Comments Add Comment

हाम्रो विश्वास पद्धतिले कसरी सिनेमालाई मौलिक बनाउँछ ?

सिनेमामा मौलिकता कसरी आउँछ ? हाम्रो अनेकन सांस्कृतिक पृष्ठभूमिलाई पटकथामा भन्न सकिन्छ कि सकिदैन ? त्यो विविधतालाई, त्यो बहुरुपतालाई एउटै कथ्य संरचनामा ढाल्न सकिन्छ कि सकिदैन ?

जस्तो थाङ्काको कुरा गरौं । एउटा सिंगो थाङ्कामा बुद्धको जीवन-चक्र समेटिएको हुन्छ । यसलाई दर्शाउने थुप्रै चित्र हुन्छ । तर, क्यानभास एउटै हुन्छ । ठ्याक्कै यसरी कथा भन्न सकिन्छ कि सकिदैन ? चलचित्र एउटै होस् तर त्यसभित्र बहुरुपता समेटियोस् ।

अहिले मैले बनाउन लागेको सिनेमा पनि यस्तै हो । एउटा सडकलाई लिएर बाबु-छोराबीच सम्बन्धको कथामा सिनेमा बनाउने तयारी गरिरहेको छु । यो सिनेमाको कथा भनेको एउटा सडकले बाबु छोराको सम्बन्धमा पार्ने प्रभाव हो । ती दुई पात्रको सम्बन्धलाई सडकको माध्यामबाट कसरी भन्न सकिएला भनेर खोज गरिहेका छौं । सडकको पनि धेरै रुप हुन्छन् । त्यो रुप बाबु छोराको सम्बन्धको आयामसँग मिल्छ वा मिल्दैन ?

हरेक कुरालाई अभिव्यक्त गर्ने हाम्रो आफ्नै शैली छ । गीत गाउँदा हामी फरक तरिकाले गाउँछौं । जस्तो हाम्रो लोक दोहोरी गीत अन्यत्र कतै मिल्दैन । अरु गीत सामान्यतः तीन, चार मिनेटको हुन्छ । तर, लोक दोहोरी आधा घण्टा, एक घण्टा, एक दिन होइन, दुई/तीन दिनसम्म पनि तन्किएर जान्छ । यस्तो अन्यत्र कुनै संगीत छैन ।

अभिव्यक्तिको यस्तो मौलिक तरिकालाई हामीले सिनेमामा ल्याउन सक्छौं कि सक्दैनौ ?

भारतले जुन प्रकारको सिनेमा बनाएको छ, हुन त भारतको पनि सिनेमाको थुप्रै अवधारणा छ । तर, अहिले चलनचल्तीमा रहेको बलिउडको जुन अवधारणा छ, त्यसलाई अलि मिहिन रुपमा विश्लेषण गर्ने हो भने, गीत राख्ने, फाइट राख्ने सबै कहाँदेखि आएको छ भने उनीहरुको जुन नौटंकी परम्परा छ त्यसबाट ल्याइएको हो । त्यसमा गीत पनि गाइरहेका हुन्छ, अभिनय गरिरहेको हुन्छ, स्टन्ट देखाइरहेको हुन्छ । अहिले वैश्विक रुपमा उनीहरु के भन्छ भने, बलिउड हाम्रो पहिचान हो । अर्थात यही शैली उनीहरुको आफ्नोपन हो । पहिचान हो ।

एउटा हिन्दु विश्वास पद्धति भएको चरित्र र अर्को प्रकृति पूजक किरात पात्रको आइडिया त फरक हुन्छ । सोच्ने तरिका फरक हुन्छ । त्यसले चरित्र चित्रणमा नै फरक पार्ने भयो । अब यस कुरालाई हामीले सिनेमा मार्फत कसरी अभिव्यक्त गर्छौं ?

हुन त विगतमा हलिउडले पनि बलिउडमै जसरी गीत राख्ने गर्थ्यौं । तर, पछि संगीत आफैंमा एक अलग कला हो भनेर त्यसलाई सिनेमाबाट निकालिदिए । सिनेमाको कथा भन्ने फरक तरिका अपनाए ।

अहिले विश्वभर नै के भइरहेको छ भने, आफ्नो सिनेमालाई कसरी मौलिक बनाउने ? कसरी मौलिक कथा भन्ने ? मौलिकसँगै अर्को पक्ष पनि छ निजत्व । त्यो चाहिँ निर्देशकको पहिचान कसरी ल्याउने ? यो चाहिँ आफैंमा लामो प्रक्रिया हो ।

मौलिक सिनेमा बनाउने कुरामा मेरो अध्ययनले के पायो भने, यो चाहिँ हाम्रो विश्वास पद्धतिसँग जोडिने रहेछ । जस्तो कि, पश्चिमाहरुको विश्वास पद्धति के हो भने हरेक कुरा सुन्दर हुन्छ । सुन्दरको उनीहरुको मान्यता के भने, पूर्ण रुपमा बान्की मिलेर, परिपक्व, चिटिक्क । निश्चित ठाउँमा निश्चित चिजहरुको उपस्थिति हुनुपर्छ । सन्तुलन यस्तो हुनुपर्छ । उनीहरुले आफ्नो सिनेमामा यस्तै खोज्छन् । फ्रेमिङ गर्दा सबै कुरा चिरिच्याट्ट मिलेको देखाउँछन् ।

जापानीहरुको विश्वास पद्धति फरक छ । उनीहरु यसको ठीक विपरीत छन् । बिग्रेको, भत्केको कुरा उनीहरुको लागि सौन्दर्य हो । उनीहरुको सिनेमामा यही कुरा प्रतिविम्बित हुन्छ ।

अर्को कुरा, चिया संस्कृति । जापानीको पनि आफ्नै चिया संस्कृति छ, जापानीहरुको पनि छ । चिनियाँहरुको चिया संस्कृतिमा चियाको भाँडो, कपहरु एकदमै सन्तुलित, सबै मिलेको, चम्किलो हुन्छ । जापानीहरुको यस्तो हुँदैन । उनीहरुको कुच्चिएको, टुक्रिएकोे हुन्छ । सारमा भनौं, उनीहरुको विश्वास पद्धति के भने, जीवन भनेको परिपूर्ण हुँदैन । अब उनीहरुको सिनेमा हेर्ने हो भने यही दर्शन कुनै न कुनै रुपमा उजागर हुन्छ ।

तर, हामीले यसतर्फ अध्ययन गरेनौं ।

संगीतमै पनि उनीहरुको आफ्नोपन देखिन्छ । जस्तो एक निश्चित समयपछि गीत पनि रोकिने हुने । ग्याप हुन्छ । फेरि गीत निरन्तर हुन्छ । फेरि ग्याप । यस किसिमको जुन ग्याप हुन्छ, शून्यता हुन्छ त्यो उनीहरुको नाटकमा पनि हुन्छ । विश्वास पद्धतिसँग जोडिएका यी आइडियालाई उनीहरुले आधुनिक संरचनाहरुमा पनि साथमै ल्याएर आए ।

हामी यति गहिरिएर कुनैपनि कुरालाई अध्ययन/विश्लेषण गर्दैनौं । मेरो भनाइको अर्थ के भने हाम्रा आफ्नै ढाँचा एवं शैलीका मठ-मन्दिर छन् । यसलाई निर्माण गर्ने आफ्नै निश्चित तौर-तरिका छन् । तौर तरिका मात्र होइन, त्यसको पछाडि निश्चित विचारहरु छन् । दर्शन छन् । त्यो चिन्तन, त्यो दर्शन सिनेमामा किन आउँदैन ?

हाम्रा आफ्नै ढाँचा एवं शैलीका मठ-मन्दिर छन् । यसलाई निर्माण गर्ने आफ्नै निश्चित तौर-तरिका छन् । तौर तरिका मात्र होइन, त्यसको पछाडि निश्चित विचारहरु छन् । दर्शन छन् । त्यो चिन्तन, त्यो दर्शन सिनेमामा किन आउँदैन ?

यस्ता विश्वास पद्धतिलाई सिनेमालाई विभिन्न रुपमा झल्काउन सकिन्छ । फिल्म धेरै कलाहरुको समिश्रण हो । यसमा  फोटोग्राफी हुन्छ, लेखन हुन्छ, सम्पादन हुन्छ, अभिनय हुन्छ, म्युजिक हुन्छ, सिनेम्याटोग्राफी हुन्छ, संवाद हुन्छ, पहिरन हुन्छ । जस्तो मेरो सिनेमामा राई पात्र छन् भने म राईको कुन इमोसनको कुरा गर्दैछु, त्यो इमोसनलाई उनीहरुको रिदमले कसरी अभिनय गर्छ, त्यो कुरालाई मैले आफ्नो सिनेमामा ल्याउन सक्छु । अनि क्यामेरामा गर्न सकिने के भने, उनीहरुले हेर्दा कसरी हेर्छन् । कलरको पर्सेप्सन के हो ?

राईमा पनि धेरै वर्गहरु हुन्छन् । धनी राई होला, मध्यम बर्गीय राई होलान्, विपन्न राई होलान्, आधुनिक राई होला, परम्पारगत राई होला । उनीहरुको कलरको आइडिया के हो ? कलरलाई उनीहरुले कसरी प्रस्तुत गर्छन् । उनीहरुको यो आइडियालाई पहिरनमा ल्याउन सकिन्छ ।  कुनै राईले निलो लुगा लगाउँछ भने त्यो उनको मनोविज्ञानसँग सम्बन्धित हुन्छ । अर्को कुरा के भने, यस माध्यामबाट हामी दर्शकमा कस्तो मुड सिर्जना गर्न चाहन्छौं ? उनीहरुको मनोभाव कस्तो पैदा गर्न चाहन्छौं भन्ने पनि हो ।

एउटा त क्यारेक्टरको इमोसनको कुरा हुनसक्छ । जस्तो एकदमै उकुसमुकुस छ भने क्यामेरा चाहिँ साँघुरो बनाउने हो कि । एकदमै एक्लोपन देखाउने हो भने क्यामेरालाई विस्तृत वा फराकिलो बनाउने हो कि । अब त्यो उकुसमुकुस वा संकुचन र त्यो एक्लोपना एउटा राईले महसुस गर्दा कसरी गर्छ ? त्यो चाहिँ फेरि क्यामेरा वर्कमा ल्याउनुपर्‍यो ।

अब कथामा भन्दा कसरी भन्ने ?

हिन्दुले भन्दा किरातले सोच्ने फरक तरिका छन् । अर्थात उसको सोच्ने तरिका नै फरक हुन्छ । जस्तो हिन्दुले नर्क र स्वर्गको कल्पना गर्छ भने किरातले त्यस्तो कल्पना गर्दैन । भन्नुको अर्थ उनीहरुबीच सोच्ने तरिकामै फरक छ नि । अब यही कुरालाई कसरी लेखनमा ल्याउने त ?

एउटा हिन्दु विश्वास पद्धति भएको चरित्र र अर्को प्रकृति पूजक किरात पात्रको आइडिया त फरक हुन्छ । सोच्ने तरिका फरक  हुन्छ । त्यसले चरित्र चित्रणमा नै फरक पार्ने भयो । अब यस कुरालाई हामीले सिनेमा मार्फत कसरी अभिव्यक्त गर्छौं ?

हामीले त यही खोज पनि गरिरहेका छैनौं, जबकी विश्व सिनेमा धेरै पर पुगिसकेको छ । विश्व सिनेमामा त निजत्वको कुरा छ । जस्तो निर्देशकको आफ्नोपन त्यसमा झल्कनुपर्छ भन्ने मान्यता हो यो । कुनैपनि सिनेमा हेर्नसाथ यो फलानो निर्देशकको हो भनेर पहिचान गर्ने कुरा के हो त ? हरेक व्यक्तिको अभिव्यक्त गर्ने तरिका र शैली पनि फरक हुन्छ । उनीहरु त्यहाँ पुगिसके ।

अर्को अभ्यास चाहिँ के भइरहेको छ भने सिनेमालाई फोटोग्राफीबाट कसरी मुक्त गर्ने, कसरी नाटकबाट मुक्त गर्ने, उपन्यासबाट कसरी मुक्त गर्ने, गीत संगीतबाट कसरी मुक्त गर्ने भन्ने खोज र यो माध्यामलाई आफैंमा कसरी विकास गर्ने भन्ने खोज भइरहेको छ । यो अरुसँग निर्भर नभई आफैंमा एक स्वतन्त्र कला हो । यो अलग्गै आइडिया हो । अलग्गै आइडिया मात्र होइन, अलग्गै कला पनि हो । यसलाई यी-यी कुराबाट मुक्त गरेर अलग्गै निर्माण गर्नुपर्छ भनेर लागिरहेका छन् ।

सिनेमाले उपन्यासले जस्तो मनोलग देखाउन सक्दैन । सिनेमासँग त्यो क्षमता नै छैन । तर, सिनेमासँग के क्षमता छ भने त्यसले एउटा वस्तु देखाएर त्यसबाट मल्टिपल आइडियाहरु कसरी प्रक्षेपण हुन्छ भन्ने देखाउँछ । यो उपन्यास वा लेखनले नसक्ने कुरा हो । एउटा तस्वीरले हजार शब्द बोल्छ भनेजस्तै ।

अब यो सबैकुराबाट मुक्त गरेर फिल्म आफैंमा एक अलग कला हो भनेर कसरी यसको क्षमतालाई खोज्ने काम भइरहेको छ । यो संसारभर भइरहेको अहिलेको प्रयास हो ।

(शिव मुखियासँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment