सधै ढिलो गर्ने , तर यस पटक कटान पूर्जी र भुक्तानी समयमा नै भयो,’ उनले भने, ‘यहाँ आन्दोलन गर्नुपर्ने अवस्था छैन् ।’

सुनसरीमा रहेको इस्टर्न सुगर मिलका म्यानेजर पवन झाका अनुसार मिलको व्यवस्थापन परिवर्तन भएसँगै उखु किसानको भुक्तानीमा समस्या छैन् । ‘उखु लगेको केही दिन भित्र किसानलाई बैंकका भुक्तानी पठाइदियौं,’ उनले भने, ‘कृषक खुसी छन् । खेती पनि बढेको छ ।’
उनका अनुसार यो पटक ४ हजार ६ सय विगाह क्षेत्रमा उखु खेती भएको छ । यो गत वर्षको तुलनामा करिब १० प्रतिशत बढी भएको झाले बताए । ‘गत वर्ष साढे १२ लाख टन उखु क्रसिङ भयो, यो वर्ष १४ लाख हुने अनुमान छ,’ उनले भने, ‘मिल चलाउनका लागि डङ्गा पूजा पनि गर्याैं ।’

मिलमा नयाँ व्यवस्थापन

इस्टर्न सुगर मिल विराटनगरको व्यावसायिक घराना सारडा ग्रुप, राठी ग्रुप र गोल्छा ग्रुपले सञ्चालन गरेका थिए । तर राठी र सारडा ग्रुपले छाडेपछि केही वर्ष गोल्छा ग्रुपले एकलौटी रुपमा सञ्चालन गर्याै । एकलौटी सञ्चालन गर्दा समयमा नै भुक्तानी गर्न सकेको थिएन् ।

२०७२ सालयता मिलमा विशाल ग्रुप पनि जोडिएको छ । पछिल्लो समय तुलसीराम अग्रवालको विशाल ग्रुप र विराटनगरको औद्योगिक घराना गोल्छा ग्रुपका हितेश गोल्छाले सुगर मिल सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment