Comments Add Comment

बोको हरामको नालीबेली : कति शक्तिशाली छ चरमपन्थी संगठन ?

३ पुस, काठमाडौं । बोको हरामले स्कुले बालबालिकालाई अपहरण गरेर पुनः आतंक मच्चाएको छ । सन् २०१४ मा दुई सयभन्दा धेरै छात्रालाई अपहरण गरेपछि सो समूह अन्तर्राष्ट्रियरुपमा नै चर्चामा आएको थियो ।

अघिल्लो साता नाइजेरियाको उत्तर पश्चिमी राज्य कात्सिनाको स्कुलमा आक्रमणपछि त्यहाँबाट तीनसयभन्दा धेरै विद्यार्थीहरु बेपत्ता भएका थिए ।

बोको हरामले निशाना बनाएको उक्त बोर्डिङ स्कुलमा छात्रहरु मात्र अध्ययन गर्थे । बिहीबार कात्सिनाका गभर्नरले अपहरण गरिएका विद्यार्थीहरुलाई मुक्त गराइएको उल्लेख गरेका छन् ।

उक्त विद्यालयमा आठ सयभन्दा धेरै विद्यार्थी अध्ययन गर्दै आएका थिए । आक्रमणपछि धेरै विद्यार्थीहरु भागेका थिए, जसमध्ये धेरै विद्यार्थीहरु एक सातासम्म बेपत्ता भए ।उनीहरुलाई बोको हरामले अपहरण गरी छिमेकी प्रान्त जम्फरामा लगेको अधिकारीहरुले बताएका छन् ।

सरकारले सुरुमा आपराधिक समुहलाई यो आक्रमणको दोषी ठहर गरेको भए पनि मंगलबार बोको हरामले यो आक्रमणको जिम्मेवारी लिएको हो । पछिल्लो एक दशकभन्दा लामो समयदेखि नाइजेरियामा बोको हरामको आतंक बढ्दो क्रममा छ । अपहरण तथा सेना र निर्दोष नागरिकहरुमाथिको आक्रमण अहिले पनि जारी छ ।

नाइजेरियाको सेना

नाइजेरियामा सेना र बोको हरामको बीचमा संघर्ष सुरु भएयता अहिलेसम्म या युद्धमा हजारौं मानिसको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन् । सरकार निरन्तर आफूले बोको हरामको शक्ति कमजोर बनाएको दाबी गर्दै आएको छ । तर, नाइजेरियाका धेरै मानिसहरु सरकारको यो दाबीमा विश्वास गर्दैनन् । उनीहरुका लागि बोको हराम अहिले पनि निकै शक्तिशाली संगठन हो ।

एम्नेस्टी इन्टरनेशनलका अनुसार सन् २०२० को पहिलो ६ महिनामा मुलुकको उत्तरी क्षेत्रमा ११ सयभन्दा धेरै मानिसहरु ‘डाँका’हरुको हातबाट मारिएका थिए । यद्यपि यो आक्रमणमा बोको हरामको हात थियो भनेर ठोकुवा गर्न भने सकिँदैन । नाइजेरियाको सेनाले पनि आफूहरुले बोको हराम संगठनलाई निकै कमजोर बनाइसकेको बताउँदै आएको छ । तर, बोको हरामको आक्रमण भने रोकिएको छैन ।

कहाँबाट सुरु भयो बोको हराम ?

यो सुन्नी जिहादी मुसलमान गुटको जन्म सन् २००२ मा उत्तरी नाइजेरियामा भएको थियो । उत्तरी नाइजेरिया मुस्लिम आवादी बढी भएको क्षेत्र हो । अफ्रिकाको सबैभन्दा धनी मुलुकमध्ये गनिने नाइजेरियाको यो सबैभन्दा गरिब क्षेत्र हो । धेरै मानिसहरु बोको हरामको उत्पत्तिलाई नाइजेरियाको असमानतासँग पनि जोडेर हेर्ने गरेका छन् । मुस्लिम धर्मगुरु मोहम्मद युसुफले नाइजेरियामा शरिया कानुन मान्ने सरकार निर्माण गर्ने योजनाका साथ यो संगठन बनाएको बताइने गरेको छ ।

बोको हरामले जुन किसिमको प्राणालीलाई बढावा दिइरहेको छ, त्यसमा मुसलमानलाई मतदान वा धर्मनिरपेक्ष शिक्षाजस्ता पश्चिमी जीवनशैली र मान्यताबाट प्रभावित कुनै पनि राजनीतिक वा सामाजिक गतिविधिमा धभाग लिने अनुमति छैन ।

यसका लागि युसुफले एक मस्जिद र एक मदरसा निर्माण गरे । यद्यपि उनको संगठनको इच्छा भने शिक्षा क्षेत्रभन्दा बाहिर फैलिनु थियो । उनको राजनीतिक लक्ष्य इस्लामिक राज्यको स्थापना थियो र उक्त मदरसा छिटै नै एक जिहादी भर्ती केन्द्रमा परिणत भयो ।

कसरी आतंक फैलाउँदैछ बोको हराम ?

सन् २००९ मा बोको हरामले उत्तर पश्चिमी नाइजेरियाको बोर्नो राज्यको राजधानी मायदुगुरीमा प्रहरी चौकी र सरकारी भवनहरुमा धेरै आक्रमणहरु गरेको थियो । यो आक्रमणमा बोको हरामका धेरै समर्थकहरु पनि मारिएका थिए । साथै, हजारौं चरमपन्थी सहर छाडेर भागेका थिए । नाइजेरियाको सुरक्षावलले बोको हरामको मुख्यालय आफ्नो नियन्त्रणमा लिएको थियो । धेरै चरमपन्थी लडाकुहरु पक्राउ परेका थिए भने उनका नेता धर्मगुरु युसुफ पनि मारिएका थिए । त्यसपछि युसुफको शव टेलिभिजनमा देखाइएको थियो र सुरक्षा बलले अब नाइजेरियामा बोको हराम सकिएको बताएको थियो ।

यद्यपि बाको हरामका लडाकुहरु आफ्ना नेता अबू बकर शेखुको नेतृत्वमा पुनः संगठित भए । यो चरमपन्थी आक्रमणको सिलसिला निरन्तर बढ्न थाल्यो । सन् २०१३ मा बढ्दो हिंसालाई ध्यानमा राख्दै नाइजेरियाले बोको हरामको नियन्त्रण रहेको राज्यमा आपतकाल घोषणा गर्‍यो ।

त्यसै वर्ष बोको हरामलाई संयुक्त राष्ट्रसंघले एक चरमपन्थी संगठन घोषणा गर्‍यो । अबु अकर शखुको नेतृत्वमा बोको हराम झन् कुख्यात हुँदै गयो । निर्दोष मानिसहरुमाथि बमबारी, बालबालिकालाई आत्मघाती आक्रमणमा प्रयोग गर्ने, विद्यालयबाट विद्यार्थीहरु अपहरण गर्ने घटना यसैको सिलसिलाको एक हिस्सा थियो । कात्सिना प्रान्तमा शुक्रबारको घटना पन यस्तै प्रकृतिको थियो ।

विद्यार्थी अपहरण

सन् २०१४ मा नाइजेरियाको उत्तरपूर्वको चिबोकको एक विद्यालयमा बालबालिकाको अपहरण गरिएको विषयले पुरै नाइजेरियालाई आतंकित बनाएको थियो । बोको हरामले उक्त विद्यालयका २७६ छात्राहरुलाई अपहरण गरेको थियो । यसमध्ये केही छात्राहरु भाग्न सफल भएका थिए भने एक सय छात्राहरुलाई कैदी चरमपन्थी लडाकुहरुसँगको साटासाटमा रिहाइ गरिएको थियो । तर, अहिलेसम्म पनि उनीहरुमध्ये एकसयभन्दा धेरै छात्राहरु बेपत्ता छन् ।

बोको हरामले मानवअधिकार कार्यकर्ताका साथै स्थानीयलाई पनि अपहरण गरेको छ । जसमध्ये केहीको हत्या भएको छ । केहीलाई भने फिरौती रकम लिएर छाडिएको छ । अपहरण, फिरौतीबाट आएको रकम र अल-कायदाजस्ता अन्य चरमपन्थी संगठनको सहयोगमा बोको हरामले आफ्नो गतिविधिको लागि पैसा जुटाउने गरेको छ ।

शरणार्थीहरुका लागि काम गर्ने संयुक्त राष्ट्रसंघको एजेन्सी यूएनएचसीआरका अनुसार नाइजेरियामा बोको हराम र सेनाबीच जारी संघर्षको कारण मुलुकभर करिब ३० लाख मानिसहरु विस्थापित भएका छन् । एम्नेस्टि इन्टरनेशनलले दुवै पक्षमाथि मानवअधिकार हनन र युद्ध अपराधको आरोप लगाएको छ ।

कति शक्तिशाली छ संगठन ?

नाइजेरियाको उत्तरपूर्वी क्षेत्र र चादमा बोको हराम सक्रिय छ । म्यासेजिङ एप टेलिग्राममा बोको हरामले आफ्नो आधिकारिक एकाउण्टबाट गतिविधिहरु जारी राखेको छ । यद्यपि गत शुक्रबारको घटनामा बोको हरामले जिम्मेवारी लिनुले भने उसको सक्रियता अब नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा पनि फैलिएको संकेत पाइएको छ । यद्यपि केही मानिसहरु भने शुक्रबारको घटनामा जिम्मेवारी लिँदै आफ्नो चर्चा बटुल्ने यो बोको हरामको रणनीति हुन सक्ने बताउँछन् । शुक्रबारदेखि हराएका विद्यार्थीहरुको खोजीकार्य भइरहेको छ । तर, अभिभावकहरुमा उनीहरुको सुरक्षालाई लिएर चिन्ता बढेको छ ।

शान्ति स्थापनाको प्रश्न

कात्सिाना प्रान्तका गभर्नर अमिनु बेल्लो मासारीले अधिकांश विद्यार्थीहरु अपहरणमुक्त भएको बताएका छन् । मासारीका अनुसार ३४४ विद्यार्थीहरु रिहा भएका छन् । उनले कति विद्यार्थीहरु हराएका थिए र उनीहरु कसरी रिहा भएका हुन् भन्ने विषयमा भने केही जानकारी दिएका छैनन् ।

उनीहरुलाई छिमेकी राज्य जम्फराबाट अपहरणमुक्त गरिएको मासारीको भनाइ छ । अपहरणकर्ताहरुले के का लागि विद्यार्थीहरुको अपहरण गरेका हुन् भन्ने खुलेको छैन ।

नाइजेरियाका मानिसहरुमा असुरक्षाको भावना एक चुनौतीको रुपमा देखिएको छ । मानिसहरु सरकारले बचाउको नभई आक्रामक नीति लिँदै बोको हरामलाई ध्वस्त पार्नुपर्ने पक्षमा छन् ।

तर, संघर्ष प्रभावित क्षेत्रका जानकारहरु भने सैन्य कारबाहीबाट शान्ति स्थापना नहुने बताउँछन् । यसबाट झन् ठूलो समस्या उत्पन्न हुन सक्ने उनीहरुको भनाइ छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment