Comments Add Comment

उच्च अदालतको फैसलाप्रति थारुहट थारुवान् राष्ट्रिय मोर्चा असन्तुष्ट

३ पुस, कैलाली । टीकापुर घटना सम्बन्धी मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसलाप्रति थारुहट थारुवान् राष्ट्रिय मोर्चा कैलालीले असन्तुष्टि व्यक्त गरेको छ ।

धनगढीमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै थारुहट थारुवान् राष्ट्रिय मोर्चाले उच्च अदालत दिपायलले प्रतिनिधि सभा सदस्य रेशम चौधरीलगायतको मुद्दामा राजनैतिक पूर्वाग्रही ढङ्गले फैसला गरेको आरोप लगाएको छ ।

‘राजनीतिक पूर्वाग्रह राखी फैसला गरेको प्रति हाम्रो आपत्ति छ,’ मोर्चा कैलालीका संयोजक माधव चौधरीले भने, ‘उच्च अदालतको फैसला प्रति हाम्रो गम्भीर खेद प्रकट छ ।’

टीकापुर मुद्दालाई राजनीतिकरुपले समाधान गर्नुपर्ने उनले बताए । यदि राजनीतिकरुपले समाधान नभए राज्यविरुद्ध सशक्त संघर्षमा उत्रिने उनले पत्रकार सम्मेलनमा चेतावनी दिए ।

जनता समाजवादी पार्टी कैलालीका अध्यक्ष गयाप्रसाद कुश्मीले टीकापुर घटना राजनीतिक आन्दोलन रहेको बताए ।

पहिचानसहितको सङ्घीयता हुनपर्छ भन्ने माग राख्दै थारुहट आन्दोलन गरिएको भन्दै उक्त आन्दोलनमा क्रममा घटेको घटनालाई राजनीतिकरुपले समाधान गर्नुपर्ने उनको भनाइ थियो । कुस्मीले उच्च अदालतले गरेको फैसला सच्याइनु पर्ने समेत बताए ।
‘यो मुद्दा राजनीतिक मुद्दा हो,’ उनले भने, ‘राजनेताहरूले राजनैतिकरूपमै सम्बोधन गरेर यसको निकास निकाल्नुपर्छ । ‘

राजनीतिक रूपले टीकापुर घटनाको निकास नभए देश अर्काे द्वन्द्वमा जाने उनको चेतावनी थियो ।

थरुहट थारुवान् राष्ट्रिय मोर्चाका केन्ऽीय सल्लाहकार कृष्ण थारुले राज्यले थारुहरूमाथि दमन गरेको बताए । ‘न्यायको लडाइ जारी राख्दै सर्वोच्च अदालत जाने उनले बताए । ‘यदि सर्वोच्च अदालतबाट पनि न्याय नपाए हामी आन्दोलनको घोषणा गर्छाै,’ उनले भने ।

बिहीबार उच्च अदालत दिपायलले प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीसहित सात जनाको हकमा जन्मकैदको सजाय हुने तल्लो अदालतको आदेश उच्च अदालतले सदर गरेको थियो । अदालतले थप एकजनालाई पनि जन्मकैदको सजाय सुनाएको छ ।

टीकापुर घटनामा ३ वर्ष जेल सजाय भोगेर रिहा भएका लक्ष्मण थारुलाई पनि उच्च अदालतले जन्मकैदको फैसला सुनाइएको हो ।

थरुहट थारुवान् राष्ट्रिय मोर्चा कैलालीले एक विज्ञप्ति जारी गर्दै जिल्ला अदालतको फैसला उच्च अदालतले उल्टाएको भन्दै खेद प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment